१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

'निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित हुन्छ'

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समून्नतिमा केन्द्रित हुने बताएका छन्।

निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन्।

नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश विकासको साझा लक्ष्यमा सरकारसँगै हातेमालो गरेर अघि बढन निजी क्षेत्रलाई पनि आह्वान गरे। निजी क्षेत्र र सरकारको साझा प्रयासमा मात्रै मुलुकलाई अघि बढाउन सकिने उनको भनाई थियो।

मन्त्री कार्कीले भने, ‘अहिले नेपाल निर्वाचनको संघारमा छ। नेपालको संविधान २०७२ को कार्यान्वयनमा आएपछि यो ७ वर्षको अवधिमा राजनीतिक क्षेत्रमा निकै काम भए। संघ, प्रदेश र स्थानीय तहका संरचना तयार भए। तीन वटै तहका जनप्रतिनिधिहरुको आफ्नो एक कार्यकाल पूरा गरिसकेका छन्। यसबाट राजनीतिक रुपमा जग बसेको छ। अव हामीले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन। आसन्न निर्वाचनपछि हाम्रो सम्पूर्ण ध्यान आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुनेछ। सरकार र निजी क्षेत्रको आपसी सहयोग, समन्वय अनि प्रतिवद्धता यसका लागि चाहिन्छ। आउनुहोस् हामी हातेमालो गरी देश विकासको साझा लक्ष्यमा अगाडि बढौं।’    

मन्त्री कार्कीले स्वदेशी तथा विदेशी लगानी भित्र्याई मुलुकको पूर्वाधार विकास गर्न नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्न सरकार तत्पर रहेको पनि बताए। पूर्वाधार विकास र उत्पादन वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई सहजीकरण र उत्प्रेरित गर्न सरकार आफ्ना उपकरणहरुको दक्षतापूर्ण उपयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले गुणस्तरीय पूर्वाधार निर्माणमा ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे। त्यस अवसरमा मन्त्री कार्कीले मुलुकको पूर्वाधार विकासका लागि निजी क्षेत्रको लगानी सबैभन्दा महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: २४ भाद्र २०७९ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App