आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित २५ नेताहरूको टिकट सुनिश्चित छ। तर पार्टीबाट प्रत्यक्षतर्फ टिकट पाउने सुनिश्चित भएका ती २५ नेतामध्ये अधिकांशको जित भने अनिश्चित छ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासहित १३ पदाधिकारीको नाम कसैले काट्न सक्दैन।
पार्टीको टिकट वितरण गर्ने संसदीय समितिमा सदस्य रहने दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहे उनीहरूलाई कसैले रोक्न सक्ने अवस्था कांग्रेसमा छैन।
नेता रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठलाई प्रत्यक्षतर्फका उम्मेदवार बन्न कसैले छेक्न सक्दैनन्। त्यस्तै प्रवक्ता प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेताद्वय एनपी साउद र रमेश लेखकका साथै देउवा पत्नी आरजु राणाको पनि टिकट निश्चित छ। यी २५ नेता प्रत्यक्षतर्फ उम्मेदवार बन्न खोज्दा १६५ मध्ये जुनसुकै क्षेत्रमा पनि पार्टीबाट टिकट लिएर जान सक्ने हैसियत राख्छन्।
पार्टीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट निश्चित भएका यी नेताको जित भने पार्टीकै आन्तरिक कारणले अनिश्चित छ। पार्टीबाट टिकट लिएर जान सके पनि जितेर आउन सक्ने अवस्था सुनिश्चित नहुँदा पूर्वउपसभापति विमलेन्द्र निधिसहित कतिपय नेताले समानुपातिकतिर लागेका छन्। केही भने प्रत्यक्षका लागि दाबी गर्दै गर्ने र अन्तिममा केही सीप नलागे समानुपातिकतर्फ आफूलाई सुरक्षित बनाउने प्रयासमा छन्।
२०७४ सालमा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलका बीच ६ हजार ९२९ मतान्तरले जित निकालेका सभापति देउवाका लागि आगामी निर्वाचन तुलनात्मक रूपमा सहज हुने विश्लेषण गरिएको छ। देउवासँग दुईपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका माओवादी खगराज भट्ट अहिले उनकै प्रशंसक बनेका छन्। त्यति मात्र नभएर माओवादीसहितका दलहरूसँग चुनावी तालमेलले देउवालाई थप सहज हुने कांग्रेस नेताहरूको बुझाइ छ। तर उनीविरुद्ध डडेलधुराका पार्टी पूर्वसभापति कर्ण मल्ल मैदान उत्रिने तयारीमा छन्। मल्ललाई एमालेसहितका राजनीतिक दलको सहयोग रहने बताइएको छ।
वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने डडेलधुरामा कांग्रेसले २१ हजार ७ सय ३५, माओवादीले १२ हजार ८७८, एमालेले १० हजार ४४९, नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले ५ हजार ४१, राप्रपाले ७१४, जनता समाजवादी पार्टी (जसपा) ले १५६ पाएका छन्।
पार्टी नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा तनहुँ–१ बाट फेरि मैदानमा खडा हुने बताउँदै आएका छन्। अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले पनि सोही क्षेत्रबाट दाबी गर्दै आएका छन्। केन्द्रीय नेताहरूको बाहुल्य रहेको तनहुँमा पौडेललाई चुनाव जित्नभन्दा नेताहरूको व्यवस्थापनमा सकस हुने देखिएको छ। २०७४ सालको निर्वाचनमा एमाले (हाल नेकपा एस) का कृष्णकुमार श्रेष्ठ (किसान) सँग आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा पौडेल ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए। अहिले पनि पौडेलका लागि उही चुनौती छ। यद्यपि स्थानीय तहको निर्वाचनमा त्यस क्षेत्रबाट कांग्रेसले ३३ हजार १०६, एमालेले २२ हजार २१०, माओवादीले ८ हजार ४७४, राप्रपाले १ हजार ७७५, नेकपा एसले ८९२ र जसपाले ५४ मत पाएका थिए।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का आगामी निर्वाचनमा सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यासी बन्नेछन्। यसअघि एमाले उम्मेदवार ध्रुवकुमार शाहीले ३६ हजार ७५९ मत पाउँदा खड्का ३३ हजार ३७७ मतमा सीमित बनेका थिए। स्थानीय तह निर्वाचन परिणामले खड्कालाई केही उत्साहित बनाए पनि जिल्लाकै अर्का नेता हृदयराम थानीसँगको बढ्दो दूरीले आगामी निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न असहज हुन सक्ने कांग्रेस नेताहरूको विश्लेषण छ। पार्टी उपसभापतिको जिम्मेवारीमा पुगेपछि खड्काले थानीसहित इतर पक्षलाई दबाबमा राखेर त्यसको असन्तुष्टि निर्वाचनमा प्रकट भए दुवै नेताका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सहज नहुने निकटहरूको बुझाइ छ। स्थानीय चुनावमा सुर्खेत–१ मा कांग्रेसलाई ३६ हजार ९२८, एमालेलाई ३४ हजार ८४३, माओवादीलाई ५ हजार ७५, राप्रपालाई ६६४, नेकपा एसलाई ६३४ मत मिलेको छ।
अर्का उपसभापति धनराज गुरुङको गृहजिल्ला स्याङ्जा हो। पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र उपसभापति गुरुङको एउटै निर्वाचन क्षेत्र स्याङ्जा–२ हो। अहिलेसम्म प्रत्यक्ष निर्वाचनको सामना नगरेका गुरुङलाई पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठले सो क्षेत्र छाड्ने देखिँदैन। अघिल्लो निर्वाचनमा एमालेकी पद्मा अर्यालसँग ३ हजार ७०६ मतान्तरले पराजित श्रेष्ठ मैदान उत्रिए गुरुङले स्याङ्जाको अर्को क्षेत्र वा अर्को जिल्ला जानुपर्ने हुन्छ। गुरुङ र श्रेष्ठमध्ये एकजना समानुपातिक र अर्को प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सम्भावना पनि छ। तर यी दुई नेताबीच जिल्लामा रहेको अस्वस्थ प्रतिस्पर्धाले एकअर्कालाई जिताउनभन्दा हराउन भूमिका खेल्ने नेता तथा कार्यकर्ताको बुझाइसमेत छ। स्थानीय चुनावमा स्याङ्जा–२ मा कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९, माओवादीले १ हजार २४३, राप्रपाले ५११, नेकपा एसले २३३ मत पाएका थिए। यद्यपी गुरुङ र श्रेष्ठकाे मुख्य दाबी स्याङ्जा - १ मा रहेकाे छ। उनीहरु दुवै जना स्याङ्जा क्षेत्र न १ र २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा क्रमशः काठमाडौं–४ र झापा–१ बाट उम्मेदवार बन्दैछन्। थापा काठमाडौंबाट चौथो कार्यकालका लागि जनप्रतिनिधिमा अनुमोदन हुने प्रयासमा छन्। पार्टी महामन्त्रीको जिम्मेवारीमा पुगेका थापालाई देशभरिका नेता तथा कार्यकर्ताले भावी प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा हेरिरहेका छन्। तर उनको क्षेत्रमा पर्ने कपनको बाटो लामो समय मर्मत गर्न नसक्दा स्थानीय भने थापासँग सन्तुष्ट देखिँदैनन्।
पार्टी महामन्त्रीको जिम्मेवारीमा पुगेपछि पनि संस्थाभन्दा व्यक्तिकेन्द्रित बनेको गुनासो उनकै क्षेत्रका नेता–कार्यकर्ताले गरिहेका छन्। काठमाडौं–४ बाहेकबाट पनि नाम सिफारिस गराइरहेका थापाले २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई ३ हजारभन्दा बढी मतले पछि पारेका थिए। चुनावी तालमेलको निरन्तर विपक्षमा वकालत गर्दै आएका थापा २०७० सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य बनेका थिए। स्थानीय तहको निर्वाचन परिणाम र पार्टीभित्रको गुटगत प्रतिस्पर्धाका कारण पनि थापाका लागि आगामी चुनाव सोचेजस्तो अनुकूल हुन नसक्ने विश्लेषण गर्न थालिएको छ। स्थानीय तहको मतपरिणामलाई हेर्ने हो भने काठमाडौं–४ मा एमाले १६ हजार ५०७, कांग्रेस १५ हजार ७६३, नेकपा एस २ हजार ४१४, राप्रपा २ हजार २९३, माओवादी ८४४, जसपा ३१७ मत पाउन सफल भएका थिए।
अर्का महामन्त्री शर्माको झापा–१ मा माओवादीले पनि दाबी गर्दै आएको छ। पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र शर्माबीचको आन्तरिक प्रतिस्पर्धा झापामा तीव्र छ। उसै त कमजोर शर्माको क्षेत्रमा पार्टीभित्रको गुटगत प्रतिस्पर्धा पनि प्रकट हुँदा परिणाम सोचेजस्तो बनाउन निकै कसरत गर्नुपर्ने नेताहरू बताउँछन्। एमालेले राप्रपासँग चुनावी तालमेल गर्दा त्यसको सबैभन्दा बढी असर झापामा पर्नेछ। त्यहाँ राप्रपाको जबर्जस्त मत देखिन्छ। त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धनभन्दा विपक्षी गठबन्धन बलियो हुन सक्ने आकलन छ। २०७४ सालको निर्वाचनमा माओवादीका राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्मा भने ३३ हजार ३१० मतमा समेटिएका थिए। माओवादीले पनि सोही क्षेत्रको दाबी नछाडे शर्माले अर्को क्षेत्र खोज्नुपर्ने वा समानुपातिक रोज्नुपर्ने हुन सक्छ। स्थानीय तहको निर्वाचनमा झापा–१ मा एमालले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, नेकपा एसले १ हजार २५२, लोसपा १६२ मत पाएका थिए।
त्यस्तै झापा गृह जिल्ला भएका पूर्वमहामन्त्री सिटौलाले पनि प्रत्यक्षतर्फको टिकट निश्चित छ। २०७४ सालको निर्वाचनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाको अवस्था अहिले पनि पहिलाभन्दा फरक छैन। त्यसमा विश्वप्रकाश शर्मा महामन्त्रीसहित पार्टीमा शक्तिशाली बन्दै गएका बेला सिटौलाका लागि पनि उनीसँगको बढ्दो तिक्तताको प्रभाव पर्नेछ। एमालेले पनि लिङ्देनलाई नै समर्थन गर्दा सिटौला अझ अप्ठेरोमा पर्नेछन्। पाँच दलीय सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच चुनाकी तालमेलका लागि सिट बाँडफाँट समिति संयोजक सिटौला झापा–३ बाट उम्मेदवार सिफारिस भएका छन्। तर उनी प्रत्यक्ष चुनाव लड्ने कि समानुपातिकमा बस्ने भन्ने अहिले पनि दोमनमा रहेको निकटहरू बताउँछन्। झापा–३ मा स्थानीय तह निर्वाचनमा कांग्रेसलाई २५ हजार ९४९, राप्रपालाई २१ हजार १५९, एमालेलाई २१ हजार ८५, माओवादीलाई ६ हजार ६८८, जसपा ५३७, लोसपा २०८ मतपाएका छन्।
त्यस्तै अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहको पनि काठमाडौं–१ मा सिट सुरक्षित छ। अघिल्लो निर्वाचनमा झिनो मतान्तरले मात्र जित निकालेका सिंहले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पत्नी सिर्जनालाई काठमाडौं महानगरको प्रमुखको उम्मेदवार बनाएका थिए। पार्टीभित्रको आन्तरिक किचलोले सिर्जना चुनावमा पराजित भएको सिंहनिकटहरूको बुझाइ छ। त्यो क्रम आगामी प्रतिनिधिसभा निर्वाचनमा दोहोरिने त होइन भन्ने आशंका रहेको सिंहले समानुपातिक रोज्न पनि सक्ने निकटहरू बताउँछन्। स्थानीय चुनावको मतलाई आधार बनाउने हो भने काठमाडौं–१ मा कांग्रेसले ९ हजार ८९५, एमालेले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६, माओवादीले १ हजार १५९ मत पाएका छन्। अर्का पूर्वमहामन्त्री शशांक कोइराला नवलपरासी (बर्दघाट सुस्तापूर्व)–१ बाट चौथोपटक प्रतिस्पर्धाको तयारीमा छन्। स्थानीय चुनावमा त्यहाँ कांग्रेसले ४० हजार ५११, एमालेले ३९ हजार ९५१, राप्रपाले २ हजार ३७३, माओवादीले १ हजार ९२१ र जसपाले १८८ मत पाएका छन्।
कांग्रेस नेता शेखर कोइरालाको पनि मोरङ–६ बाट उम्मेदवार बन्ने निश्चित छ। अघिल्लो निर्वाचनमा एमालेका लालबाबु पण्डितले ६७५ मतले शेखरलाई पछि पारेका थिए। गुटको राजनीतिले जेरीजस्तै जेलिएको मोरङमा आगामी चुनावमा पनि आन्तरिक किचलो व्यवस्थापन नै मुख्य चुनौती हुनेछ। पार्टीभित्रका संस्थापन र आफूनिकट नेताहरूलाई मिलाएर अघि बढ्नुपर्ने चुनौती शेखरलाई छ। स्थानीय चुनावमा गठबन्धनको पक्षमा परिणाम नगएको भन्दै आलोचना खेप्दै आएका उनले आगामी निर्वाचनमा पनि गठबन्धनका दलहरूलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने जिम्मेवारी पनि शेखरमाथि आइलाग्नेछ। स्थानीय चुनावमा मोरङ–६ मा कांग्रेसले २७ हजार ८६, एमालेले २४ हजार ५५६, माओवादीले ४ हजार ९९६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ११५, नेकपा एसले २ हजार ३५५, लोसपाले ८९५ मत पाएका थिए।
कांग्रेसका आठ सहमहामन्त्रीको अवस्था पनि उस्तै छ। महालक्ष्मी उपाध्याय मकवानपुर–२ बाट आगामी निर्वाचनमा प्रतिस्पर्धामा उत्रिने तयारीमा छिन्। अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार रहेका विरोध खतिवडासँग १२ हजारभन्दा बढी मतले उपाध्याय पराजित भएकी थिइन्। अहिले उनै विरोधलाई उक्त निर्वाचन क्षेत्र छाड्नुपर्ने अवस्थामा महालक्ष्मीले अर्को निर्वाचन क्षेत्र खोज्नुपर्ने वा समानुपातिकमा बस्नुपर्ने अवस्था आउँछ। साबिककै क्षेत्र पाउँदा पनि परिणामलाई अनुकूल बनाउन पार्टीको वाग्मती प्रदेश सभापति इन्द्र बानियाँ र महालक्ष्मी दुवैले एकअर्कालाई सहयोग र सहकार्य आवश्यक हुने नेताहरू बताउँछन्। मकवानपुर–२ मा एमाले ३६ हजार ८६६, कांग्रेस ३४ हजार २४०, माओवादी २२ हजार ६०७, नेकपा एस २ हजार ७१९, राप्रपा १ हजार ५३६ मत पाउन सफल भएका थिए।
बाजुरा गृह जिल्ला भएका अर्का सहमहामन्त्री बद्री पाण्डेले अहिलेसम्म प्रत्यक्ष निर्वाचनको अनुभव लिएका छैनन्। पार्टीदेखि संसद्सम्मका लागि सधैं सुरक्षित बाटो खोज्ने पाण्डेले अहिले पनि बाजुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्नभन्दा समानुपातिकमा बस्न सक्ने सम्भावना देखिएको निकटहरू बताउँछन्। स्थानीय निर्वाचनको परिणाम हेर्दा त्यहाँ एमालेभन्दा कांग्रेस केही हजार मतले पछि छ। बाजुरामा एमालेले २७ हजार ८४४, कांग्रेसले २४ हजार ३०४, माओवादीले ४ हजार २२९, नेकपा एसले १ हजार ६८९, राप्रपाले १७२ मत पाएका थिए।
त्यस्तै अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बेको गृह जिल्ला पाँचथरको अवस्था पनि उस्तै छ। अघिल्लो निर्वाचनमा वसन्त नेम्वाङसँग १० हजार ६१६ बढी मतले पराजित आङदेम्बे जिल्लामा स्थानीय तहको निर्वाचन परिणाम पनि सन्तोषजनक छैन। पाँचथरमा एमाले ३० हजार ९५८, कांग्रेस २५ हजार ६५, माओवादी ११ हजार ८०८, जसपा २ हजार ६४३, नेकपा एस २ हजार १६१, राप्रपा १ हजार ९०९ मत मत प्राप्त गर्न सफल भएका थिए।
कास्की–२ बाट निर्वाचन उठ्ने बताइरहेका अर्का सहमहामन्त्री जीवन परियार पनि अन्तिममा समानुपातिकमै रहने सम्भावना छ। जोखिम मोल्न खासै नखोज्ने परियारको उक्त क्षेत्रमा एमालेको राम्रो पकड रहेको मानिन्छ। स्थानीय चुनावमा कास्की–२ बाट एमालेले २१ हजार १६४, कांग्रेसले १९ हजार ८, राप्रपाले २ हजार ७९, नेकपा एसले २०५३, माओवादीले १ हजार १९८ र जसपाले १५३ मत पाएका थिए।
त्यस्तै धनुषाका महेन्द्र यादव, बर्दियाका किशोर सिंह राठोर पनि कांग्रेसका सहमहामन्त्री हुन्। उनीहरू आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुन तयार हुन्छन् कि हुँदैनन्, अझै टुंगो छैन। यादवले धनुषा–४ लाई आफ्नो निर्वाचन क्षेत्र दाबी गर्दै आए पनि पूर्वराष्ट्रपति रामवरण यादवका छोरा तथा केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्दै आएका छन्। धनुषा–४ मा कांग्रेस २५ हजार १९५, एमाले २३ हजार ६३०, जसपा ८ हजार ३७८, नेकपा एस ८ हजार १६४, माओवादी ४ हजार ४३४, लोसपा २ हजार १८४, जनमत पार्टी १ हजार ९५०, राप्रपा ५१४ मत पाउन सफल भएका थिए।
सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका उमाकान्त चौधरी र फर्मुल्लाह मन्सुर दुवै बाराका हुन्। चौधरी बारा–१ बाट निर्वाचित सांसद हुन्। आगामी निर्वाचनमा सोही क्षेत्रबाट उनले प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् भने बारा–३ लाई मन्सुरले निर्वाचन क्षेत्र बनाउँदै आएका छन्। स्थानीय चुनावमा बारा–१ मा कांग्रेसले ३२ हजार ३५६, एमालेले २५ हजार ८०८, लोसपाले ९ हजार ५०५, माओवादीले ६ हजार ३४३, जसपाले ६ हजार १४३, राप्रपाले १ हजार ९७३, नेकपा एसले १ हजार ९४० र बारा–३ मा एमालेले २३ हजार ६५४, कांग्रेसले १७ हजार ५५४, जसपाले ११ हजार २७९, माओवादीले ८ हजार २४८, नेकपा एसले ३ हजार ३९५, लोसपाले २ हजार २०६, राप्रपाले ८३८ मत पाएका थिए।
पार्टी प्रवक्ता तथा पूर्वसहमहामन्त्री प्रकाशसरण महतको पनि टिकट पक्का छ। तर महत नुवाकोट वा काठमाडौं कहाँबाट उम्मेदवार हुने निश्चित छैन। २०७४ सालको निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार भएका महतलाई एमालेका तत्कालीन महासचिव ईश्वर पोखरेलले ९ हजार ८६० मतले हराएका थिए। स्थानीय चुनावमा त्यहाँबाट एमाले १९ हजार ७०३, कांग्रेस १४ हजार ८५३, राप्रपा २ हजार ८२२, नेकपा एस १ हजार ८२७, माओवादी १ हजार १६८, जसपा ५८ मत पाएका थिए। त्यस्तै सरकारका गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणले अघिल्लो निर्वाचनमा समानुपातिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए। यसपटक उनी रूपन्देही–३ बाट निर्वाचन उठ्ने तयारीमा छन्। उक्त क्षेत्र एमाले नेता घनश्याम भुसाल निर्वाचित भएको क्षेत्र हो। स्थानीय चुनावमा रूपन्देही–३ मा कांग्रेसलाई ३४ हजार १५३, एमालेलाई २९ हजार ४८, राप्रपालाई १३ हजार ३९७, जसपालाई ६ हजार १८३, माओवादीलाई २ हजार ८८१, लोसपालाई २ हजार १७४, नेकपा एसलाई ९७७ मत प्राप्त भएको थियो।
देउवाका विश्वासपात्रमध्ये सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भोजपुरबाट निर्वाचित हुन नसकेपछि २०७४ सालको चुनावमा सुनसरी झरेका थिए। सुनसरी–४ बाट निर्वाचित कार्की यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्नेछन्। पार्टीका संस्थापन इतरका नेताहरूलाई जिल्लामा दबाबमा राख्ने गरेको आरोप खेप्दै आएका कार्कीमाथि आफूनिकटका नेताहरूलाई पनि विश्वासमा लिन नसकेको आरोप पनि लाग्ने गरेको छ। पार्टीभित्रको सन्तुलन मिलाउन नसके कार्कीलाई पनि आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पनि सहज नहुने स्थानीय नेता तथा कार्यकर्ता बताउँछन्। सुनसरी–४ मा कांग्रेस २८ हजार ७५६, एमाले २३ हजार ६१३, जसपा ९ हजार ८६३, नेकपा एस ३ हजार ७००, माओवादी ३ हजार ६४६, राप्रपा ३ हजार ४५७, लोसपा १ हजार ५०४ मत पाउन सफल बनेका छन्।
प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणाको पनि प्रत्यक्षतर्फको टिकट पक्का छ। कैलाली–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताउँदै आएकी आरजुलाई पार्टी नेता पुष्कर ओझासहितका नेताहरूलाई मिलाउन नसक्दा आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सहज छैन। अघिल्लो निर्वाचन ओझासहितका नेताले अन्तरघात गरेको भन्दै उनलाई अनुशासनको कारबाही गरेपछि आरजुका लागि अवस्था थप प्रतिकूल बन्न पुगेको नेताहरू बताउँछन्। २०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानाले ४ हजार ८८० मत बढी ल्याएर आरजुलाई पराजित गरेका थिए। स्थानीय निर्वाचनमा कैलाली–५ मा कांग्रेसले २२ हजार ७७९, एमालेले १७ हजार ४२०, माओवादीले ८ हजार १७५, नेकपा एसले २ हजार ९, राप्रपाले १ हजार ७९७, नागरिक उन्मुक्ति पार्टीले ६५९, लोसपाले ३०२, जसपाले १५० मत पाएका थिए।
त्यस्तै कञ्चनपुरका एनपी साउद र रमेश लेखकको पनि प्रतिनिधिसभाको टिकट सुनिश्चित छ। साउद कञ्चनपुर–२ बाट उम्मेदवार बन्नेछन् भने लेखक ३ बाट। तर ती दुई नेताको आन्तरिक किचलोले पार्टीका नेता दुई धारमा विभाजित छन्। केन्द्रमा एउटै गुटमा रहेका दुवै नेता जिल्लामा भने आआफ्ना गुट चलाउँछन्। साउद एमाले उम्मेदवार नरबहादुर धामीसँग ८ हजार ३२७ मतान्तरले पराजित भएका थिए भने लेखक एमालेकै दीपक प्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए। स्थानीय तहको निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो कञ्चनपुर–२ मा कांग्रेस २२ हजार ३७९, एमाले १८ हजार ८२८, माओवादी १२ हजार ५७२, नेकपा एस ४ हजार १६१, राप्रपा ३ हजार ९५३ भने कञ्चनपुर–३ मा कांग्रेस २१ हजार ७७२, एमाले १६ हजार ११७, राप्रपा ६ हजार ५०३, माओवादी ५ हजार ९८१ र एस ३ हजार १२ मत पाउन सफल भएका छन्।
प्रकाशित: २१ भाद्र २०७९ ०१:३० मंगलबार