coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘सुरक्षा भए पाकिस्तानी लगानी आउँछ’

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साह

नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले पाकिस्तानी लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल) सँग शुक्रबार अपराह्न भेट गरेपछि नागरिककर्मीसँग कुरा गर्दै उनले पाकिस्तानी लगानीकर्ता पोखरासहित गण्डकी प्रदेशमा लगानी गर्न तयार रहेको बताएका हुन्।

गण्डकी प्रदेश सरकारले चाँडै गर्न लागेको लगानी सम्मेलनमा पाकिस्तानी लगानीकर्ताको सहभागिता र सम्भावित लगानीको सम्भावनाबारे गरिएको प्रश्नको जवाफमा उनले भने, ‘नेपाल सरकारले लगानीको वातावरण बनाउनुपर्छ। जुनसुकै लगानीकर्ताले लगानीको सुरक्षा र नाफाको ग्यारेन्टी खोज्छ। त्यसो भए पाकिस्तानी लगानीकर्ता पनि यहाँ लगानी गर्न तयार छन्।’

राजदूत साहले पाकिस्तान र गण्डकी सरकारले शिक्षा, पर्यटन र जलवायु परिवर्तनमा मिलेर काम गर्न सक्ने बताए। उनले पर्यटकीय राजधानी पोखरा र पाकिस्तानले सहकार्य गर्ने हो भने पर्यटनमा अथाह सम्भावना रहेको उल्लेख गरे। त्यसका लागि प्रदेश सरकार र मुख्यमन्त्री सकारात्मक पाएको उनले बताए।

मुख्यमन्त्री नेपाली र पाकिस्तानी राजदूत साहबीचको भेटमा आपसी हित र सम्बन्ध दरिलो बनाउनेबारे कुराकानी भएको छ। नेपाल र पाकिस्तानबीच जनस्तरमा भएको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा कुराकानी भएको राजदूत साहले बताए। भेटमा मुख्यमन्त्री पोखरेलले पाकिस्तानमा हालै बाढीबाट भएको जनधनको क्षति तथा त्यसबाट नागरिकमा पर्न गएको कठिनाइप्रति दुःख व्यक्त गरेका थिए।

प्रकाशित: १८ भाद्र २०७९ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App