८ वैशाख २०८१ शनिबार
राजनीति

स्थानीय निर्वाचनको वडागत मत: दाङमा को बलियो?

भर्खरै स्थानीय तह निर्वाचनको नतिजा प्राप्त गरेका दलहरु पुनः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुखद परिणाम प्राप्तीका लागि सकृय बन्न थालेका छन्। ४ मंसिरको नतिजा कसरी आफ्नो पोल्टामा पार्न सकिन्छ? भन्ने चिन्तनमा रहेका दलहरुले सोही अनुसार चुनावी रणनीतिका तानाबाना बुन्न थालिसकेका छन्। आगामी निर्वाचनको मत परिणाम कति सुखद बन्ला ? जिल्लाका प्रमुख दलहरुले सम्भावित नतिजाको आँकलन गत स्थानीय तहको प्राप्त मतभारका आधारमा गरिरहेका छन्। मूलतः सत्तापक्षीय गठबन्धनमा आवद्ध ५ दल तथा एकल प्रतिष्पर्धामा रहेको नेकपा एमालेले अहिले वडागत रुपमा प्राप्त मतलाई आगामी निर्वाचनको सम्भावित नतिजाको आधार मानेका छन्।  

त्यसोत, जिल्लाका तीन क्षेत्रमा कुल १ सय वडामा प्राप्त दलीय मतभारलाई हेर्ने हो भने सत्तापक्षीय गठबन्धन हाबी हुने देखिन्छ। सबै निर्वाचन क्षेत्रका वडाहरु (वडा अध्यक्ष) मा प्राप्त एमालेको वडागत मत गठबन्धनको भन्दा कम छ। सबै भन्दा बढि मतान्तर जिल्लाको क्षेत्र नम्बर १ मा देखिन्छ।

यो क्षेत्रका ४ स्थानीय तह मध्यको गढवा गाउँपालिकाका ८ वटा वडामा गठबन्धनमा अवद्ध दलहरुको कुल मत १० हजार ९ सय ६४ छ। यसैगरि यी वडामा गत स्थानीय तहको निर्वाचनमा एमालेको मत आधा भन्दा पनि कम ४ हजार ६ सय ८६ मात्रै रह्यो। यसैगरि यो क्षेत्रमा पर्ने घोराही उपमहानगरपालिकाका ४ वटा वडामा भने एमालेको मत बढि देखियो। क्षेत्र नम्बर १ मा पर्ने घोराहीका वडाहरु १,२,३ र ५ मा एमालेको ७ हजार ३ सय २७ र गठबन्धनमा आवद्ध दलहरुको मत ४ हजार ८ सय ७२ रह्यो। यसैगरि यो क्षेत्रको सबै भन्दा ठूलो स्थानीय तह लमही नगरपालिकाका ९ वटा वडामा गठबन्धनमा आवद्ध दलहरुको कुल मत १७ हजार ३ सय ८० पुग्यो भने एमालेको मत ५ हजार ३ सय ५३ मत मात्रै रह्यो।

यसैगरि अर्को स्थानीय तह राजपुर गाउँपालिकाका कुल ७ वटा वडामा गठबन्धनमा आवद्ध दलहरुको प्राप्त मत ६ हजार ९ सय ६४ रह्यो भने एमालेको प्राप्त मत २ हजार ९ सय ४० मात्रै रह्यो। यस्तै गत स्थानीय तह निर्वाचनमा राप्ती गाउँपालिकाका ९ वटा वटामा प्राप्त मतलाई हेर्ने हो भने गठबन्धनमा आवद्ध दलहरु यहाँ पनि हाबी देखिन्छन्। यो गाउँपालिकाको वडागत मत १२ हजार ८ सय ३ गठबन्धनको पक्षमा देखियो भने ६ हजार ७ सय ९१ मत एमालेको पक्षमा देखिएको छ।

गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर १ का यी चार स्थानीय तहका वडाहरुको कुल मत मध्य गठबन्धनको मत एमालेको भन्दा झण्डै दोब्बर बढि देखियो। गठबन्धनको कुल मत ५२ हजार ९ सय ८३ रह्यो भने एमालेको मत २७ हजार ९७ रह्यो। यसरी यो क्षेत्रमा गठबन्धनमा आवद्ध दलहरुको भन्दा एमालेको मत २५ हजार ८ सय ८६ ले कम देखिएको छ।

यसै मतभारलाई मुल्यांकन गरेको एमालेले यो क्षेत्रमा आफूलाई कमजोर बिश्लेषण गरिसकेको छ। ‘हामी क्षेत्र नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा कमजोर देखियौँ,’ नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले भने ‘तथापी आगामी निर्वाचनमा हामीहरु कसरी बलियो दलका रुपमा स्थापित हुन सकिन्छ भनेर कसरत गर्छौँ ।’  

यसैगरि गठबन्धन र एमालेले निकै चासोका साथ हेरेको जिल्लाको २ नम्बर क्षेत्रको वडागत मत पनि गठबन्धनको भन्दा एमालेको कमै छ। तर यहाँको मतान्तर भने ठूलो देखिन्न। यो क्षेत्रका वडाहरुमा गठबन्धन भन्दा एमाले झण्डै तीन हजार मतको अन्तरले मात्रै पछाडि देखिएको छ। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा प्राप्त वडागत मत गठबन्धनको ३६ हजार १ सय ४६ छ भने एमालेको ३३ हजार ५ सय ९३ छ।  

यो क्षेत्रको घोराही उपमहानगरका १ नम्बर क्षेत्रमा पर्ने १,२,३ र ५ वडा बाहेक १५ वटा वडाको प्राप्त मत गठबन्धनको २४ हजार ५ सय ४८ छ भने एमालेको २३ हजार ९ सय ८६ छ। यसैगरि २ नम्बर क्षेत्रमा पर्ने तुलसीपुरका १६,१७,१८ र १९ नम्बर गरि ४ वडा वडाको मत गठबन्धनको पक्षमा ५ हजार ३५ र एमालेको पक्षमा ६ हजार २५ देखियो। यसैगरि यो क्षेत्रको बंगलाचुली गाउँपालिकाका कुल ८ वडामा प्राप्त मत गठबन्धनको पक्षमा ६ हजार ५ सय ६३ र एमालेको पक्षमा ३ हजार ५ सय ८३ रह्यो।

यसैगरि स्थानीय तहको वडागत मतलाई हेर्ने हो भने क्षेत्र नम्बर ३ मा पनि गठबन्धन भन्दा एमाले कमजोर देखिन्छ। यो क्षेत्रका वडाहरुमा गत स्थानीय तह निर्वाचनमा गठबन्धनले ४५ हजार ७ सय ९२ मत प्राप्त गर्यो भने एमालेले ३८ हजार ६ सय ५८ मत प्राप्त गर्यो। यो क्षेत्रको तुलसीपुर उपमहानगरका १९ वडा मध्य १५ वटा वडामा एमालेले गठबन्धन भन्दा बढि मत प्राप्त गरेको छ। यो उपमहानगरका १ देखि १५ नम्बर वडा सम्मको एमालेको मत २४ हजार २ सय १९ मत रह्यो भने गठबन्धनको २३ हजार ५ सय १८ मत रह्यो। यो उपमहानगरका १६,१७,१८ नम्बर वडाहरु क्षेत्र नम्बर २ मा पर्छन्। यसैगरि यो क्षेत्रको दंगिशरण गाउँपालिकाका वडाहरुमा गठबन्धनको मत ६ हजार ५ सय ३९ मत रह्यो भने एमालेको ४ हजार ५ सय ७० मत रह्यो। यसैगरि बबई गाउँपाालिकाको वडागत मत गठबन्धनको पक्षमा ७ हजार ९ सय ५७ रह्यो भने एमालेको मत ५ हजार ५ सय ४० रह्यो। यस्तै यो क्षेत्रको शान्तिनगर गाउँपालिकाको वडागत मत गठबन्धनको पक्षमा ७ हजार ७ सय ७८ रह्यो भने एमालेको ४ हजार ३ सय २९ रह्यो।  

जिल्लाका तीनवटै क्षेत्रको वडागत मतमा कमजोर देखिएको एमालेले २ र ३ नम्बर क्षेत्रमा आगामी नतिजा आफ्ना लागि सुखद बन्ने दाबी गर्छ। ‘हामीहरु १ नम्बर क्षेत्रमा कमजोर भएका छौँ,’ एमाले अध्यक्ष बस्नेतले भने, ‘२ र ३ मा भने एमालेले स्थानीय तहको निर्वाचनम अब्बल सावित गरेको छ, हामी आगामी निर्वाचनमा पुनः सफल हुन्छौँ।’ यीनै २ र ३ नम्बर क्षेत्रका दुई उपमहानगर घोराही र तुलसीपुरको नेतृत्वमा एकल बाजी मारेको एमालेले आफ्नो आगामी जीतको पहिलो आधार यसैलाई देखेको छ।

यता वडागत मतमा एमाले भन्दा मतान्तर बढि देखिएको भएपनि गठबन्धनमा आवद्ध दलहरुका लागि भने गठबन्धन कति कसिलो बन्ने भन्ने पिरलो बढेको देखिन्छ। गठबन्धन कसिलो नबनेकै कारण घोराही र तुलसीपुर उपमहानगरको नेतृत्व फुस्कीएको बिश्लेषण गरेका गठबन्धनमा आवद्ध दलहरुले आगामी निर्वाचनमा गठबन्धन कसिलो बन्नु पर्नेमा जोड दिने गरेका छन्। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन कसिलो बनेन, फलतः हामी बलियो हुँदाहुँदै पनि अपेक्षाकृत परिणाम आएन,’ माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्यले भने, ‘तर अबको निर्वाचनमा गठबन्धन कसिलो गरि कार्यान्वयन हुनु पर्छ।’ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले पनि केन्द्रले गरेको निर्णयलाई पालना गरेर अघि बढ्नै पर्ने भन्दै गठबन्धनको पक्षमा जनमत तयार गर्नुपर्नेमा जोड दिन्छ। ‘गठबन्धन सही या गलत भन्ने प्रश्न भन्दा पनि पार्टी केन्द्रले गरेको निर्णयलाई कार्यान्वयन गर्नु हामी सबै कार्यकर्ताहरुको दायित्व हो,’ कांग्रेस दाङका उपसभापति गिरीराज सुवेदीले भने ‘हामी सबै यो मार्गमा लागेर गठबन्धनलाई विजयी बनाउने दायित्व बोध गर्नुपर्दछ।’

प्रकाशित: ३० श्रावण २०७९ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App