'नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं, परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयनको नेतृत्व गरौं' मूल नारा तय गरेको कांग्रेसले अन्य पार्टीले संविधान कार्यान्वयनको नेतृत्व लिन नसक्ने दाबी पनि गरेको छ। 'वर्तमान राष्ट्रिय राजनीतिको शक्ति संरचनालाई हेर्दा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक समाजवादको दर्शनले ओतप्रोत पार्टीले यसको कार्यान्वयनको नेतृत्व लिन अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास नहोलान् भन्न सकिँदैन,' महाधिवेशनमा पेस गर्न तयार पारिएको मस्यौदामा भनिएको छ।
संविधान निर्माणभन्दा कार्यान्वयन चुनौतीपूर्ण रहेकेा ठहर गर्दै कांग्रेसले कठिन र चुनौतीपूर्ण कार्यमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित सोचका साथ पार्टी अघि बढ्ने प्रतिबद्धता जनाएको छ। संविधानमा कतिपय यस्ता अवधारणा समावेश गरिएको उल्लेख गर्दै कांग्रेसले त्यसलाई प्रष्ट परिभाषा र व्याख्या गरी कार्यान्वयन गर्नुपर्ने औंल्याएको छ। संविधान कार्यान्वयनले मात्र लोकतान्त्रिक समाजवादी मान्यताका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न सकिने उसको ठम्याइ छ।
संविधानले संघीयतालाई संस्थागत गरिसके पनि सीमांकन, नामांकन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोगसम्बन्धी ऐन, नियम र नीतिनिर्माणलगायत काम बाँकी रहेको जनाउँंदै उसले भनेको छ, 'यी महत्वपूर्ण विषयको टुंगो लगाउने प्रतिबद्धता पार्टी व्यक्त गर्दछ । संविधानका यस्तै महत्वपूर्ण जटिल प्रावधानको कार्यान्वयन कांग्रेसको नेतृत्वबिना सम्भव देखिँदैन।' सरकारमा नरहे पनि संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी निर्वाह गर्ने उसले जनाएको छ।
नेपाली समाज र राष्ट्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा समग्र शक्ति लगाउने उल्लेख गर्दै कांग्रेसले दिगो शान्ति स्थापनाका लागि प्रयत्न गर्ने जनाएको छ। आर्थिक विकासले मात्र लोकतन्त्रको जग मजबुत बनाउने ठहर गर्दै कांग्रेसले संविधान कार्यान्वयसँगै आर्थिक विकासलाई जोड दिएको छ। मानव विकास र सामाजिक सुरक्षामा पनि विशेष जोड दिने उल्लेख गर्दै कांग्रेसले भनेको छ, 'संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका साथै अबको मूल राष्ट्रिय संकल्प आर्थिक विकास र समुन्नत नेपाल हो भन्ने ठान्दछ। जसका लागि प्रचुर मात्रामा लगानी निवेसका साथै आर्थिक अनुशासन, परिश्रम र उद्यमशीलताका प्रबन्धन गरिनेछ।'
आफ्ना गाउँठाउँको विकासमा परिचालित पार्टीका नेता तथा कार्यकर्तालाई कांग्रेसले जनताको आर्थिक वृद्धि र रोजगारीका अवसर खडा गर्न पनि सक्रिय बनाउने प्रस्ताव अघि सारेको छ। 'बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार आदि पूर्वाधार निर्माणमा लागेका हाम्रा कार्यकर्ता अबदेखि जनताको आम्दानी र रोजगार वृद्धि हुने व्यवसाय स्थापना गराउने उत्पानदनशील कार्यमा पनि सक्रिय रहने छन्,' आन्तरिक छलफलका लागि तयार नीति तथा कार्यक्रममा भनिएको छ।
दण्डहीनताको अन्त्य, निष्पक्ष प्रशासन र समाजमा निर्भयताको वातावरण कायम गर्न प्रयत्नशील रहने जनाउँदै उसले व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापितलाई आफ्नो दायित्व मानेको छ।
कांग्रेसले आर्थिक नीति पनि अघि सारेको छ। प्रजातान्त्रिक समाजवादको आदर्श चरितार्थ गर्ने गरी मूलनीति निर्माण गर्ने जनाउँदै कांग्रेसले जनसेवालाई संगठनको मूल आधार मान्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा प्रतिबद्ध रहने बताएको छ। कांग्रेसले कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानको रुपमा अगाडि बढाउने संकल्प गर्दै भनेको छ, 'जनतालाई न्याय र समानता अनि स्वतन्त्रता दिने हाम्रो नीति र सिद्धान्त हो। हाम्रो सेवा, नीति र सिद्धान्त प्रत्येक बस्तीबस्तीसम्म मात्र होइन समाजका प्रत्येक व्यक्तिका तहसम्म पुग्नपर्छ।'
नयाँ संविधानले निर्दिष्ट गरेको र बिपीले खडा गरेको धरातलमा अडिएर राष्ट्रहितलाई जोड दिने, आर्थिक, सामाजिक राजनीतिक रुपान्तरण गर्ने, सामाजिक न्याय र आर्थिक वृद्धिबीचको सन्तुलन कायम गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्दै कांग्रेसले खाद्य सुरक्षा, ऊर्जा सुरक्षाजस्ता आधारभूत कुरा पूरा गर्ने, आत्मनिर्भरता उन्मुख अर्थनीति अगाल्ने, ज्ञान र प्रविधिसहितको दिगो विकासमा जोड दिएको छ।
आर्थिक पुनर्निर्माणलाई तत्कालीन उद्देश्य भएको जनाउँदै रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरण गर्नसक्ने र सामाजिक सुरक्षा तथा सामाजिक कल्याणमा बढ्दो खर्चलाई धान्न सक्ने गरी करको दायरा फराकिलो बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। देशलाई अतिकम विकसित देशबाट माथि उठाउँदै मध्यम आय भएको देश बनाउने कुरालाई जोड दिँंदै उसले बजार अर्थतन्त्रलाई दरिलो बनाउन दोस्रो चरणको नीतिगत सुधार श्रृंखलालाई तीब्रता दिने, मानव विकास र भैतिक पूँजी निर्माणमा जोड दिने, व्यापार विविधीकरण र उत्पादनको अन्तर्राष्ट्रियकरण गर्दै एकीकृत राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने, ग्रामीण विकास र रोजगारीका लागि विप्रेषण र पुनर्निर्माणको प्रयोग गर्ने भएको छ।
'भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति, दिगो शान्ति स्थापना, लगानीमैत्री वातावरण निर्माण, दण्डहीनताको अन्त्य, निष्पक्ष प्रशासन निर्भय वातावरण, मानव विकास र सामाजिक सुरक्षामा जोड दिइनेछ,' प्रस्तावित नीति तथा कार्यक्रममा भनिएको छ, 'एउटा दर्होत राजनीतिक प्रतिबद्धता र अठोटका साथ भोलिका दिनमा नीति तथा कार्यक्रमहरूलाई कडाइका साथ लागू गर्न पार्टी कटिबद्ध रहनेछ।'
तराई/मधेसलाई सम्बोधन गर्ने
तराई/मधेस पार्टीको आधारभूमि भएको भन्दै कांग्रेसले जनताका जायज मागको उचित सम्बोधन गर्नुपर्ने ठहर गरेको छ। संविधान जारी भएपछि मधेसमा संघीयतासहित केही अहं सवाल उठेको जनाउँदै कांग्रेसले स्वशासन, आत्मसम्मान, पहिचान तथा भाषा र संस्कृतिको सम्मान र प्रयोगका विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।
पहिचान र प्रतिनिधित्वलाई सुरक्षित राख्ने प्रत्याभूति लोकतन्त्रले मात्र दिन सक्ने भन्दै कांग्रेसले तराई/मधेसका अल्पसंख्यक मुसलमान महिला, भूमिहीन दलित, पिछडा वर्ग, अपेक्षाकृत पछि परेका थारु समाज सबैको हित र हक सुरक्षित हुने गरी समानुपातिक सन्तुलित विकास योजना अगाडि बढाउने नीति तथा कार्यक्रम अघि सारेको छ। 'लोकतान्त्रिक समाजवादको वास्तविक मर्म अंगालेर स्थानीय स्वशासनको प्रक्रिया अघि बढाउने हो भने तराई/मधेस एक आनन्दपूर्ण मर्यादित बस्तीमा विकसित हुन सक्छ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
कृषि क्रान्तिको सवाल, कृषिको क्षेत्रमा गुणात्मक सुधार ल्याउने र भूमिपुत्रहरूको जीवनमा वास्तविक सुधार र परिवर्तन ल्याई तराईका ग्रामीण बस्तीमा व्यापक सुधार कार्यक्रम तत्काल अघि बढाउनु जरुरी रहेकेा भन्दै उसले नीति तथा कार्यक्रममा लेखेको छ, 'हुलाकी सडक निर्माण गर्ने, रेल्वे लाइनहरूको स्थापना गर्ने, ग्रामीण सडकको सुधार गर्ने, उत्तरदक्षिण लिंक रोडहरू निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार तराई मधेसका अहं सवाल हुन्।'
कांग्रेसले पर्यटन विस्तार तथा ऊर्जा विकासबाट पनि त्यहाँको जनजीवन सुखी बन्न सक्ने ठम्माएको छ। 'जनजातिका भाषा, संस्कृति र पहिचान संरक्षित गर्दै सकारात्मक विभेदको सिद्धान्तसमेत अंगाली प्रतिनिधित्व सुनिश्चित गरेर जनजातिको उत्थान गर्न सके पहाड हिमाल नमूनाका आकर्षक क्षेत्र बन्न सक्छन्,' कांग्रेस को बुझाइ छ।
संविधान जारीपछि तराई–मधेस र सीमावर्ती क्षेत्रमा देखापरेका असन्तोष र अघोषित नाकाबन्दीले मुलुकमा मानवीय संकट निम्तेको वैदेशिक नीतिमा उल्लेख छ। कांग्रेसले देश विकासका लागि राष्ट्रिय शक्तिको जगमा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई केन्द्रबिन्दुमा राखेर निकटतम विशाल छिमेकी भारत र चीनका साथै विश्व समुदायसँग परराष्ट्र नीति सञ्चालन गर्ने उल्लेख गरेको छ ।
आन्तरिक लोकतन्त्र मजबुत बनाउने
कांग्रेसले १३औं महाधिवेशनपछि आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्ने जनाएको छ। संघीय संरचनाअनुसार पार्टी संगठनलाई रुपान्तरण गर्ने प्रतिबद्धता पनि उसले जनाएको छ। 'कांग्रेसको संगठन, संस्कार, आचरण र चरित्र समावेशी सिद्धान्तमा आधारित रहनेछ,' उसले भनेको छ, 'प्रतिस्पर्धाको राजनीतिका साथै आरक्षणको आवश्यकतालाई पनि आत्मसात गरेर अघि बढिनेछ।'
पार्टीमा महिला नेतृत्वको विकास गर्दै जानमा उसले जोड दिएको छ। त्यस्तै, दलित वर्ग लक्षित अन्तर्क्रिया प्रशिक्षण गर्दै कला र सीपको महत्ववोध तथा नेतृत्व विकासमा जोड दिने पनि उसले जनाएको छ।
पार्टी कार्यकर्ताको मुहान–युवाविद्यार्थीलाई मान्दै उसले युवालाई सिर्जनात्मक शक्तिको विकास र राजनीतिक चेतना अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने भनेको छ। 'संगठनलाई गाउँ नगर/वडादेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म हरतरहले प्रतिस्पर्धा योग्य र सक्षम तुल्याउन कडा अनुशासनको प्रबन्ध र मूल्यांकन परिपार्टी सशक्त बनाई पार्टीको संस्थागत विकास गरिनेछ।'
पूर्ण पाठ पढ्नुस्
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा प्रस्तुत हुने
नीति तथा कार्यक्रम
नेपाली कांग्रेस तेह्रौ महाधिवेशन
(२०७२ फागुन २०–२३)
मुख्य राजनीतिक प्रस्ताव
बाह्रौं महाधिवेशन सम्पन्न भएको साढेपाँच वर्ष पछि हामी तेह्रौं महाधिवेशनमा आईपुगेका छौं।
यस ऐतिहासिक अवसरमा पार्टीभित्र विभिन्न तहमा भएका लोकतान्त्रिक अभ्यासहरु पारगर्दै पार्टीको नीति, नेतृत्व र संगठनलाई नयाँ दृष्टि, दिशा र उर्जा प्रदान गर्ने उद्देश्यले उत्साहका साथ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएर आउनु भएका सम्पूर्ण साथीहरुलाई सर्वप्रथम वधाई ज्ञापन र अभिवादन गर्दछौं।
नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको पुनःस्थापना एवं संरक्षण र सम्बर्द्धनका लागि आफूलाई उत्सर्ग गर्ने वीर शहिदहरु र लोकतान्त्रिक आन्दोलनको धरोहरको रुपमा रहेका महान् अग्रज नेताहरुप्रति हृदय देखिनै यस पुनीत अवसरमा श्रद्धा र सम्मान व्यक्त गर्दछौं।
नेपाली काँग्रेसको यस महाधिवेशनलाई मुलुकमा विद्यमान अन्य राजनीतिक शक्तिहरु र आम नागरिकहरुले समेत गम्भीरतापूर्वक हेरिरहेका छन्। त्यस्तै नेपालको राजनीतिक घटना र नेपालबारे अभिरुचि राख्ने अन्तर्राष्ट्रिय समुदाय, संघसंस्थाहरु र मित्रहरुले समेत अत्यन्तै उत्सुकताका साथ यो महाधिवेशनको अवलोकन गरिरहेका छन्।
आफ्नो जन्मकालदेखि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले आफ्ना नीति, नेतृत्व र संगठनलाई समय सापेक्षरुपमा रूपान्तरण गर्न सक्छ कि सक्दैन सबैको चासो र उत्सुकताको विषय भएको छ। नेपाली काँग्रेसले अबलम्बन गर्ने नीति, कार्यदिशा र चयन गर्ने नेतृत्व सिधै मुलुकको शान्ति, स्थिरता, सम्बृद्धि एवं लोकतन्त्रको संस्थागत विकास र खासगरी नयाँ संविधानले निर्देष्ट गरेको परिवर्तनलाई व्यवस्थित गर्ने कार्यसँग जोडिने भएकोले सबैमा यस्तो उत्सुकता र चासो सिर्जना भएको हो।
वर्तमान राजनीतिक परिवेश र नेपाली काँग्रेस
साढेपाँच वर्ष अगाडि बाह्रौं महाधिवेशन सम्पन्न गर्दाको राजनीतिक परिवेशभन्दा वर्तमानको परिवेश भिन्न रहको छ। सामना गर्नुपर्ने चुनौती, राजनीतिक अवस्था र अवसहरु पनि भिन्न प्रकृतिका रहेका छन्। संविधान मार्फत समावेशिता, संघीयता र लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान आएको छ। यसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा समेत नयाँ व्यवस्था र परिवर्तनको सूत्रपात गरेको छ।
यो परिवर्तन नेपाली कांग्रेसले ००७ साल अघि देखिनै शुरु गरेको सामन्ती व्यवस्था र हुकुमी शासन विरुद्ध मजदुर आन्दोलन, किसान आन्दोलन, सामाजिक आन्दोलन, महिला शिक्षा र जागरण आन्दोलनको सन्दर्भसँग जोडिन पुगेको छ। वर्तमानमा नेपाली काँग्रेस नवीन अवसर, अनुभव र चुनौतीहरुको बीचमा उभिएको छ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो ठूलो दलको रुपमा रह्यो। ६०१ सदस्य रहेको संविधानसभामा जम्मा ११४ सदस्यमात्र रहेको नेपाली काँग्रेसले अलोकतान्त्रिक संविधान देश र जनतामाथि थोपर्न नदिन निरन्तर क्रियाशील रह्यो र सफल पनि भयो। पहिलो संविधानसभामा वामपन्थी राजनीतिक दलहरु र लोकतन्त्र भन्दा क्षेत्रीयता र जातीयतालाई उराल्ने गर्ने शक्तिहरुकै अपरिपक्वता र अदूरदर्शिताकै कारणले अन्त्य हुन पुगेको कसैबाट छिपेको छैन। २०६७ सालमा नेपाली कांग्रेसको १२औं महाधिवेशन पश्चात् २०७० साल माघ ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने अवसर प्राप्त भयो। तत्पश्चात् नेपाली कांग्रेसको नेतृत्वमा गठवन्धन सरकार निर्माण भयो र हाम्रै नेतृत्वमा वर्तमान नयाँ संविधान जारी हुन सम्भव भएको हो।
नेपाली काँग्रेसले यस ऐतिहासिक क्षणमा यी नवीन अवसरहरुको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरुको सामना गर्न सक्ने दुरदृष्टि, आँट र संकल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र संगठन निर्माणको कार्यदिशा निर्धारण गर्नु पर्ने अवस्था आएको छ।
परिवर्तनको नेतृत्व र नेपाली कांग्रेस
नेपाली काँग्रेसले बदलिँदो वर्तमान परिवेश अनुरुप आफ्ना सांगठनिक संरचना, राजनीतिक चिन्तन, दृष्टिकोण, कार्यशैली, कार्यप्रणाली र प्रवृत्तिगत आचरणहरुमा समेत रूपान्तरण गर्नुपर्ने अवस्थालाई आत्मसात गर्नु पर्नेछ।
नेपालको राजनीतिक एवं संवैधानिक विकासको इतिहासमा नेपाली काँग्रेसले स्थापनाकालदेखी अंगीकार गरेको वहुलवादमा आधारित उदार लोकतान्त्रिक व्यवस्था नै आज सर्वस्वीकृत यर्थाथ भएको छ। हिजो विपरित विचार राख्ने राजनैतिक शक्तिहरु पनि आज वहुदलीय उदार लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गरी यसमै समाहित हुन आएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा आज संघीय गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधान घोषणा भएको छ। जनताका प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने सात दशक अगाडि देखिको राष्ट्रिय आकांक्षा पुरा भएको छ। गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र संवैधानिक रुपले नै संस्थागत भएका छन्। स्वतन्त्र न्यायपालिका, संसदीय व्यवस्था एवं मिश्रित निर्वाचन प्रणालीजस्ता संविधानका आधारभूत अन्तरवस्तुहरुलाई यसले अंगिकार गरेको छ। यथार्थमा भन्ने हो भने संविधानसभाबाट नेपालको संविधान निर्माण गर्ने हाम्रा अग्रजहरुको सपना साकार भएको छ। यसले लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको नयाँ आधारभूमि प्रदान गरेको छ।
यो संविधानले निर्दिष्ट गरेको परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस स्वयं अग्रसर हुनुपर्दछ। त्यसका लागि नेपाली कांग्रेस स्वयं पनि परिवर्तनलाई पूर्णतः आत्मसत गर्ने गरी परिवर्तित हुन जरुरी छ। आचारण, व्यवहार र कार्यशैलीमा पूर्ण परिवर्तन।
नेपाललाई सामान्ती युगबाट आधुनिक युगमा उतार्न, हुकुमी शासनबाट लोकतन्त्रको युगमा अग्रसर गराउन, एकाधिकारवादी, रुढिग्रस्त र विभेदपूर्ण समाजलाई समातामूलक समाजतर्फ उन्मुख गराउन नेपाली कांग्रेसले आजसम्म गर्दै आएका अथक प्रयासहरुबाट नेपाली समाज र व्यवस्थालाई यहाँसम्म ल्याईपुर्या्उन ठूलो भूमिका निर्वाह गरेको छ।
नेपाली कांग्रेसले आफ्नो शुरु जन्मकाल २००३ सालदेखि नै वी.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसादको नेतृत्वमा शुरु गरेको आधुनिक लोकतान्त्रिक युग र २०१२ सालको वीरगंजमा सम्पन्न छैठौं महाधिवेशन हुदै आठौं, एघारौ र आज तेह्रौ महाधिवेशनसम्म आईपुग्दा आफ्ना नीतिगत र सैद्धान्तिक अवधारणामा अनेकौं आयाम थप्दै र आफ्नो संगठानात्मक स्वरुपमा विभिन्न फेरवदल समेत गर्दै आएको छ।
२०४८ को आम निर्वाचन पछि श्री गिरिजा प्रसाद कोईरालाको नेतृत्वको सरकारले शुरु गरेको समाजिक न्याय सहितको स्वदेशी, विदेशी लगानी प्रोत्साहित गर्ने उदार आर्थिक नीति र दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने सुझबुझ पूर्ण नीतिबाट नेपाली कांग्रेसले राष्ट्रलाई योगदान दिएको छ। र त्यही नीतिलाई आज पुरै राष्ट्रले अंगिकार गरेको छ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका स्थिर सैद्धान्तिक मान्यताका रुपमा रहदै आएका छन् र यसले समय सापेक्ष नीति, रणनीति र कार्यनीति अंगाल्दै आएको छ। तर नेपाली कांग्रेसले राष्ट्रलाई अस्थिर र समाजलाई अस्तव्यस्त गराउने जोखिमपूर्ण नीति कहिल्यै अख्तियार गरेन।
शुरुमा अध्यक्षात्मक रुपमा रहदै आएको नेपाली कांग्रेसको संगठनात्मक संरचना क्रमशः केन्द्रीय सदस्य र पदाधिकारीहरुको निर्वाचन गर्ने व्यवस्था गर्दै सामूहिक नेतृत्वतर्फ लम्किरहेको छ। आफ्नै कार्यसञ्चालनमा अनुभुत भएका अपठ्यारा र सजिला अनुभवको आधार तथा अन्य मुलुकका लोकतान्त्रिक पार्टीहरुको अनुभव समेतका आधारमा यो स्वरुपमा फेरवदल हुदै रहन सक्छ।
आफ्नो संगठनको शुरुकालदेखि नै नेपाली समाजका विभिन्न जाती, वर्ग, समुदाय र सम्प्रदायको सहभागिता रहेको नेपाली कांग्रेसको समावेशी संगठन वार्हौं महाधिवेशनसम्म आईपुग्दा बढीभन्दा बढी संस्थागत र विधिसम्मत रुपलेनै समावेशी स्वरुप ग्रहण गर्दै आएको छ। पार्टीको विधानमा नै व्यवस्था गरी गाउँदेखी केन्द्रीय तहसम्म, महिला, दलित, मधेसी, आदीवासी जनजाती, थारु, मुस्लिम, अपाङ्ग तथा समाजमा पिछडिएका वर्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ।
संविधानको कार्यान्वयन
संविधान निर्माण पश्चात् अबको मुख्य चुनौती भनेको यसको कार्यान्वयन पक्ष हो। यो कठिन र चुनौतीपूर्ण कार्यमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित सोचको आवश्यकता छ। कुनै पनि देशमा संविधान मूल कानूनको रुपमा रहेको हुन्छ र सूत्रवद्ध हुन्छ। त्यसलाई क्रियाशील तुल्याउन र कार्यान्वयन गर्नका लागि संविधानको मर्म अनुरुप ऐन, नियम एवं नीतिहरु निर्माण गर्नुपर्ने हुन्छ। संविधानमा कतिपय यस्ता अवधारणाहरु समावेश गरिएका छन्, जसलाई प्रष्ट परिभाषा र व्याख्या गरी कार्यान्वयन गर्नुपर्ने अवस्था छ। वर्तमान राष्ट्रिय राजनीतिको शक्ति संरचनालाई हेर्दा नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक समाजवादको दर्शनले ओतप्रोत पार्टीले यसको कार्यान्वयनको नेतृत्व लिन अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराहरुको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास नहोलान् भन्न सकिँदैन। यसको मर्म अनुरुप यो संविधानलाई कार्यान्वयन गर्न सकेमा लोकतान्त्रिक समाजवादी मान्यताका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न सक्ने यथेष्ट सम्भावना रहेको छ। यथार्थमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान महत्वपूर्ण आधार बन्न सक्दछ। नेपाली काँग्रेसले यस अवसरमा संविधान कार्यान्वयनको लागि दृढता र संकल्प प्रदर्शित गर्न चाहन्छ।
लामो समयदेखिको केन्द्रीकृत सोच र एकात्मक राज्यप्रणालीबाट नेपालका सबै जातजाती, भाषाभाषी, धर्म, वर्ण, लिङ्ग, क्षेत्र र वर्गका नागरिकहरुको राज्यका स्रोत, साधन, अवसर र सत्तामा समान पहुँच हुन नसकेको कारणले नै हामी संघीय संरचनामा प्रवेश गरेका छौं। यो संविधानले संघीयतालाई संस्थागत गरिसकेको छ। यसलाई व्यवहारमा उतार्ने र व्यवस्थित गर्ने चुनौतीहरु अझै हाम्रो सामु छन्। नेपाली काँग्रेस संघीयतासम्बन्धी सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोग सम्बन्धी ऐन, नियम र नीति निर्माण लगायतका बाँकी महत्वपूर्ण विषयहरुको टुंगो लगाउने प्रतिवद्धता व्यक्त गर्दछ। संविधानका यस्तै महत्वपूर्ण जटिल प्रावधानहरुको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्व बिना सम्भव देखिदैन। सत्तामा रहेपनि नरहेपनि यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न नेपाली काँग्रेस कृतसंकल्पित रहेको छ।
पीडित जनताप्रतिको दायित्व
एकातिर संविधान कार्यान्वयनको यस किसिमको चुनौती रहेको छ भने अर्कोतिर वैशाख १२ को विनाशकारी महाभूकम्पले सिर्जना गरेको विपत्तिपूर्ण परिस्थितिबाट लाखौं नेपालीहरुले अहिले पनि मुक्ति पाउन सकेका छैनन्। भूकम्प पीडितहरुका लागि खाना, नाना र छानाको व्यवस्थापनको लागि नेपाली काँग्रेसको नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्योन। दातृ निकायहरुबाट आर्थिक र भौतिक सेवा प्रदान गर्ने प्रतिवद्धताको निर्माण गर्यो्। त्यसको लागि पुनः निर्माण प्राधिकरणको गठन गरी पुनः निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने विस्तृत कार्ययोजना समेत अगाडि ल्याइसकेको थियो। तर संविधान घोषणा भए लगत्तै एमाले लगायतका राजनीतिक दलहरु सत्ताकेन्द्रित राजनीतिमा धु्रवीकृत र क्रियाशील रहे। नेपाली कांग्रेसले तराई–मधेस सवाललाई दृष्टिगत गर्दै राष्ट्रिय एकताको प्रश्नलाई गम्भीर रुपमा लिदै पुरानो गठबन्धनमा टाँसिइ रहनु दुरदर्शिता नरहने ठहर गर्योि। र, लोकतान्त्रिक मान्यता अनुरुप प्रतिस्पर्धा गरी प्रतिपक्षमा रहन तयार भयो। यता नयाँ संविधानको घोषणासँगै सुरुवात भएको मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीले नेपाली जनताको जीवन अरु भयावह र कष्टकर तुल्याएको छ। महंगी र कालो बजारीबाट नेपाली जनता आक्रान्त छन्। भ्रष्टाचार संस्थागत बन्दै गएको छ। तस्करहरु मौलाइरहेका छन्। तर वर्तमान सरकार यी दुवै समस्याको समाधानमा गम्भीर देखिएको छैन। सरकार गठन भएको चार महिना भइसक्दा पनि आधादर्जनभन्दा बढी उपप्रधानमन्त्री बनाउने र मन्त्री माथि मन्त्री थप्न मन्त्रालय फुटाइ प्रशासनिक संयन्त्रसमेत अस्तव्यस्त पार्ने खेलमा सरकार लिप्त देखिन्छ।
यस्तो भयावह कष्टकर बन्दैगएको नेपाली जनजीवनलाई मुक्ति दिने र पुनःस्थापित गर्ने जिम्मेवारी महसुश गर्दै मधेसी मोर्चासँग वार्ता र संविधान संशोधनका माध्यमबाट स्थितिमा सहजता र सुधार ल्याउन नेपाली कांग्रेस कृयाशील रह्यो र तराई–मधेसको भावना समेत समेटी संविधानको पहिलो संशोधन नेपाली कांग्रैसकै पहल कदमीमा सम्पन्न समेत भइसकेको छ।
त्यसरी नै संविधानको यथार्थ जनतामा बोध गराउन प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सहित अभियान लिएर देशैभरी हामी जनतामा गयौं। आज नेपालमा जुन संविधान जारी भएको छ, त्यसले अँगाल्दै आएको बहुलवादमा आधारित संसदीय लोकतन्त्र र समावेशीतामा आधारित प्रजातान्त्रिक समाजवादलाई सर्वस्वीकार्य बनाएर संस्थागत एवं चरितार्थ गर्ने संकल्प नेपाली कांग्रेसले बोकेको छ। यसमा नेपाली कांग्रेसका तमाम कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले गर्व गर्नुपर्छ। र अब आज देखा परेका चुनौती र यो संविधानले निर्दिष्ट गरेको परिवर्तन अनुरुप नीति र कार्यक्रम लिएर कांग्रेस अघि बढ्नेछ।
हाम्रो प्रतिबद्धता
नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं।
परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयको नेतृत्व गरौं।।
• अब हाम्रो पार्टी नेपाली कांग्रेसले नेपाली समाज र नेपाल राष्ट्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा समग्र शक्ति लगाउनेछ।
• नेपाली समाजमा दिगो शान्ति हासिल गर्न प्रयत्नशील रहनेछ।
• नेपाली कांग्रेस आफै आन्तरिक लोकतन्त्रलाई चरितार्थ गर्न कटिबद्ध रहनेछ।
• नेपाली कांग्रेसको संगठनात्मक संरचना संघीयताको ढाँचामा रुपान्तरित हुनेछ।
• नेपाली कांग्रेसको संगठन, संस्कार, आचरण र चरित्र समावेशी सिद्धान्तमा आधारित रहनेछ।
• नेपाली कांग्रेसले प्रतिस्पर्धाको राजनीतिका साथै आरक्षणको आवश्यकतालाई पनि आत्मसात गरेर अघि बढ्नेछ।
• नेपाली कांग्रेसले आर्थिक वृद्धिमा साथै मानवविकास र सामाजिक सुरक्षामा विशेष जोड दिने छ।
• नेपाली कांग्रेस संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका साथै अबको मूल राष्ट्रिय संकल्प आर्थिक विकास र समुन्नत नेपाल हो भन्ने ठान्दछ। जसको लागि प्रचुर मात्रमा लगानी निवेसका साथै आर्थिक अनुशासन, परिश्रम र उद्यमशीलताका प्रबन्धन गर्नेछ।
• अहिलेसम्म आ–आफ्ना गाउँघरमा बाटो विजुली पानी, शिक्षा, स्वास्थ्य, सञ्चार आदि पूर्वाधार निर्माणमा लागेका हाम्रा कार्यकर्ता अबदेखि जनताको आम्दानी र रोजगार वृद्धि हुने व्यवसायहरु स्थापना गराउने उत्पानदनशील कार्यमा पनि सक्रिय रहने छन्।
• नेपाली कांग्रेस समाजका निर्धानिमुखालाई न्याय र विपन्न जनतालाई आय दिलाउने दिशामा आफ्नो संगठन शक्तिको उपयोग गरेर अघि बढ्नेछ।
• नेपाली कांग्रेस श्रमको सम्मान गर्ने संस्कृतिलाई जगेर्ना गर्न कटिबद्ध रहनेछ।
• नेपाली कांग्रेस गाउँघरमा आधुनिक सुखसुविधा र आयमूलक व्यवसाय सञ्चालन गराई पहिले गाउँबाट शहर तर्फ पलायन भईरहेको जनशक्तिलाई गाउँमै फर्काउने र त्यसपछि देशबाटै पलायन भईरहेको श्रम शक्ति र प्रतिभालाई स्वदेश मै फर्कने र बस्ने स्थितिको सृजना गर्न अग्रसर रहनेछ।
• नेपाली कांग्रेसका सबै कार्यकर्ता कुनै न कुनै रचनात्मक कार्य, समाज सुधार र समाजसेवामा समर्पित भई नदी नियन्त्रण, बन संरक्षण, सहकारिताको बिकास, सांस्कृतिक घरोहर संरक्षण, वातावरण र पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धन हुने खालका विविध कार्यहरुमा सरिक रहेनछन्।
• नेपाली कांग्रेस दण्डहीनताको अन्त्य, निष्पक्ष प्रशासन र समाजमा निर्भयताको वातावरण कायम गर्न प्रयत्नशील रहनेछ।
• त्यस्तै वर्तमानमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापित गर्ने दायित्वकाप्रति पनि नेपाली काँग्रेस अत्यन्तै संवेदनशील रहनेछ।
नेपाली कांग्रेस नेपालको सन्दर्भमा संयुक्त राष्ट्रसंघका विभिन्न अवसरका घोषणाहरूलाई समेत मनन गर्दै विभिन्न कारणले पछाडि पारेका जनजाती, दुर्गमवासी र ऐतिहासिक रूपमा उपेक्षित क्षेत्र र वर्गका जनतालाई प्रदान गरेका अधिकारको प्रत्याभूति गराउँदै जाति, धर्म, भाषा र संस्कृतिको पहिचान प्रकट गराउने र उन्नतिका लागि सामर्थ्य राख्ने गरी संघीयताको अवधारणालाई साकार रुप दिन कटिबद्ध रहेनछ।
सामाजिक नीति तथा कार्यक्रम
नेपाली काँग्रेसको सामाजिक दृष्टिकोण
नेपाली समाज विविधतापूर्ण छ। यहाँ १२५ जातजाती, १२३ भाषाहरु, १० किसिमका धर्महरु मान्ने मानिसहरुको बसोबास रहेको छ। यस कुरालाई ध्यानमा राखी बाह्रौ महाधिवेशनमा भाषा, संस्कृति, परम्परा, प्राकृतिक श्रोत साधन र उत्पादन क्षमताको धनी तराई/मधेसका जनतामा रहँदै आएको आर्थिक र सामजिक असमानतालाई समावेशी पहुँच र प्रतिनिधित्व तथा त्यहाँ रहेको कमजोर पूर्वाधारमा व्यापक बिकास गरेर अगाडि बढ्ने प्रतिवद्धता सहितका कार्यक्रमहरु अगाडि ल्याइसकेको छ।
• आधुनिक र सभ्य सामाजिक मूल्य र मान्यताको स्थापनाः नेपाली काँग्रेसले बाह्रौ महाधिवेशनदेखि आफ्नै पार्टीभित्र नेतादेखि कार्यकर्तासम्म सुदृढ अनुशासन कायम गर्ने नीतिको सुरुवात गर्दै लोकतान्त्रिक संस्कार, जनसेवाको भावना, सादगीपूर्ण जीवन र नैतिक मूल्य पद्धति प्रोत्साहित गर्ने गरी आफ्ना सदस्यहरुको आचरण एवं व्यहारलाई निर्देशित गर्न पार्टीले आचार संहिता निर्माण गरी कार्यान्वयन गराउने प्रतिवद्धता जाहेर गरेको छ। यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपाली समाजमा विद्यमान परम्परागत रुढीवादी र विभेदपूर्ण मूल्य मान्यताको अन्य र त्यसलाई आधुनिक सभ्य मूल्य र मान्यतामा रुपान्तरण गर्ने नीतितर्फ पनि नेपाली काँग्रेसले ध्यान दिने छ।
• नागरिक स्वतन्त्रता, अधिकार र स्वामित्व, सामाजिक जवाफदेहिता र उत्तरदायित्वको विकासः पार्टीभित्र र राज्यका विभिन्न संयन्त्रहरुमा नागरिकहरुको स्वतन्त्रताको सुनिश्चितता गर्दै विभिन्न किसिमका राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु र अन्य जागरण कार्यक्रमहरुबाट हरेक नागरिकहरुलाई आफ्नो अधिकार र स्वामित्व वोध गराउँदै नैतिकवान र जिम्मेवार उत्तरदायी र जवाफदेही नागरिक तयार गर्ने नीति नेपाली काँग्रेसले लिएको छ। यो नीतिको कार्यान्वयन नेपाली काँग्रेस पार्टीबाटै गरिनेछ।
• सिमान्तीकृत वर्गको सुरक्षा र आयोगहरु : बाह्ौं महाधिवेसनले नै महिला विरुद्ध हुने यौन शोषण, घरेलु हिंसामा दोषि देखिएका कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्थाको घोषणा गर्दै यसलाई सामाजिक आन्दोलनकै रुपमा लैजान काँग्रेसले नै नेतृत्व लिने संकल्प व्यक्त गरेको छ।
हाल महिला, दलित, मधेशी, जनजाति, अल्पसंख्यक र बहिष्करणमा परेका वा पछाडि पारिएका अन्य समूह वा वर्गको उत्थानको लागि छुट्टाछुट्टै आयोग वनाउनु र ति सवै आयोगलाई संवैधानिक हैसियत दिनुको पछाडि नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको अथक प्रयासका पृष्ठभुमिमा नेपालको नयँा संविधान ल्याउन सकिनु नै हो। अव वनेका आयोग मार्फत कसरी ती वर्ग र समुदायको हितमा ज्यादा ध्यान लगाउन सकिन्छ भन्नेमा नेपाली काँग्रेस लागिपर्नेछ।
• सशक्तिकरण तथा समावेशीकरणः नेपालमा अहिले उचित व्यवस्थापन नभएका वादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित आवास तथा रोजागरीका कार्यक्रमहरु गरिनेछ। यी कार्यक्रमहरु सम्पन्न गर्दा चेपाङ, राउटे र गन्धर्व जस्ता समुदायको परम्परागत अनुभव र मौलिक पहिचानलाई पनि आवश्यकता र औचित्य अनुसार ध्यानमा राखिने छ।
• आधुनिकीकरण र विश्वव्यापीकरणका आधारभूत मान्यताहरुको अवलम्बनः नेपाली काँग्रेसले आधुनिकीकरण र सामाजिक रूपान्तरण गर्दा विश्वव्यापी रूपमा चलिरहेका मूल्य मान्यताहरुलाई अबलम्बन गर्ने नीति लिनेछ। यस प्रक्रियालाई आत्मसात गर्दा नेपाली समाजका आधारभूत मूल्य र मान्यतालाई पनि विशेष ध्यान दिइनेछ।
• सामाजिक सुरक्षाको व्यवस्थाः शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने जेष्ठ नागरिक, वृद्ध एकल महिला, लोपोन्मुख जातजाति, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक, असहाय, अशक्त समुदाय, व्यक्ति, महिला, बालबालिकाहरुलाई सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने नीति नेपाली काँग्रेसले लिनेछ। वर्तमानमा दिइदै आएका सामाजिक सुरक्षाका प्रावधानमा परिष्कृत गर्ने।
दलितका सवाल
दलितका सन्दर्भमा पनि छुवाछुतको व्यवहार गर्ने कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्था गरेको छ। प्रत्येक जेष्ठ १० गतेका दिन आफ्ना जिल्ला र केन्द्रिय कार्यालयको संयेाजनमा छुवाछुत र विभेद विरुद्ध सचेतना कार्यक्रम संचालन गरी राष्ट्रिय समता दिवस मनाउने घोषणा गरेको छ। बाह्रौं महाधिवेसन मार्फत आएको “दलितका प्रति छुवाछुत र विभेदः दण्डनीय मानवीय अपराध” भन्ने देशव्यापि अभियान अन्तर्गत रहेर नै काँग्रेसको पहलमा यस अघिको विघटित संसदबाट २०६८ जेष्ठमा जातीय भेदभाव र छुवाछुत (कसुर र सजाँय) ऐन पास गरेर यस्ता कार्यलाई कानूनी रुपले नै दण्डनीय र अपराध घोषित गरेको छ। विगतका सामाजिक आन्दोलन र अभियानहरुलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आएको छ। बदलिँदो विश्व र नेपालको परिवेशलाई ध्यानमा राखी यस कार्यलाई प्रभावकारी र परिणामुखी बनाउने गरी राज्यस्तरबाट नै सामाजिक नीति र कार्यक्रमहरु लागू गर्न कांग्रेस प्रयत्नशील रहनेछ।
महिलाका सम्बन्धमा
नेपाली कांग्रेसकै महिला नेताहरु समेतको पहलमा २०६३ को प्रारम्भ मै पुनःस्थापन संसदले महिलालाई राज्य संयन्त्रमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था शुरु गर्ने नीति स्वीकृत गरेको हो। अहिलेको संविधानले त्यसलाई संवैधानिक ढंगले सुनिश्चित गरेको छ। राज्यका हरेक तहमा महिलाहरुको तदनुरुप प्रतिनिधित्व र अवसरमा पहुँच सुनिश्चित गरिएका छन्। संविधानले महिलालाई शिक्षा, रोजगार, पैतृक सम्पत्तिमा हक लगायत विभिन्न क्षेत्रमा पहुँचको विशेष व्यवस्था गरी अग्रस्थानमा पुर्याोउने प्रबन्ध गरेको छ। त्यसरी नै नेपाली कांग्रेस संगठन भित्र पनि महिलाको प्रतिनिधित्व र विशेष स्थानको व्यवस्था पार्टी विधानले नै गर्दैछ। नेपाली कांग्रेसले महिलाको नेतृत्व विकासमा विशेष प्रयत्न गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। महिला हिंसा विरुद्ध ००७ साल अघिदेखिनै अभियान सुशरु गर्दै आएको नेपाली कांग्रेसले अबका दिनहरुमा बढी सक्रिय भएर गाउँघर कुनाकाप्चामा अन्धविश्वास र अन्धपरम्परा र शोषणका प्रथाहरु अन्त गर्दै समानता र न्यायको अधिकार प्रत्याभूत गराउने छ।
तराई मधेसका मुद्दा :
नेपालको तराई मधेस भू–भागका आफ्नो केही विशेषता र समस्याहरु छन्। दक्षिणी छिमेकी भारतसँग जोडिएको क्षेत्र हुनाले नेपालमा लोकतन्त्रको लहर तराईमधेसबाटै पहिले उठेर आएको हो। त्यस मानेमा हामीले मधेसलाई चेतनाको मुहान पनि भन्न सक्छौं। ऐतिहासिक क्रममा २००७ साल आउनु भन्दा अगाडि नेपालको राजपाठमा यस क्षेत्रको पहुँच नगन्य थियो। लोकतन्त्रको आगमन सँगै सबै क्षेत्र र वर्ग समुदायका जनतामा आ–आफ्नो हिस्सा र साझेदारीको भावना विकसित हुँदै आएको छ। यसै सिलसिलामा संघीयता सवाल एक अहम सवाल बनेर आएको छ। यसैलाई संस्थागत गर्न मुलुकलाई संघीय ढाँचामा रुपान्तरण गनुपर्ने आवश्यकता देखिएको हो।
स्वशासन, आत्मसम्मान, पहिचानको तथा भाषा र संस्कृतिको सम्मान र प्रयोगको विषय पनि उठेका छन्। यसलाई राज्यले सही रुपमा सम्बोधन गर्नु पर्दछ। तर मधेसको मुद्दा यतिमा मात्र सीमित छैन। यो त एक राजनीतिक पाटो हो। मधेसका अन्य धेरै आर्थिक, सामाजिक सवालहरु छन्, जसलाई समुचित सम्बोधन गरेर यहाँका आम जनताको जनजीवनमा सुधार र प्रगति ल्याउनु पर्नेछ।
कृषिक्रान्तिको सवाल, कृषिको क्षेत्रमा गुणात्मक सुधार ल्याउने र किसानको जीवनमा भूमिपुत्रहरुको जीवनमा वास्तविक सुधार र परिवर्तन ल्याई तराईका ग्रामीण वस्तीहरुको व्यापक सुधार कार्यक्रम तत्काल अघि बढाउनु जरुरी छ। यस सन्दर्भमा हुलाकी सडक निर्माण सम्पन्न गर्ने, रेल्वे लाइनहरुको स्थापना गर्ने, ग्रामीण सडकहरुको सुधार गर्ने, उत्तरदक्षिण लिङ्क रोडहरु निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार तराई मधेसका अहमसवाल हुन्।
सुरक्षाको प्रत्याभूति तराई मेधसका जनतालाई सधै सताइ रहने सवाल हो। सीमा क्षेत्र हुनाले पनि यो समस्यालाई राज्यले प्राथमिकता साथ समाधान र स्थायी प्रवन्धको खोजी गरिनुपर्छ।
पहिचान र प्रतिनिधित्वलाई सुरक्षित राख्ने प्रत्याभूति लोकतन्त्रले मात्र दिन सक्छ। तराई मधेस भित्रका विविधतामा एकता पनि लोकतन्त्रले सुनिश्चित गर्छ, त्यहाँ भित्रका अल्पसंख्यक मुसलमान महिला, भूमिहीन दलित, पिछडा वर्ग, अपेक्षाकृत पछि परेका थारु समाज सबैको हित र हक सुरक्षित हुने गरी समानुपातिक सुन्तुलित विकास योजना अगाडि बढ्नु पर्छ। लोकतान्त्रिक समाजवादको वास्तविक मर्म अंगालेर स्थानीय स्वशासनको प्रकृया अघि बढाउने हो भने हाम्रो तराई मधेस एक आनन्दपूर्ण मर्यादित वस्तीमा विकसित हुन सक्तछ। नेपाली कांग्रेसका कार्यकर्ताहरु जनताका विविध आवश्यकता र आकांक्षाहरुको तहसम्म पुगेर समाज सुधारमा सक्रिय हुन जरुरी छ।
हिमाल पहाड दुर्गम क्षेत्रका आफ्नै विशेषता
तराई मधेश भन्दा विकट अवस्थामा रहेका पहाडी गाउँहरु, पाखा पखेराहरु र अति विकट हिमाली क्षेत्रको जनजीवन निकै कष्टकर र अभाव ग्रस्त छ। मधेस तराई तिरवाट खाद्यान्न ओसारेर खाने प्रचलनमा मात्रै रही रहने हो भने त्यहाँ कुनै दिन ठूलै संकट पर्न सक्छ। तसर्थ पहाड–हिमालको जस्तो भू–बनोट छ, त्यस्तै खालको कृषि प्रणाली कायम र विकसित गरिनु पर्छ। रमणीय र मनमोहक दृश्यहरु, नदस् र झर्नाहरुको उपयोग गरी पर्यटन विस्तार तथा उर्जा विकासबाट त्यहाँका जनजीवन सुखी बन्न सक्छ। मध्यपहाडी मेरुदण्ड राजमार्गले त्यहाँको जनजीवनमा नयाँ चहलपहल ल्याउदै पर्यटन र रोजगारीका अवसर दिलाउने छ। फलफूल, तरकारी र पशुपालनका अति उत्तम स्थान पहाडमा भेटिन्छन्।
पहाडका जनजाति आफ्नो कलाकौशल र सौर्यका लागि प्रख्यात छन्। जनजातीका भाषा, संस्कृति र पहिचान संरक्षित गर्दै सकारात्मक विभेदको सिद्धान्त समेत अंगाली प्रतिनिधित्व सुनिश्चित गरेर जनजाती उत्थान गर्न सके पहाड हिमाल नमूनाका आकर्षक क्षेत्र बन्न सक्छन्।
जनजाति, थारु तथा मुस्लिम समुदाय
नेपालका पौरखी हिमाली, जनजाति, भूमिपुत्र थारु समुदाय, साहसी व्यवसायी मुस्लिम नेपाली राष्ट्रिय एकताका धरोहर हुन्। यी समुदायमा अन्तर्निहित सिर्जनाशक्तिलाई अरु प्रखर तुल्याउँदै सबै जात जाति कलाकौशल सांस्कृतिक वैशिष्ठयलाई उजागर गर्दै जाने।
विदेशस्थित जनसम्पर्क समितिहरु
विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेसका समर्थक कार्यकर्ताहरुलाई संगठित गरी जनसम्पर्क समितिहरुको गठन गर्ने व्यवस्था छ। यो व्यवस्थालाई वैज्ञानिक, पारदर्शी बनाउँदै संगठनका सदस्यहरुको क्षमता विकास गराउन तथा राजनीतिक चेतना अभिवृद्धि गराउन प्रशिक्षकहरु खटाई प्रशिक्षण दिलाउने।
समुदाय लक्षित अन्य कार्यक्रमहरु :
महिला वर्ग अत्यन्त सिर्जनशील वर्ग हो महिलाहरूलाई नयाँ नयाँ तालिमको व्यवस्था गर्न सकियो भने र आधुनिक औजार र प्रविधिसित अभ्यस्त गराईयो भने महिला वर्गवाट राष्ट्रको उत्पादन वृद्धिमा ठूलो योगदान पुग्न सक्तछ। महिला हिंसाको अन्त, महिला विरूद्धकाृ भेदभावको अन्त,सवैतहमा महिला प्रतिनिधित्वको सुनिश्चितता, महिलालाई सम्मान गर्ने संस्कृतिको विकास आदिद्वारा नारी शक्ति विकास गरी त्यसबाट राष्ट्रिय विकासमा ठूलो योगदान पुग्न सक्दछ।
त्यस्तै दलित वर्ग भनेको नेपालको कला र सीपको धनी वर्ग हो। उनीहरूमा विद्यमान परम्परागत सीपलाई उन्नत रूपमा विकास गर्ने हो भने मुलुकको विकासमा र उनीहरूकै जीवन स्तरमा ज्यादै ठूलो टेवा र सुधारमा मद्दत पुग्दछ।
भूतपूर्व सैनिक पनि स्वदेश र विदेशमा सेवा गर्दाका अनुभवका धनी हुन्छन्। अक्कलका धनी हुन्छन्। तीनको अनुभव र सीपलाई देश विकासको कार्यमा प्रयोग गर्ने योजना तर्जुमा हुन सके राष्ट्रको उन्नतीमा ठूलो मद्दत पुग्नेछ। श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरेर समाजका श्रम र सीपका धनी महिला, दलित र भूपू सैनिकको मान प्रतिष्ठा वृद्धिको साथै उनको उत्पादनशीलताको पनि विकास गरेर राष्ट्रले लाभ लिन सक्छ।
आर्थिक नीतिहरु
नेपाली काँग्रेसले सधै नै यस राष्ट्रलाई राजनैतिक, आर्थिक, सामाजिक, संास्कृतिक आधुनीकीकरणको नेतृत्व दिदै आएको छ। २०१५ सालमा प्रथम निर्वाचीत सरकारको नेतृत्व गर्दा यसले नेपालको अर्थतन्त्रको सबै भन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रलाई प्रभाव पार्ने भूमि र श्रमलाई विशेष महत्व दिंदै जमीनमा कृषकको पहुँच सुनिश्चित गर्ने नीतिहरु आगाडि ल्यायो। छोटो समय सरकार चलाए पनि नेपाली काँग्रेसले त्यतिबेला आगाडि सारेका आर्थिक नीतिहरुको यस देशको अर्थतन्त्रमा दूरगामी असर पर्योत। विश्वभर चलेको उपनिवेशवाद विरुद्धको आन्दोलन र नयाँ स्वतन्त्र राष्ट्रहरुको उदय भएको यस कालखण्डमा समाजवाद र समानतालाई आर्थिक उन्नतिको आधार बनाएका बेला नेपालमा समेत नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको आधारमा आर्थिक उन्नति गर्ने सोचलाइ अगाल्यो।
२०४७ सालको बहुदलीय प्रजातन्त्रको सुरुवात पछि नेपाली काँग्रेसको नेतृत्वको सरकारले विश्व परिवेश र देश भित्रको आर्थिक अवस्थालाइ ध्यानमा राख्दै खुला आर्थतन्त्र र उदार अर्थ नीतिलाई आर्थिक उन्नतिको मूल नीतिको रुपमा आगाडि ल्यायोे, नीजि क्षेत्रको भूमिकालाई बढी महत्व दिदै नीतिगत र प्रशासनिक सुधारका कार्यक्रमहरु आदी ल्यायो, यसलाई पहिलो पुस्ताको सुधार कार्यक्रमको संज्ञा दियो। यसबाट राष्ट्रको आम्दानीमा उल्लेखनीय वृद्धि भयो र राष्ट्र सामाजिक क्षेत्रमा लगानी बढाउन सफल भयो। माओवादीहरुको हिंस्रक आन्दोलनको सुरुवात सँगै आर्थिक वृद्धिको यो क्रम सुस्त बन्दै गयो। देशमा लगानीको वातावरण बिग्रदै गयो र बेरोजगारी बढ्न थाल्यो। शान्ति, सुरक्षाको अभाव र बेरोजगारीका कारण देशबाट बाहिर जाने युवाको संख्या दिनानुदिन बढ्न थाल्यो। यो क्रम अझै जारी छ।
यस अवधिमा विश्व अर्थतन्त्रमा समेत परिवर्तनहरु भएका छन्। विकसित देशहरुमा आएको अर्थतन्त्रको मन्दी, नयाँ आर्थिक शक्तिहरुको उदय, चीन, भारत र ब्राजिल जस्ता देशहरुमा भएको आर्थिक उन्नतिले विश्वमा नयाँ समीकरण उत्पन्न गरेको छ। अर्थतन्त्रको दिगोपनको लागि राज्यको दायीत्वबारेको नयाँ अनुभब भएको छ। सहश्राब्दी विकास लक्ष्य सन् २०१५ को सफल उपलब्धी पश्चात संयुक्त राष्ट्रसंघले “दिगो विकास लक्ष्य'' को अवधारण अगाडि सरेको छ र सन् २०३० सम्मको लागि नयाँ लक्ष्यहरु अगाडि सरेको छ। दिगो विकासका यी लक्ष्यहरु नेपाली काँग्रेसको लोकतान्त्रिक समाजवादका लक्ष्यसँग मिल्दाजुल्दा छन्। गरिबीको अन्त्य, शून्य भोकमरी, सबैका लागि सफापानी, सरसफाई र खर्चले धान्न सक्ने उर्जा, स्वस्थ्य जीवन र कल्याण, गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाई, लैङ्गिक समानता, समानता, शान्ति, न्याय, समावेशी संस्थाहरु, रोजगारी र आर्थिक बृद्धि आदि यसका मूल लक्ष्यमा पर्दछन्। यसले विकसित र विकासशील राष्ट्रहरुको सम्बन्ध र दायित्व प्रष्ट्याएको छ।
नेपालको वर्तमान अर्थतन्त्र एक प्रकारको अप्ठ्यारो चक्रमा घुमी रहेको छ। युवाहरु पलायन भएका छन्। ग्रामीण क्षेत्रमा काम गर्नेको कमि छ, जमीन बाँझो छन्। खाद्य लगायत उपभोगका बस्तुको आयात बढ्दो छ। कठोर परिश्रमबाट आर्जेको वैदेशिक आम्दानी फेरि देशबाट बाहिरिदै छ र यो चक्रमा राष्ट्रको अर्थतन्त्र दिनानुदिन परनिर्भर बन्दै छ। त्यसमा पनि बैशाख १२ गतेको महाभूकम्प र संविधानको घोषणा पछिका तराई र भारत नाकामा भएका अवरोधहरुले देशको अर्थतन्त्र पुरै धरासयी बनाई दिएको छ। उद्योगहरु बन्द हुने अवस्थामा छन्। भूकम्प पछिको पुननिर्माणले गति लिन सकेको छैन, आर्थिक वृद्धि ऋणात्माक हुने अनुमान गरेका छन्।
नेपाली कांग्रेसको मुख्य उद्देश्य यो कुचक्रलाई तोड्दै राष्ट्रलाई सम्बृद्ध र सम्पन्न बनाउने हो। यस मूल उद्देश्य हासिल गर्ने विश्व परिदृश्यमा आएका परिवर्तनहरुलाई ध्यानमा राख्दै, नेपाली जनताले आफैले बनाएको संविधानलाई निर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्दै आर्थिक उन्नतिको अभियान चलाउने छ। अवको मार्ग विकास गरी आर्थिक उन्नति गर्नुनै हो। त्यसको लागि सबै सामाजिक आर्थिक नीतिहरुको कार्यन्वयन हुनेछ।
हाम्रो मूलनीति
अव हामी नयाँ संविधानले निर्दिष्ट गरेको सिद्धान्त अनुसार : –
• प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्छौं।
• वी.पी ले खडा गरेको धरातलमा अडिएर राष्ट्रहितलाई जोड दिन्छौं।
• नेपालको आर्थिक सामाजिक राजनीतिक रुपान्तरण गर्छौं।
• समाजिक न्याय र आर्थिक वृद्धि बीचको सन्तुलन कायम गर्छौं।
• खाद्य सुरक्षा, उर्जा सुरक्षा जस्ता आधारभूत कुरा पूरा गर्छौ।
• स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्छौं।
• आत्म निर्भरता उन्मुख अर्थनीति अगाल्छौं।
• ज्ञान र प्रविधि विकास सहितको दिगो विकासमा जोड दिन्छौं।
आर्थिक पुनर्निर्माण :
तत्कालको उद्येश्य आर्थिक पुननिर्माण हो। नेपालको तत्कालिक आर्थिक प्राथमिकता भनेको युवाहरुलाई ठूलो संख्यामा रोजगारी सृजना तथा गरिबी न्यूनीकरण गर्नसक्ने र सामाजिक सुरक्षा तथा सामाजिक कल्याणमा बढ्दो खर्चलाई धान्न सक्ने करको दायरा फराकिलो बनाउन समर्थ क्षेत्रहरुलाई विशेष महत्व दिदै आर्थिक विकास गर्नु हो। मध्यमकालमा हाम्रो लक्ष्य विश्व समक्ष हाम्रो देशलाई अति कम विकसित देशबाट माथि उठाउँदै मध्यम आय भएको देश बनाउनु हो। यसका लागि नेपाली कांग्रेसले समष्टिगत रुपमा निम्न विषयलाई प्राथमिकता दिनेछ।
• बजार अर्थतन्त्रलाई दरिलो बनाउन दोस्रो चरणको नीतिगत सुधार श्रुंखलालाई तीब्रता दिने।
• मानव विकास र भैतिक पूँजी निर्माणमा जोड दिने।
• व्यापार विविधीकरण र उत्पादनको अन्तराष्ट्रियकरण गर्दै एकिकृत राष्ट्रिय अर्थतन्त्रको विकास।
• ग्रामीण विकास र रोजगारीको लागि विप्रेक्षण र पुनर्निमाणको प्रयोग।
• सामाजिक आर्थिक सुरक्षाको नयाँ प्याकेजको थालनी।
सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाली कांग्रेस केही विशेष नीति र क्षेत्रहरूलाई प्राथमिकता साथ अघि बढाउनेछ। भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति, दिगो शान्तिको स्थापना, लगानी मैत्री वातावरण निर्माण, दण्डहीनताको अन्त अनि, निष्पक्ष प्रशासन निर्भय वातावरण, मानव विकास र सामाजिक सुरक्षामा जोड दिनेछ। एउटा दर्हो् राजनीतिक प्रतिवद्धता र अठोटका साथ भोलिका दिनमा पनि नेपाली कांग्रेस उपरोक्त नीतिहरूलाई कडाईका साथ लागू गर्न कटिवद्ध रहनेछ।
देशमा भ्रष्टाचारी प्रवृत्ति नियन्त्रित हुने हो भने विकासका कामहरू तीव्र गतिले अगाडि बढ्न थाल्नेछन् र शान्ति सुरक्षाको प्रत्याभूतिले औद्योगिक उत्पादन र व्यवसाय विस्तारको कार्यमा ठूलो टेवा पुग्नेछ। दिगो शान्तिको स्थापना र दण्डहीनताको अन्त्यले देशमा लगानी मैत्री वातावरण तयार हुन मद्दत गर्नेछ। स्वदेशी र विदेशी पूँजी लगानी सुनिश्चित गर्न निष्पक्ष प्रशासन र निर्भय वातावरणको पनि उतिकै महत्व छ। नेपाली कांग्रेस सरकारी यन्त्रमा यी कुरा सुनिश्चित गराएर कमसेकम आगामी तीन वर्षसम्म स्वेच्छिक रूपले सबै किसिमका वन्दहडताल वन्द गरी लगानी मैत्री वातावरण निर्माणमा सरिक हुन देशका सम्पूर्ण समुदायमा अपिल गर्न चाहन्छ। अब यो राष्ट्रको खस्कदो अवस्था सुधारौ–पूजी पलायन रोकौं भन्न चाहन्छ।
प्राथमिकताका क्षेत्रहरु
सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाली कांग्रेस केही विशेष नीतिगत क्षेत्रहरुलाई प्राथमिकताका साथ अघि बढाउन चाहन्छ।
नेपाली काँग्रेसले देशको आर्थिक पुनरोथ्थानको लागि तीनवटा क्षेत्र– कृषि, पर्यटन, उर्जा र मानव क्षमता विकासलाई अभियानको रुपमा प्राथमिकता साथ अगाडि बढाउनेछ।
कृषिक्रान्ति :
आम गरीवी र आम वेरोजगारीको अन्त गर्न निर्यात बढाउन र आयात प्रतिस्थापन गर्न पनि सबै भन्दा ठूलो र व्यापक क्षेत्र कृषि नै हो। तर त्यो कृषि निर्वाहमुखी कृषिले हुदैन। हलो, कोदालो र नाम्लोको भार हलुङ्गो गर्ने आधुनिक प्रविधियुक्त र थोरै मेहनत र थौरै लगानीबाट धेरै र राम्रो आम्दानी दिने व्यावसायिक र आधुनिक कृषि प्रणालीमा राज्यले नीजि क्षेत्रलाई भरपूर सहयोग गर्नु पर्छ। तालिम र प्रचार प्रसारमा व्यापकता ल्याउनु पर्छ। भूमिवैङ्क प्रथा लागू गरी गाउँमा अनुपस्थित जग्गाधनीको जमीन वैङ्कमा राखेर व्यवसाय गर्न चाहानेलाई एकपटकका लागि जमीन उपलब्ध गराईदिनु पर्छ। किसानलाई चाहिने गुणस्तरीय मल बीउ उपलब्ध गराउन फेरी कृषि सामग्री संस्थानलाई पुनर्गठन गर्नुपर्छ। वैज्ञानिक भूमिसुधार लागू गरी जमिनको उत्पादन बढाउने र किसानको जीवनस्तर उठाउने कृषि क्रान्ति नेपालमा गरिनुपर्छ। एकीकृत वस्ती सुधार योजना लागू गरी गाउँमा नै बसौ–बसौंको वातावरण तयार गरिने छ।
कृषि क्रान्तिको साथमा भूसंरक्षण, चुरेसंरक्षण तथा वनको राष्ट्रिय वनको राष्ट्रिय उपभोगलाई पनि महत्वका साथ अघिबढाइने छ।
विदेशमा गर्ने श्रम स्वदेशमै गर्न श्रमलाई प्रोत्साहन र सम्मान गर्न संस्कृतिको विकास गरिने छ स्वदेशमै श्रम गर्ने उपयुक्त वातावरण तयार गर्न सजिला औजार र प्रविधि उपलब्ध गराइनेछ। किसानले बढी आम्दानी पाउने र श्रमिकले स्वदेशमै बढी ज्याला पाउने परिस्थिति निमार्ण गरिने छ र त्यो हुदै पनि छ। यसरी हामी भन्न सक्ने छौ– हलो जोतेर तथा मदजुरको हकहितका लागि आवाज उठाएर क्रान्तिको शुरुवात गर्ने नेपाली कांग्रेस किसानको पार्टी हो, श्रमिकको साथी हो।
पर्यटन विस्तार :
नेपालको प्रकृति र नेपालको संस्कृति पर्यटकहरूका लागि मुख्य आकर्षण हुन्। त्यसमाथि जैविक फलफूल, तर्कारी र खाद्य पदार्थहरूको स्वादिष्टता स्वस्थता पर्यटकलाई लोभ्याउने सहायक विषय हुन्। त्यसो हुँदा कृषिक्रान्ति को सर्न्दभमा प्राङ्गारिक कृषि उत्पादनमा जोड दिन लगाइने छ। पर्यटन विस्तारवाट पनि गरीवी निवारण र रोजगारीको सिर्जना गर्न ठूलै मदत पुग्दैछ र यस क्षेत्रलाई राज्यले व्यवस्थित र प्रोत्साहित गर्नै पर्ने हुन्छ। नेपाली कांग्रेस यस दिशामा सजग भएर कृयाशील हुनेछ। निकट छिमेकी चीन र भारतको बढ्दो आर्थिक क्षमतालाई विशेष ध्यान दिएर पर्यटन विकास गरिनुपर्छ।
ऊर्जा विकास :
अपार जलस्रोतको भण्डार नेपालको आर्थिक सम्वृद्धिको आधार बन्ने सक्ने मात्र होइन, पेट्रोलियम र कोइला ऊर्जामा आधारित औद्योगीकरणका कारण बढ्दो तापक्रम नियन्त्रण गरी मौसम परिवर्तनबाट सिर्जित समस्या समेतलाई केही हदसम्म न्यूनीकरण गर्न साना, मझौला र ठूला जलविद्युत आयोजनाका साथै सौर्य ऊर्जा र वायो ऊर्जाको विकासमा जोड दिइनेछ।
अनेक सम्भावना र विकासको वातावरण
यी तीन प्रमुख क्षेत्रका साथै अन्य क्षेत्रमा भएका अपार आर्थिक संभावनाहरुका साथै विदेशमा समेत प्रतिष्ठा कमाएको नेपाली श्रम, सीप र जाँगर उपयोग गर्न आर्थिक विकासको एजेण्डालाई मूल मन्त्र मानी आर्थीक समुन्नतीको बाटोमा अग्रसर हुनु पर्छ। यसका लागि सार्वजानिक क्षेत्रको पूर्वाधारमा व्यापक लगानी वृद्धि गर्ने, पूँजि निवेश प्रवधनमा जोड दिने, शान्ति सुरक्षा, राजनितिक स्थिरता र विधिको शासनको ग्यारेन्टी, बन्द हडताल र आन्दोलन गर्ने संस्कृतिलाई निरुत्साहीत गर्नु जरुरी छ।
सबैलाई गुणस्तरीय शिक्षा :
२००७ साल अघि देखीनै हाम्रो पार्टीले शुरू गरेको शैक्षिक अभियान आज सर्वव्यापी र निकै उच्च स्तरमा पुगेको छ। सबै गाउँ वडामा फैलिएका प्रा.वि देखि हजारौ कलेज क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय लगायत अनेकौं विश्वविद्यालय र स्नाकोत्तर शिक्षण गर्ने संस्थाहरू देशभर फैलिएका छन्। शिक्षित व्याक्तिहरूको संख्या उच्च प्रतिशतमा पुगेको छ भने निरक्षरता शून्यमा पुर्यािउने अभियान चल्दै छ। तर अब त्यो शिक्षा विस्तारमा अर्को फड्को मार्नु पर्ने वेला आएको छ।
• निजी क्षेत्रका विद्यालयहरूले हासिल गर्न सकेको शैक्षिक गुणस्तर सार्वजनीक विद्यालयले हासिल गर्न नसक्दा देशमै दुईखाले नागरिक पैदा हुँदैछन्। नेपाली कांग्रेस अब यो स्थितिको अन्त गर्नै पर्छ भन्ने दृष्टिकोणका साथ प्रयत्नशील छ। सार्वजानीक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको हाराहारीमा ल्याउन राज्यलाई घचघच्याउदै नेपाली कांग्रेसका कार्यक्रताले गाउँ गाउँमा जर्वदस्त अभियान चलाउन पर्छ। अबको पालो गुणस्तरयुक्त शिक्षामा सबै धनी गरीबको पहुँच हुने समानताको अवस्था सिर्जना गर्ने हो।
• गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्ने गरी समाजमा समानता ल्याउने हो। शिक्षा कै बलमा प्रगति गर्ने, शिक्षा कै बलमा गरीबी र विपन्नता हटाउने र समाजबाट सबै भेदभाव मेटाउने। यसै उद्देश्यमा आजको कांग्रेस आन्दोलित हुनुपर्छ।
हामी प्रजातान्त्रिक समाजवादका पक्षधर कांग्रेसजनहरूको ध्यान जहिले पनि समाजमा समानता तिर केन्द्रीत हुुनपर्छ। अब हामीले समानताको मुल जरो समात्नु पर्छ। हिजोको दिनमा असमानता जमीनमा पहुँच हुने र नहुने बीचमा थियो। त्यसैले हाम्रा अग्रजहरूले भूमिसुधार, जग्गाको हदबन्दी र मोहीयानी हक आदीको कुरा उठाएर समाजमा आन्दोलन चलाएका थिए। वी.पी.ले जोड दिएर भन्नु भयो “पूर्परोमा जे लेखियोस जग्गा हुन्छ जोत्नेको।” तर आज विज्ञान र प्रविधिको बिकास सँगै परिस्थिति फेरिएको छ। आज असमनाता जमीनमा पहुँच हुने र नहुनेका बीचमा नभै गुण स्तरीय शिक्षा र प्रविधिमा पहुँच हुने र नहुनेको बीचमा देखा परेको छ। अब हाम्रो ध्यान त्यता तिर जानु पर्दछ।
सबैलाई भरपर्दो स्वास्थ्य सेवा :
हामीले ०४८ साल पछि देशका चार हजारै गाउमा स्थापना गरेका उपस्वास्थ्य चौकी र देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरूको आम स्त्तरोन्नति गर्नेवेला आयो। आम स्वास्थ्य सेवालाई हामी प्रभावकारी बनाउने छौं। स्वास्थ्य विमाको व्यवस्था गरिने छ। रूग्ण शरिर लिएर गरीबले बाच्नु पर्ने र अकालमै मर्नु पर्ने अवस्थाको अब हामी अन्त गर्ने छौं।
• प्रसुती सेवा, प्राथमिक उपचार सेवा, झाडावान्ता रोकथाम, बाल रोग रोकथाम सेवा गाउँगाउँमा उपलब्ध गराउने। देशभरका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र सरकारी अस्पतालको आमूल सुुधार र स्त्तरोन्नति गर्ने र हिमाल, पहाड, तराईका जनतालाई पायक पर्ने ठाउँठाउँमा अस्पताल निर्माण गरी विपन्न जनतालाई स्वास्थ्य सेवा सहज र सुलभ गराउने। ठूला रोगको लागि राज्यले स्वास्थ्य विमा सञ्चालन गर्ने। गरिबीको रेखामुनीका जनतालाई विमामा सुविधा र सहुलियत दिने।
श्रम र रोजगार :
हामीले शिक्षा विस्तार गरे अनुसार रोजगारीका अवसर सिर्जना हुन सकेको छैन। रोजगारी मूलक शिक्षाको अभावमा यस्तो भएको हो। तथापि प्रति वर्ष हजारौंको संख्यामा शिक्षित बेरोजगार यहाँ तयार भइरहेका छन्। तिनलाई या त रोजगारीको अवसर उपलब्ध गराउने अथवा कुनै जीविकापार्जनको व्यवस्था गर्नुपर्ने बाध्यता सिर्जना भएका छन्। हाम्रो प्रकृति अनुसार प्रविधि विकास गर्न नसकेर रोजगारी सिर्जनाको अभावमा हाम्रा लाखौं युवा विदेशिन वाध्यछन्। हामीले यो अवस्थाको अन्त गर्नुछ। प्रविधि विस्तार गरेर रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हुनुपर्छ। त्यसको लागि लगानी उद्यम शिलताको प्रबधन गर्ने, श्रमको सम्मान गर्ने संस्कृति, कठोर आर्थिक अनुशासन, उत्पादक्त्व वृद्धि र शान्ति सुरक्षाको सुनिश्चीता आवश्यक छ।
राष्ट्रको कुल जनसंख्यामा ५७ प्रतिशत रहेका आर्थिक रूपले कृयाशील जन शक्तिलाई बढी भन्दा बढी राष्ट्रिय उत्पादनमा परिचालित हुने प्रभावकारी अवस्था सिर्जना गर्नुको साथै युवावर्गलाई वेरोजगारीबाट पीडीत रहन नपर्ने अवस्था सिर्जना गर्न हाल चालु रहेको वैदेशिक रोजगारीको अवस्थालाई व्यवस्थित, सुरक्षित, मर्यादित र बढी लाभदायक बनाउँदै अब अरूले वाध्यताले विदेशजान नपर्ने अवस्था सिर्जना गर्दा स्वदेशमै आफ्नै अपार प्राकृतिक सम्भाव्यताबाट गर्दै रोजगारीका राम्रा अवसर सिर्जना गरिने छ। गाउँमै बसौं बसौं र देश तिरै फर्कौफर्कौ बनाउने हाम्रो लक्ष्य हो। यसका लागि सुशासनका माध्यमबााट आफ्नो आर्जनको सुरक्षा, अनुकुल सामाजिक वातावरण भय रहित, शान्त र सुरक्षित अवस्था सिर्जना गरिनुपर्छ।
स्वदेशमा प्रविधि विकासको अभावमा रोजगारीका अवसर नपाएर विदेशिनु परेको अवस्थाबाटै भने पनि हामीले फाइदा उठाउन सक्नु परेको छ। विभिन्न कारणले विदेशिएका नेपालीहरुले पहिले देखि नै नेपालमा नयाँ कुरा भित्र्याउने गरेका छन्। सबै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले देशमा भित्र्याएको प्रविधि, क्षमता, कौशल, सीप, जागर र उद्यमशीलतलाई देशमा आर्थिक क्रान्ति ल्याउन उपयोग गरिनुपर्छ।
वैदेशिक रोजगारीबाट देशमा भित्रिने रकम तथा अन्य पूँजी संकलन गराई सहकारीताको विकास गराउन भरपर्दा सहकारी संस्थाहरुको निर्माण गर्न आवश्यक कानून निर्माण लगायतको व्यवस्था गरिनेछ।
वैदेशिक नीति
आजको अन्तर्राष्ट्रिय सम्वन्ध र विश्व राजनीति अत्यन्त जटील, संवेदनशील र तरल अवस्थामा छ। शीतयुद्धको समाप्तीसंगै एकतन्त्रीय र अधिनायकवादी साम्यवादी शासन पद्धतिको पतन भएको छ। विश्वमा अप्रत्याशित, आमूल र दूरगामी परिवर्तक भइरहेका छन्। परिवर्तनको यस प्रक्रियामा पँजी, प्रविधि, श्रमशक्ति अन्तरसम्बन्ध नयाँ विश्व व्यवस्थाका निर्णायक कारक तत्वका रुपमा देखा परेका छन्। साथै गैरराज्य शक्तिको उदयले अस्वस्थता, अशान्ति, उद्धण्डताको बीउ रोपेको छ। आतंकवादले जरा फैलाउदै छ। साम्प्रदायिकता, धर्मान्धता, संकीर्ण राष्ट्रवाद तथा हिंसात्मक गतिविधिले विखण्डनशील प्रवृत्तिलाई बढावा दिई रहेका छन्।
एकातिर विश्वमा सैद्धान्तिक द्वन्द्व शीथिल हुँदैछन् भने विश्वको राजनीतिमा सांस्कृतिक द्वन्द्वले अति खतरनाक रुप लिइरहेका छन्। विश्वमा अनेक घातक घटना घटित हुँदैछन्। नेपाललाई यस्तो प्रवृत्तिबाट बचाउनु जरुरी छ।
हाम्रा दुई छिमेकी विशाल मुलुक भारत र चीन एक्काइसौ शताव्दीकै महत्वपूर्ण र शक्तिशाली राष्ट्रका रुपमा उदय भएको सन्दर्भमा नेपालको महत्व वढेको छ। नेपालको भौगोलिक अवस्थिति महाशक्ति राष्ट्रहरुको विदेश नीतिमा महत्वपूर्ण स्थान ओग्टन पुगेको छ। यस पृष्ठभूमिमा नेपालले दुई निकट छिमेकी मित्रराष्ट्रहरुसंग धरातलीय भौगोलिक यथार्थतालाई केन्द्र विन्दुमा राखेर आपसी सद्भाव, विश्वास, सहयोग, समर्थन र सहकार्यको वातावरणलाई प्रगाढ वनाउदै परिवर्तित सन्दर्भमा विद्यमान र उदीयमान विषयहरुलाई पुनः परिभाषित या पुनअभिमुखीकरण गरी समायनुकुल गतिशिलता प्रदान गर्नु आवश्यक छ। छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसंग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्वन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहनुपर्छ भन्ने नेपाली कांग्रेसको नीति रहनेछ। विश्व शान्ति, स्थिरता, समृद्धि नेपाली कांग्रेसको परराष्ट्र नीतिको महत्वपूर्ण आयाम रहनेछ।
नेपालले आफ्नो विकासका लागि प्राप्त गर्दै आएका आर्थिक सहायता हाम्रो परराष्ट्र नीतिको सफलताको द्योतक हो। शान्ति सेनामा नेपालको सहभागीताले संयुक्त राष्ट्र संघ र विश्व समुदायमा नेपालको भूमिका र महत्व बढेको छ।
नेपाली जनताको संघर्ष र वलिदानपछि जनप्रतिनिधिद्वारा निर्मित संविधानको संविधानसभा मार्फत घोषणा गरेको ऐतिहासिक क्षण पछि तराई–मधेस र सीमावर्ती क्षेत्रमा देखा परेका असन्तोष र अघोषित नाकाबन्दीले मुलुकमा मानवीय संकट समेत पैदा गुर्न पुग्यो। यसले हामीलाई एकपल्ट फेरि झस्काएको छ। भूकम्प पछिको राष्ट्रिय पुनर्निर्माणमा मित्र राष्ट्र भारत लगायतका मित्रहरुबाट प्राप्त भएको महत्वपूर्ण सहयोग नेपाली कांग्रेसको विदेश नीतिको सफलताको परिचायक हो। र यस घडीमा राष्ट्रिय एकता, सह–कार्य, सहमती र मेलमिलापमा आधारित राष्ट्रिय शक्तिको निर्माण गर्न आवश्यक छ। राष्ट्रिय एकता र मेलमिलापबाट नै विधिन्न मतालम्वीहरुलाई संयोजन गर्न सकिने र देश विकासको लागि राष्ट्रिय शक्तिको जगमा शान्तिपूर्ण सह–अस्थित्वका सिद्धान्तहरुलाई केन्द्र विन्दुमा राखेर नेपाली कांग्रेसले निकटतम विशाल छिमेकीहरु भारत र चीनका साथै विश्व समुदायसँग परराष्ट्र नीति सञ्चालन गर्नेछ।
संगठन सुदृढीकरण कार्यक्रम
बाह्रौं महाधिवेशनले पार्टी भित्रका सम्पूर्ण निर्णय प्रकृया र नेतृत्वको कार्यशैलीलाई सहभागितामुलक र पारदर्शी वनाउने कुरालाई दायित्वका रुपमा लिई पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउन विषयकेन्द्रीत छलफल, सामूहिक र संस्थागत निर्णय प्रक्रिया, केन्द्रीय नेतृत्व तहमा जिम्वेवारीको वाँडफाँड, पार्टी संरचनामा समावेशी र महिला तथा युवा नेतृत्व विकासमा नयाँ अवसरको सुनिश्चिततालाई लक्ष्य गरेर अगाडि वढेकोमा महाधिवेशनबाट उपसभापतिको नेतृत्वमा गठित केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान जस्ता संरचनालाई सक्रिय गराएर पार्टीका नेता तथा कार्यकर्ता प्रशिक्षण लगायतका कार्यहरु गर्दै पार्टीलाई पुनर्जीवित गर्न सफल भएको छ।
पार्टीको सँगठन विस्तार :
हामीले राम्ररी बुझ्नु पर्छ हाम्रो पार्टीको सँगठनको आधार जनसेवा हो। जनतालाई न्याय र समानता अनि स्वतन्त्रता दिने हाम्रो नीति र सिद्धान्त हो। हाम्रो सँगठनको ढाँचा संघीय ढाँचा अनुरुप संघ, प्रदेश, जिल्ला र गाउँनगर र वडावडा र टोलटोलसम्म फैलिएको छ। हाम्रो सेवा, नीति र सिद्धान्त प्रत्येक वस्तीवस्तीसम्म मात्र होइन समाजका प्रत्येक व्यक्तिका तहसम्म पुग्नपर्छ।
त्यसैले हामी व्यक्ति व्यक्तिका सम्पर्कमा व्यक्ति व्यक्तिका चाहनामा र आवश्यकतामा जोडिन पुग्न पर्छ। हामी जसले हिजोका दिनमा जनतासँग सम्पर्कमा रहेर जनताका बिकासका काम गर्दथ्यौं, आ–आफ्ना क्षेत्रमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता पूर्वाधार निर्माणमा सरिक रहयौं। अब त्यसले पुग्दैन, अब हामीले जनताका आय वृद्धि गराउने कुरामा रोजगारी सृजना गर्ने कुरामा र खासगरी उत्पादनको क्षेत्रमा समेत अगुवाई गर्नुपर्छ।
त्यसरी नै सामाजिक, गैरसरकारी, सहकारी संस्थाहरू र वन उपभोक्ता लगायत विभिन्न उपभोक्ता समितिहरू र उत्पादन मूलक संस्थाहरूमा समेत हाम्रो सक्रियता बढ्नु पर्छ जसले गर्दा आफ्नो र समाजको आर्थिक स्थिति सुधि्रयोस् र समाजमा सम्पनता बढोस्। साथै यस्ता जनसेवा र रचनात्मक कामबाट हाम्रो संगठन देशका कुना कुनामा र जनताका घरघरमा एवं मनमनमा फैलिन सकोस्।
नेपाली कांग्रेसका प्रत्येक सदस्यले जनताको स्वार्थसँग आफूलाई गाँसेर देश भक्तिको भावना अगाली कुनै रचनात्भक र उपकारी कार्यमा सदसंलग्न रहनु पर्छ। जनसम्पर्क नै सबैभन्दा ठूलो आधार हो। जो कोहीसँग पनि सहनुभूतीशील व्यवहार जसले गर्न सक्छ समाजमा त्यही व्यक्ति लोकप्रिय हुन्छ। पार्टीको सिद्धान्त र नीति त्यतिखेर मात्र जनताले रुचाउँछन् जब त्यस सदस्यले जनता र समाजलाई केही न केही योगदान दिएर गुण लगाईरहेका हुन्छन्। यदि त्यो समाजको भलो हुने कुनै विकास निर्माण वा रचनात्मक कार्य होस् सुखदुःख वा समस्यामा परेका व्यक्तिहरुको उपकार हुने कुनै कार्य होस् वा अन्यायमा परेकाको पक्षमा आवाज उठाउने होस्। राजनीति व्यक्ति सदैव जनताका साथमा रहनुपर्छ।
• मुल्याङ्कन परिपाटी :
ज्ञ। नेपाली कांग्रेसको सिद्धान्त आदर्श, नीति, नियम र कार्यक्रम अगाल्न चाहने उमेर पुगेका नेपाली नागरिकलाई पार्टीको साधारण सदस्यता दिने।
द्द। पार्टीका साधारण सदस्यमध्ये जसले समाजमा रहेर पार्टीको प्रभाव बढ्ने गरी कुनै रचनात्मक कार्य, समाजसेवा, संस्थाहरुको निर्माण निर्वाचनहरुमा सक्रियता र पार्टीका कार्यक्रमहरुमा निरन्तर संलग्न रही पार्टीको निरन्तर संलग्न रही व्यक्तित्व बनाएका व्यक्तिहरुलाई पार्टीको क्रियाशील सदस्यता दिन गाउँसमितिले क्षेत्रमा सिफारिस गर्ने।
घ। त्यस्तो सिफारिस गर्न गाउँ/वडा समितिका बैठक महिना–महिनामा बस्ने पार्टीका अन्य क्रियाकलापका लागि पनि बस्ने गरेका बैठकहरुले समेत सदस्यताको सिफारिस गर्न सक्छन्।
द्ध। पार्टीले आब्हान गरेका आन्दोलन र संघर्षका कार्यक्रममा जेलनेल भोगेका दुःखकष्ट र यातना सहेका वा कुनै राम्रो सामाजिक काम गरेर पार्टी संगठन विस्तार हुने र पार्टीको प्रभाव बढ्ने जस्ता कुनै पनि कार्यमा निरन्तर संलग्न रहने व्यक्तिको सूची तयार गरी पार्टी निकायमा राख्ने र उपल्लो निकायमा पठाउने। त्यस्ता सूचीलाई निरन्तर अध्यावधिक गर्ने। त्यही सूची अनुसार क्रियाशिल फारम भरी सदस्यता दिने।
छ। पार्टीमा वा समाजमा सेवा गरेर मात्र पुग्दैन। कार्यकर्ताको व्यक्तिगत व्यवहार र आचरण पनि सबैका लागि अनुकरणीय हुनुपर्छ ।
ट। त्यसैले पार्टीले ५ वर्षको पार्टी सुदृढीकरण रणनीति तयार गरी वार्षिक कार्य योजनाहरु निर्माण गरी लागु गर्नेछ। त्यसैको आधारमा पार्टीका पदाधिकारी र कार्यकर्ताको वैज्ञानिक विधिद्धारा मूल्यांकन गरिनेछ।
संगठन सुदृढिकरण योजना
• युद्ध स्तरमा महिलाको नेतृत्व विकास योजना सञ्चालन गरी अधिक से अधिक महिला कार्यकर्ता उत्पादन गर्ने।
• सबै गाउँ नगर/वडाहरुमा व्यापक रुपले महिला लक्षित प्रशिक्षण चलाई देशैभर जागरण ल्याउने।
• दलित वर्ग लक्षित अन्तर्क्रिया प्रशिक्षण कार्यक्रम सञ्चालन गराई दलित वर्गमा विद्यमान संकोच मान्ने प्रवृत्ति समेतको अन्त गर्दै कला र सीपको महत्ववोध तथा नेतृत्व विकासमा जोड दिने।
• जनजातीका सांस्कृतिक विशेषता र उद्यमशीलतालाई उजागर गर्ने खालका कार्यक्रम सञ्चालन गराई विशेषतः उच्च पहाडी र हिमाली भूभागको भौगोलिक विशेषतालाई समेत मध्यनजर गर्दै कृषि र पर्यटनसित सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने।
• पार्टीका युवा कार्यकर्तालाई रचनात्मक कार्यमा प्रवृत गराई सिर्जनशील, अनुशासित र आदर्शवान कार्यकर्ता पैदा गर्ने।
• भू.पू. सैनिक संघ, किसान संघ र श्रमिक संघमा आबद्ध कार्यकर्ताका लागि छुट्टाछुट्टै तालिम कार्यक्रम सञ्चालन गराउने।
• पार्टीमा कार्यकर्ताको मुहान युवा विद्यार्थीमा सिर्जनात्मक शक्तिको विकास र राजनीतिक चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने।
• पार्टीका तमाम कार्यकर्तालाई प्रजातान्त्रिक समाजवादी आचरण र व्यवहारमा अभ्यस्त गराई सशक्त कार्यकर्ता पंक्ति तयार गर्ने।
• जनसम्पर्क कसरी गर्ने, जनसेवा कसरी गर्ने, पार्टीमा जनाकर्षण कसरी बढाउने, कार्यालय सञ्चालन तथा नियमित बैठक सञ्चालन कसरी गर्ने भन्ने जस्ता व्यवहारिक विषयका कार्यशाला गोष्ठी सञ्चालन गर्ने।
यसरी नेपाली कांग्रेसको संगठनलाई गाउँ नगर/वडादेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म हरतरहले प्रतिस्पर्धा योग्य र सक्षम तुल्याउन कडा अनुशासनको प्रबन्ध र मूल्याङ्कन परिपाटीलाई सशक्त बनाई पार्टीको संस्थागत विकास गरिनेछ।
नेपाली काँग्रेसको १३औं महाधिवेशनमा
प्रस्तुत हुने
नीति तथा कार्यक्रम
आन्तरिक छलफलका लागि
प्रस्तावित मस्यौदा
नेपाली कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान
वी.पी. स्मृति भवन, वी.पी. नगर
ललितपुर
माघ २२, २०७२
नेपाली कांग्रेस तेह्रौ महाधिवेशन
(२०७२ फागुन २०–२३)
मुख्य राजनीतिक प्रस्ताव
बाह्रौं महाधिवेशन सम्पन्न भएको साढेपाँच वर्ष पछि हामी तेह्रौं महाधिवेशनमा आईपुगेका छौं।
यस ऐतिहासिक अवसरमा पार्टीभित्र विभिन्न तहमा भएका लोकतान्त्रिक अभ्यासहरु पारगर्दै पार्टीको नीति, नेतृत्व र संगठनलाई नयाँ दृष्टि, दिशा र उर्जा प्रदान गर्ने उद्देश्यले उत्साहका साथ महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएर आउनु भएका सम्पूर्ण साथीहरुलाई सर्वप्रथम वधाई ज्ञापन र अभिवादन गर्दछौं।
नागरिक स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको पुनःस्थापना एवं संरक्षण र सम्बर्द्धनका लागि आफूलाई उत्सर्ग गर्ने वीर शहिदहरु र लोकतान्त्रिक आन्दोलनको धरोहरको रुपमा रहेका महान् अग्रज नेताहरुप्रति हृदय देखिनै यस पुनीत अवसरमा श्रद्धा र सम्मान व्यक्त गर्दछौं।
नेपाली काँग्रेसको यस महाधिवेशनलाई मुलुकमा विद्यमान अन्य राजनीतिक शक्तिहरु र आम नागरिकहरुले समेत गम्भीरतापूर्वक हेरिरहेका छन्। त्यस्तै नेपालको राजनीतिक घटना र नेपालबारे अभिरुचि राख्ने अन्तर्राष्ट्रिय समुदाय, संघसंस्थाहरु र मित्रहरुले समेत अत्यन्तै उत्सुकताका साथ यो महाधिवेशनको अवलोकन गरिरहेका छन्।
आफ्नो जन्मकालदेखि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसले आफ्ना नीति, नेतृत्व र संगठनलाई समय सापेक्षरुपमा रूपान्तरण गर्न सक्छ कि सक्दैन सबैको चासो र उत्सुकताको विषय भएको छ। नेपाली काँग्रेसले अबलम्बन गर्ने नीति, कार्यदिशा र चयन गर्ने नेतृत्व सिधै मुलुकको शान्ति, स्थिरता, सम्बृद्धि एवं लोकतन्त्रको संस्थागत विकास र खासगरी नयाँ संविधानले निर्देष्ट गरेको परिवर्तनलाई व्यवस्थित गर्ने कार्यसँग जोडिने भएकोले सबैमा यस्तो उत्सुकता र चासो सिर्जना भएको हो।
वर्तमान राजनीतिक परिवेश र नेपाली काँग्रेस
साढेपाँच वर्ष अगाडि बाह्रौं महाधिवेशन सम्पन्न गर्दाको राजनीतिक परिवेशभन्दा वर्तमानको परिवेश भिन्न रहको छ। सामना गर्नुपर्ने चुनौती, राजनीतिक अवस्था र अवसहरु पनि भिन्न प्रकृतिका रहेका छन्। संविधान मार्फत समावेशिता, संघीयता र लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान आएको छ। यसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा समेत नयाँ व्यवस्था र परिवर्तनको सूत्रपात गरेको छ।
यो परिवर्तन नेपाली कांग्रेसले ००७ साल अघि देखिनै शुरु गरेको सामन्ती व्यवस्था र हुकुमी शासन विरुद्ध मजदुर आन्दोलन, किसान आन्दोलन, सामाजिक आन्दोलन, महिला शिक्षा र जागरण आन्दोलनको सन्दर्भसँग जोडिन पुगेको छ। वर्तमानमा नेपाली काँग्रेस नवीन अवसर, अनुभव र चुनौतीहरुको बीचमा उभिएको छ।
२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेस दोस्रो ठूलो दलको रुपमा रह्यो। ६०१ सदस्य रहेको संविधानसभामा जम्मा ११४ सदस्यमात्र रहेको नेपाली काँग्रेसले अलोकतान्त्रिक संविधान देश र जनतामाथि थोपर्न नदिन निरन्तर क्रियाशील रह्यो र सफल पनि भयो। पहिलो संविधानसभामा वामपन्थी राजनीतिक दलहरु र लोकतन्त्र भन्दा क्षेत्रीयता र जातीयतालाई उराल्ने गर्ने शक्तिहरुकै अपरिपक्वता र अदूरदर्शिताकै कारणले अन्त्य हुन पुगेको कसैबाट छिपेको छैन। २०६७ सालमा नेपाली कांग्रेसको १२औं महाधिवेशन पश्चात् २०७० साल माघ ४ गते भएको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित हुने अवसर प्राप्त भयो। तत्पश्चात् नेपाली कांग्रेसको नेतृत्वमा गठवन्धन सरकार निर्माण भयो र हाम्रै नेतृत्वमा वर्तमान नयाँ संविधान जारी हुन सम्भव भएको हो।
नेपाली काँग्रेसले यस ऐतिहासिक क्षणमा यी नवीन अवसरहरुको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरुको सामना गर्न सक्ने दुरदृष्टि, आँट र संकल्पका साथ भावी कार्यनीति, नेतृत्व चयन र संगठन निर्माणको कार्यदिशा निर्धारण गर्नु पर्ने अवस्था आएको छ।
परिवर्तनको नेतृत्व र नेपाली कांग्रेस
नेपाली काँग्रेसले बदलिँदो वर्तमान परिवेश अनुरुप आफ्ना सांगठनिक संरचना, राजनीतिक चिन्तन, दृष्टिकोण, कार्यशैली, कार्यप्रणाली र प्रवृत्तिगत आचरणहरुमा समेत रूपान्तरण गर्नुपर्ने अवस्थालाई आत्मसात गर्नु पर्नेछ।
नेपालको राजनीतिक एवं संवैधानिक विकासको इतिहासमा नेपाली काँग्रेसले स्थापनाकालदेखी अंगीकार गरेको वहुलवादमा आधारित उदार लोकतान्त्रिक व्यवस्था नै आज सर्वस्वीकृत यर्थाथ भएको छ। हिजो विपरित विचार राख्ने राजनैतिक शक्तिहरु पनि आज वहुदलीय उदार लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गरी यसमै समाहित हुन आएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा आज संघीय गणतान्त्रिक नेपालको लोकतान्त्रिक संविधान घोषणा भएको छ। जनताका प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने सात दशक अगाडि देखिको राष्ट्रिय आकांक्षा पुरा भएको छ। गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र संवैधानिक रुपले नै संस्थागत भएका छन्। स्वतन्त्र न्यायपालिका, संसदीय व्यवस्था एवं मिश्रित निर्वाचन प्रणालीजस्ता संविधानका आधारभूत अन्तरवस्तुहरुलाई यसले अंगिकार गरेको छ। यथार्थमा भन्ने हो भने संविधानसभाबाट नेपालको संविधान निर्माण गर्ने हाम्रा अग्रजहरुको सपना साकार भएको छ। यसले लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणको नयाँ आधारभूमि प्रदान गरेको छ।
यो संविधानले निर्दिष्ट गरेको परिवर्तनको नेतृत्व गर्न नेपाली कांग्रेस स्वयं अग्रसर हुनुपर्दछ। त्यसका लागि नेपाली कांग्रेस स्वयं पनि परिवर्तनलाई पूर्णतः आत्मसत गर्ने गरी परिवर्तित हुन जरुरी छ। आचारण, व्यवहार र कार्यशैलीमा पूर्ण परिवर्तन।
नेपाललाई सामान्ती युगबाट आधुनिक युगमा उतार्न, हुकुमी शासनबाट लोकतन्त्रको युगमा अग्रसर गराउन, एकाधिकारवादी, रुढिग्रस्त र विभेदपूर्ण समाजलाई समातामूलक समाजतर्फ उन्मुख गराउन नेपाली कांग्रेसले आजसम्म गर्दै आएका अथक प्रयासहरुबाट नेपाली समाज र व्यवस्थालाई यहाँसम्म ल्याईपुर्याउन ठूलो भूमिका निर्वाह गरेको छ।
नेपाली कांग्रेसले आफ्नो शुरु जन्मकाल २००३ सालदेखि नै वी.पी., सुवर्ण, गणेशमान, कृष्णप्रसादको नेतृत्वमा शुरु गरेको आधुनिक लोकतान्त्रिक युग र २०१२ सालको वीरगंजमा सम्पन्न छैठौं महाधिवेशन हुदै आठौं, एघारौ र आज तेह्रौ महाधिवेशनसम्म आईपुग्दा आफ्ना नीतिगत र सैद्धान्तिक अवधारणामा अनेकौं आयाम थप्दै र आफ्नो संगठानात्मक स्वरुपमा विभिन्न फेरवदल समेत गर्दै आएको छ।
२०४८ को आम निर्वाचन पछि श्री गिरिजा प्रसाद कोईरालाको नेतृत्वको सरकारले शुरु गरेको समाजिक न्याय सहितको स्वदेशी, विदेशी लगानी प्रोत्साहित गर्ने उदार आर्थिक नीति र दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने सुझबुझ पूर्ण नीतिबाट नेपाली कांग्रेसले राष्ट्रलाई योगदान दिएको छ। र त्यही नीतिलाई आज पुरै राष्ट्रले अंगिकार गरेको छ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसका स्थिर सैद्धान्तिक मान्यताका रुपमा रहदै आएका छन् र यसले समय सापेक्ष नीति, रणनीति र कार्यनीति अंगाल्दै आएको छ। तर नेपाली कांग्रेसले राष्ट्रलाई अस्थिर र समाजलाई अस्तव्यस्त गराउने जोखिमपूर्ण नीति कहिल्यै अख्तियार गरेन।
शुरुमा अध्यक्षात्मक रुपमा रहदै आएको नेपाली कांग्रेसको संगठनात्मक संरचना क्रमशः केन्द्रीय सदस्य र पदाधिकारीहरुको निर्वाचन गर्ने व्यवस्था गर्दै सामूहिक नेतृत्वतर्फ लम्किरहेको छ। आफ्नै कार्यसञ्चालनमा अनुभुत भएका अपठ्यारा र सजिला अनुभवको आधार तथा अन्य मुलुकका लोकतान्त्रिक पार्टीहरुको अनुभव समेतका आधारमा यो स्वरुपमा फेरवदल हुदै रहन सक्छ।
आफ्नो संगठनको शुरुकालदेखि नै नेपाली समाजका विभिन्न जाती, वर्ग, समुदाय र सम्प्रदायको सहभागिता रहेको नेपाली कांग्रेसको समावेशी संगठन वार्हौं महाधिवेशनसम्म आईपुग्दा बढीभन्दा बढी संस्थागत र विधिसम्मत रुपलेनै समावेशी स्वरुप ग्रहण गर्दै आएको छ। पार्टीको विधानमा नै व्यवस्था गरी गाउँदेखी केन्द्रीय तहसम्म, महिला, दलित, मधेसी, आदीवासी जनजाती, थारु, मुस्लिम, अपाङ्ग तथा समाजमा पिछडिएका वर्गहरुको प्रतिनिधित्वको सुनिश्चितता गरेको छ।
संविधानको कार्यान्वयन
संविधान निर्माण पश्चात् अबको मुख्य चुनौती भनेको यसको कार्यान्वयन पक्ष हो। यो कठिन र चुनौतीपूर्ण कार्यमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित सोचको आवश्यकता छ। कुनै पनि देशमा संविधान मूल कानूनको रुपमा रहेको हुन्छ र सूत्रवद्ध हुन्छ। त्यसलाई क्रियाशील तुल्याउन र कार्यान्वयन गर्नका लागि संविधानको मर्म अनुरुप ऐन, नियम एवं नीतिहरु निर्माण गर्नुपर्ने हुन्छ। संविधानमा कतिपय यस्ता अवधारणाहरु समावेश गरिएका छन्, जसलाई प्रष्ट परिभाषा र व्याख्या गरी कार्यान्वयन गर्नुपर्ने अवस्था छ। वर्तमान राष्ट्रिय राजनीतिको शक्ति संरचनालाई हेर्दा नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक समाजवादको दर्शनले ओतप्रोत पार्टीले यसको कार्यान्वयनको नेतृत्व लिन अलिकति पनि उदासीन रहँदा संविधानमा उल्लेख गरिएका लोकतान्त्रिक धाराहरुको अपव्याख्या हुने र मुलुकलाई अलोकतान्त्रिक दिशातिर धकेल्ने प्रयास नहोलान् भन्न सकिँदैन। यसको मर्म अनुरुप यो संविधानलाई कार्यान्वयन गर्न सकेमा लोकतान्त्रिक समाजवादी मान्यताका आधारमा नेपाली समाजलाई रुपान्तरण गर्न सक्ने यथेष्ट सम्भावना रहेको छ। यथार्थमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माण गर्न यो संविधान महत्वपूर्ण आधार बन्न सक्दछ। नेपाली काँग्रेसले यस अवसरमा संविधान कार्यान्वयनको लागि दृढता र संकल्प प्रदर्शित गर्न चाहन्छ।
लामो समयदेखिको केन्द्रीकृत सोच र एकात्मक राज्यप्रणालीबाट नेपालका सबै जातजाती, भाषाभाषी, धर्म, वर्ण, लिङ्ग, क्षेत्र र वर्गका नागरिकहरुको राज्यका स्रोत, साधन, अवसर र सत्तामा समान पहुँच हुन नसकेको कारणले नै हामी संघीय संरचनामा प्रवेश गरेका छौं। यो संविधानले संघीयतालाई संस्थागत गरिसकेको छ। यसलाई व्यवहारमा उतार्ने र व्यवस्थित गर्ने चुनौतीहरु अझै हाम्रो सामु छन्। नेपाली काँग्रेस संघीयतासम्बन्धी सीमाङ्कन, नामाङ्कन, प्रशासनिक व्यवस्थापनदेखि स्रोत साधनको पहिचान, परिचालन र उपयोग सम्बन्धी ऐन, नियम र नीति निर्माण लगायतका बाँकी महत्वपूर्ण विषयहरुको टुंगो लगाउने प्रतिवद्धता व्यक्त गर्दछ। संविधानका यस्तै महत्वपूर्ण जटिल प्रावधानहरुको कार्यान्वयन नेपाली काँग्रेसको नेतृत्व बिना सम्भव देखिदैन। सत्तामा रहेपनि नरहेपनि यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्न नेपाली काँग्रेस कृतसंकल्पित रहेको छ।
पीडित जनताप्रतिको दायित्व
एकातिर संविधान कार्यान्वयनको यस किसिमको चुनौती रहेको छ भने अर्कोतिर वैशाख १२ को विनाशकारी महाभूकम्पले सिर्जना गरेको विपत्तिपूर्ण परिस्थितिबाट लाखौं नेपालीहरुले अहिले पनि मुक्ति पाउन सकेका छैनन्। भूकम्प पीडितहरुका लागि खाना, नाना र छानाको व्यवस्थापनको लागि नेपाली काँग्रेसको नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय दातृ सम्मेलन गर्यो। दातृ निकायहरुबाट आर्थिक र भौतिक सेवा प्रदान गर्ने प्रतिवद्धताको निर्माण गर्यो। त्यसको लागि पुनः निर्माण प्राधिकरणको गठन गरी पुनः निर्माणको कार्यलाई तत्काल अगाडि बढाउने विस्तृत कार्ययोजना समेत अगाडि ल्याइसकेको थियो। तर संविधान घोषणा भए लगत्तै एमाले लगायतका राजनीतिक दलहरु सत्ताकेन्द्रित राजनीतिमा धु्रवीकृत र क्रियाशील रहे। नेपाली कांग्रेसले तराई–मधेस सवाललाई दृष्टिगत गर्दै राष्ट्रिय एकताको प्रश्नलाई गम्भीर रुपमा लिदै पुरानो गठबन्धनमा टाँसिइ रहनु दुरदर्शिता नरहने ठहर गर्यो। र, लोकतान्त्रिक मान्यता अनुरुप प्रतिस्पर्धा गरी प्रतिपक्षमा रहन तयार भयो। यता नयाँ संविधानको घोषणासँगै सुरुवात भएको मधेस आन्दोलन र अघोषित भारतीय नाकाबन्दीले नेपाली जनताको जीवन अरु भयावह र कष्टकर तुल्याएको छ। महंगी र कालो बजारीबाट नेपाली जनता आक्रान्त छन्। भ्रष्टाचार संस्थागत बन्दै गएको छ। तस्करहरु मौलाइरहेका छन्। तर वर्तमान सरकार यी दुवै समस्याको समाधानमा गम्भीर देखिएको छैन। सरकार गठन भएको चार महिना भइसक्दा पनि आधादर्जनभन्दा बढी उपप्रधानमन्त्री बनाउने र मन्त्री माथि मन्त्री थप्न मन्त्रालय फुटाइ प्रशासनिक संयन्त्रसमेत अस्तव्यस्त पार्ने खेलमा सरकार लिप्त देखिन्छ।
यस्तो भयावह कष्टकर बन्दैगएको नेपाली जनजीवनलाई मुक्ति दिने र पुनःस्थापित गर्ने जिम्मेवारी महसुश गर्दै मधेसी मोर्चासँग वार्ता र संविधान संशोधनका माध्यमबाट स्थितिमा सहजता र सुधार ल्याउन नेपाली कांग्रेस कृयाशील रह्यो र तराई–मधेसको भावना समेत समेटी संविधानको पहिलो संशोधन नेपाली कांग्रैसकै पहल कदमीमा सम्पन्न समेत भइसकेको छ।
त्यसरी नै संविधानको यथार्थ जनतामा बोध गराउन प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम सहित अभियान लिएर देशैभरी हामी जनतामा गयौं। आज नेपालमा जुन संविधान जारी भएको छ, त्यसले अँगाल्दै आएको बहुलवादमा आधारित संसदीय लोकतन्त्र र समावेशीतामा आधारित प्रजातान्त्रिक समाजवादलाई सर्वस्वीकार्य बनाएर संस्थागत एवं चरितार्थ गर्ने संकल्प नेपाली कांग्रेसले बोकेको छ। यसमा नेपाली कांग्रेसका तमाम कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले गर्व गर्नुपर्छ। र अब आज देखा परेका चुनौती र यो संविधानले निर्दिष्ट गरेको परिवर्तन अनुरुप नीति र कार्यक्रम लिएर कांग्रेस अघि बढ्नेछ।
हाम्रो प्रतिबद्धता
नयाँ संविधानले ल्याएको परिवर्तन ग्रहण गरौं।
परिवर्तनलाई व्यवहारमा उतार्न कार्यान्वयको नेतृत्व गरौं।।
• अब हाम्रो पार्टी नेपाली कांग्रेसले नेपाली समाज र नेपाल राष्ट्रलाई लोकतान्त्रिकरण गर्ने दिशामा समग्र शक्ति लगाउनेछ।
• नेपाली समाजमा दिगो शान्ति हासिल गर्न प्रयत्नशील रहनेछ।
• नेपाली कांग्रेस आफै आन्तरिक लोकतन्त्रलाई चरितार्थ गर्न कटिबद्ध रहनेछ।
• नेपाली कांग्रेसको संगठनात्मक संरचना संघीयताको ढाँचामा रुपान्तरित हुनेछ।
• नेपाली कांग्रेसको संगठन, संस्कार, आचरण र चरित्र समावेशी सिद्धान्तमा आधारित रहनेछ।
• नेपाली कांग्रेसले प्रतिस्पर्धाको राजनीतिका साथै आरक्षणको आवश्यकतालाई पनि आत्मसात गरेर अघि बढ्नेछ।
• नेपाली कांग्रेसले आर्थिक वृद्धिमा साथै मानवविकास र सामाजिक सुरक्षामा विशेष जोड दिने छ।
• नेपाली कांग्रेस संविधानको कार्यान्वयन र राजनीतिक स्थिरताका साथै अबको मूल राष्ट्रिय संकल्प आर्थिक विकास र समुन्नत नेपाल हो भन्ने ठान्दछ। जसको लागि प्रचुर मात्रमा लगानी निवेसका साथै आर्थिक अनुशासन, परिश्रम र उद्यमशीलताका प्रबन्धन गर्नेछ।
• अहिलेसम्म आ–आफ्ना गाउँघरमा बाटो विजुली पानी, शिक्षा, स्वास्थ्य, सञ्चार आदि पूर्वाधार निर्माणमा लागेका हाम्रा कार्यकर्ता अबदेखि जनताको आम्दानी र रोजगार वृद्धि हुने व्यवसायहरु स्थापना गराउने उत्पानदनशील कार्यमा पनि सक्रिय रहने छन्।
• नेपाली कांग्रेस समाजका निर्धानिमुखालाई न्याय र विपन्न जनतालाई आय दिलाउने दिशामा आफ्नो संगठन शक्तिको उपयोग गरेर अघि बढ्नेछ।
• नेपाली कांग्रेस श्रमको सम्मान गर्ने संस्कृतिलाई जगेर्ना गर्न कटिबद्ध रहनेछ।
• नेपाली कांग्रेस गाउँघरमा आधुनिक सुखसुविधा र आयमूलक व्यवसाय सञ्चालन गराई पहिले गाउँबाट शहर तर्फ पलायन भईरहेको जनशक्तिलाई गाउँमै फर्काउने र त्यसपछि देशबाटै पलायन भईरहेको श्रम शक्ति र प्रतिभालाई स्वदेश मै फर्कने र बस्ने स्थितिको सृजना गर्न अग्रसर रहनेछ।
• नेपाली कांग्रेसका सबै कार्यकर्ता कुनै न कुनै रचनात्मक कार्य, समाज सुधार र समाजसेवामा समर्पित भई नदी नियन्त्रण, बन संरक्षण, सहकारिताको बिकास, सांस्कृतिक घरोहर संरक्षण, वातावरण र पर्यावरण संरक्षण तथा पर्यटन प्रवर्द्धन हुने खालका विविध कार्यहरुमा सरिक रहेनछन्।
• नेपाली कांग्रेस दण्डहीनताको अन्त्य, निष्पक्ष प्रशासन र समाजमा निर्भयताको वातावरण कायम गर्न प्रयत्नशील रहनेछ।
• त्यस्तै वर्तमानमा व्याप्त भ्रष्टाचारको अन्त्य गरी सुशासन स्थापित गर्ने दायित्वकाप्रति पनि नेपाली काँग्रेस अत्यन्तै संवेदनशील रहनेछ।
नेपाली कांग्रेस नेपालको सन्दर्भमा संयुक्त राष्ट्रसंघका विभिन्न अवसरका घोषणाहरूलाई समेत मनन गर्दै विभिन्न कारणले पछाडि पारेका जनजाती, दुर्गमवासी र ऐतिहासिक रूपमा उपेक्षित क्षेत्र र वर्गका जनतालाई प्रदान गरेका अधिकारको प्रत्याभूति गराउँदै जाति, धर्म, भाषा र संस्कृतिको पहिचान प्रकट गराउने र उन्नतिका लागि सामर्थ्य राख्ने गरी संघीयताको अवधारणालाई साकार रुप दिन कटिबद्ध रहेनछ।
सामाजिक नीति तथा कार्यक्रम
नेपाली काँग्रेसको सामाजिक दृष्टिकोण
नेपाली समाज विविधतापूर्ण छ। यहाँ १२५ जातजाती, १२३ भाषाहरु, १० किसिमका धर्महरु मान्ने मानिसहरुको बसोबास रहेको छ। यस कुरालाई ध्यानमा राखी बाह्रौ महाधिवेशनमा भाषा, संस्कृति, परम्परा, प्राकृतिक श्रोत साधन र उत्पादन क्षमताको धनी तराई/मधेसका जनतामा रहँदै आएको आर्थिक र सामजिक असमानतालाई समावेशी पहुँच र प्रतिनिधित्व तथा त्यहाँ रहेको कमजोर पूर्वाधारमा व्यापक बिकास गरेर अगाडि बढ्ने प्रतिवद्धता सहितका कार्यक्रमहरु अगाडि ल्याइसकेको छ।
• आधुनिक र सभ्य सामाजिक मूल्य र मान्यताको स्थापनाः नेपाली काँग्रेसले बाह्रौ महाधिवेशनदेखि आफ्नै पार्टीभित्र नेतादेखि कार्यकर्तासम्म सुदृढ अनुशासन कायम गर्ने नीतिको सुरुवात गर्दै लोकतान्त्रिक संस्कार, जनसेवाको भावना, सादगीपूर्ण जीवन र नैतिक मूल्य पद्धति प्रोत्साहित गर्ने गरी आफ्ना सदस्यहरुको आचरण एवं व्यहारलाई निर्देशित गर्न पार्टीले आचार संहिता निर्माण गरी कार्यान्वयन गराउने प्रतिवद्धता जाहेर गरेको छ। यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नेपाली समाजमा विद्यमान परम्परागत रुढीवादी र विभेदपूर्ण मूल्य मान्यताको अन्य र त्यसलाई आधुनिक सभ्य मूल्य र मान्यतामा रुपान्तरण गर्ने नीतितर्फ पनि नेपाली काँग्रेसले ध्यान दिने छ।
• नागरिक स्वतन्त्रता, अधिकार र स्वामित्व, सामाजिक जवाफदेहिता र उत्तरदायित्वको विकासः पार्टीभित्र र राज्यका विभिन्न संयन्त्रहरुमा नागरिकहरुको स्वतन्त्रताको सुनिश्चितता गर्दै विभिन्न किसिमका राजनीतिक प्रशिक्षणका कार्यक्रमहरु र अन्य जागरण कार्यक्रमहरुबाट हरेक नागरिकहरुलाई आफ्नो अधिकार र स्वामित्व वोध गराउँदै नैतिकवान र जिम्मेवार उत्तरदायी र जवाफदेही नागरिक तयार गर्ने नीति नेपाली काँग्रेसले लिएको छ। यो नीतिको कार्यान्वयन नेपाली काँग्रेस पार्टीबाटै गरिनेछ।
• सिमान्तीकृत वर्गको सुरक्षा र आयोगहरु : बाह्ौं महाधिवेसनले नै महिला विरुद्ध हुने यौन शोषण, घरेलु हिंसामा दोषि देखिएका कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्थाको घोषणा गर्दै यसलाई सामाजिक आन्दोलनकै रुपमा लैजान काँग्रेसले नै नेतृत्व लिने संकल्प व्यक्त गरेको छ।
हाल महिला, दलित, मधेशी, जनजाति, अल्पसंख्यक र बहिष्करणमा परेका वा पछाडि पारिएका अन्य समूह वा वर्गको उत्थानको लागि छुट्टाछुट्टै आयोग वनाउनु र ति सवै आयोगलाई संवैधानिक हैसियत दिनुको पछाडि नेपाली काँग्रेसको नेतृत्वको सरकारले गरेको अथक प्रयासका पृष्ठभुमिमा नेपालको नयँा संविधान ल्याउन सकिनु नै हो। अव वनेका आयोग मार्फत कसरी ती वर्ग र समुदायको हितमा ज्यादा ध्यान लगाउन सकिन्छ भन्नेमा नेपाली काँग्रेस लागिपर्नेछ।
• सशक्तिकरण तथा समावेशीकरणः नेपालमा अहिले उचित व्यवस्थापन नभएका वादी, मुक्त कमलरी, मुक्त कमैया, चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित आवास तथा रोजागरीका कार्यक्रमहरु गरिनेछ। यी कार्यक्रमहरु सम्पन्न गर्दा चेपाङ, राउटे र गन्धर्व जस्ता समुदायको परम्परागत अनुभव र मौलिक पहिचानलाई पनि आवश्यकता र औचित्य अनुसार ध्यानमा राखिने छ।
• आधुनिकीकरण र विश्वव्यापीकरणका आधारभूत मान्यताहरुको अवलम्बनः नेपाली काँग्रेसले आधुनिकीकरण र सामाजिक रूपान्तरण गर्दा विश्वव्यापी रूपमा चलिरहेका मूल्य मान्यताहरुलाई अबलम्बन गर्ने नीति लिनेछ। यस प्रक्रियालाई आत्मसात गर्दा नेपाली समाजका आधारभूत मूल्य र मान्यतालाई पनि विशेष ध्यान दिइनेछ।
• सामाजिक सुरक्षाको व्यवस्थाः शारीरिक श्रम गरी आयमूलक कार्यमा संलग्न हुन नसक्ने जेष्ठ नागरिक, वृद्ध एकल महिला, लोपोन्मुख जातजाति, अपाङ्गता भएका व्यक्ति, दलित, अल्पसंख्यक, असहाय, अशक्त समुदाय, व्यक्ति, महिला, बालबालिकाहरुलाई सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने नीति नेपाली काँग्रेसले लिनेछ। वर्तमानमा दिइदै आएका सामाजिक सुरक्षाका प्रावधानमा परिष्कृत गर्ने।
दलितका सवाल
दलितका सन्दर्भमा पनि छुवाछुतको व्यवहार गर्ने कुनै व्यक्ति नेपाली काँग्रेसको क्रियाशिल सदस्य वन्न र रहन नसक्ने वैधानिक व्यवस्था गरेको छ। प्रत्येक जेष्ठ १० गतेका दिन आफ्ना जिल्ला र केन्द्रिय कार्यालयको संयेाजनमा छुवाछुत र विभेद विरुद्ध सचेतना कार्यक्रम संचालन गरी राष्ट्रिय समता दिवस मनाउने घोषणा गरेको छ। बाह्रौं महाधिवेसन मार्फत आएको “दलितका प्रति छुवाछुत र विभेदः दण्डनीय मानवीय अपराध” भन्ने देशव्यापि अभियान अन्तर्गत रहेर नै काँग्रेसको पहलमा यस अघिको विघटित संसदबाट २०६८ जेष्ठमा जातीय भेदभाव र छुवाछुत (कसुर र सजाँय) ऐन पास गरेर यस्ता कार्यलाई कानूनी रुपले नै दण्डनीय र अपराध घोषित गरेको छ। विगतका सामाजिक आन्दोलन र अभियानहरुलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आएको छ। बदलिँदो विश्व र नेपालको परिवेशलाई ध्यानमा राखी यस कार्यलाई प्रभावकारी र परिणामुखी बनाउने गरी राज्यस्तरबाट नै सामाजिक नीति र कार्यक्रमहरु लागू गर्न कांग्रेस प्रयत्नशील रहनेछ।
महिलाका सम्बन्धमा
नेपाली कांग्रेसकै महिला नेताहरु समेतको पहलमा २०६३ को प्रारम्भ मै पुनःस्थापन संसदले महिलालाई राज्य संयन्त्रमा ३३ प्रतिशत प्रतिनिधित्वको व्यवस्था शुरु गर्ने नीति स्वीकृत गरेको हो। अहिलेको संविधानले त्यसलाई संवैधानिक ढंगले सुनिश्चित गरेको छ। राज्यका हरेक तहमा महिलाहरुको तदनुरुप प्रतिनिधित्व र अवसरमा पहुँच सुनिश्चित गरिएका छन्। संविधानले महिलालाई शिक्षा, रोजगार, पैतृक सम्पत्तिमा हक लगायत विभिन्न क्षेत्रमा पहुँचको विशेष व्यवस्था गरी अग्रस्थानमा पुर्याउने प्रबन्ध गरेको छ। त्यसरी नै नेपाली कांग्रेस संगठन भित्र पनि महिलाको प्रतिनिधित्व र विशेष स्थानको व्यवस्था पार्टी विधानले नै गर्दैछ। नेपाली कांग्रेसले महिलाको नेतृत्व विकासमा विशेष प्रयत्न गर्दै विभिन्न कार्यक्रम सञ्चालन गर्नेछ। महिला हिंसा विरुद्ध ००७ साल अघिदेखिनै अभियान सुशरु गर्दै आएको नेपाली कांग्रेसले अबका दिनहरुमा बढी सक्रिय भएर गाउँघर कुनाकाप्चामा अन्धविश्वास र अन्धपरम्परा र शोषणका प्रथाहरु अन्त गर्दै समानता र न्यायको अधिकार प्रत्याभूत गराउने छ।
तराई मधेसका मुद्दा :
नेपालको तराई मधेस भू–भागका आफ्नो केही विशेषता र समस्याहरु छन्। दक्षिणी छिमेकी भारतसँग जोडिएको क्षेत्र हुनाले नेपालमा लोकतन्त्रको लहर तराईमधेसबाटै पहिले उठेर आएको हो। त्यस मानेमा हामीले मधेसलाई चेतनाको मुहान पनि भन्न सक्छौं। ऐतिहासिक क्रममा २००७ साल आउनु भन्दा अगाडि नेपालको राजपाठमा यस क्षेत्रको पहुँच नगन्य थियो। लोकतन्त्रको आगमन सँगै सबै क्षेत्र र वर्ग समुदायका जनतामा आ–आफ्नो हिस्सा र साझेदारीको भावना विकसित हुँदै आएको छ। यसै सिलसिलामा संघीयता सवाल एक अहम सवाल बनेर आएको छ। यसैलाई संस्थागत गर्न मुलुकलाई संघीय ढाँचामा रुपान्तरण गनुपर्ने आवश्यकता देखिएको हो।
स्वशासन, आत्मसम्मान, पहिचानको तथा भाषा र संस्कृतिको सम्मान र प्रयोगको विषय पनि उठेका छन्। यसलाई राज्यले सही रुपमा सम्बोधन गर्नु पर्दछ। तर मधेसको मुद्दा यतिमा मात्र सीमित छैन। यो त एक राजनीतिक पाटो हो। मधेसका अन्य धेरै आर्थिक, सामाजिक सवालहरु छन्, जसलाई समुचित सम्बोधन गरेर यहाँका आम जनताको जनजीवनमा सुधार र प्रगति ल्याउनु पर्नेछ।
कृषिक्रान्तिको सवाल, कृषिको क्षेत्रमा गुणात्मक सुधार ल्याउने र किसानको जीवनमा भूमिपुत्रहरुको जीवनमा वास्तविक सुधार र परिवर्तन ल्याई तराईका ग्रामीण वस्तीहरुको व्यापक सुधार कार्यक्रम तत्काल अघि बढाउनु जरुरी छ। यस सन्दर्भमा हुलाकी सडक निर्माण सम्पन्न गर्ने, रेल्वे लाइनहरुको स्थापना गर्ने, ग्रामीण सडकहरुको सुधार गर्ने, उत्तरदक्षिण लिङ्क रोडहरु निर्माण गर्ने र नदी नियन्त्रण अनि वन व्यवस्थापन र पर्यावरण सुधार तराई मधेसका अहमसवाल हुन्।
सुरक्षाको प्रत्याभूति तराई मेधसका जनतालाई सधै सताइ रहने सवाल हो। सीमा क्षेत्र हुनाले पनि यो समस्यालाई राज्यले प्राथमिकता साथ समाधान र स्थायी प्रवन्धको खोजी गरिनुपर्छ।
पहिचान र प्रतिनिधित्वलाई सुरक्षित राख्ने प्रत्याभूति लोकतन्त्रले मात्र दिन सक्छ। तराई मधेस भित्रका विविधतामा एकता पनि लोकतन्त्रले सुनिश्चित गर्छ, त्यहाँ भित्रका अल्पसंख्यक मुसलमान महिला, भूमिहीन दलित, पिछडा वर्ग, अपेक्षाकृत पछि परेका थारु समाज सबैको हित र हक सुरक्षित हुने गरी समानुपातिक सुन्तुलित विकास योजना अगाडि बढ्नु पर्छ। लोकतान्त्रिक समाजवादको वास्तविक मर्म अंगालेर स्थानीय स्वशासनको प्रकृया अघि बढाउने हो भने हाम्रो तराई मधेस एक आनन्दपूर्ण मर्यादित वस्तीमा विकसित हुन सक्तछ। नेपाली कांग्रेसका कार्यकर्ताहरु जनताका विविध आवश्यकता र आकांक्षाहरुको तहसम्म पुगेर समाज सुधारमा सक्रिय हुन जरुरी छ।
हिमाल पहाड दुर्गम क्षेत्रका आफ्नै विशेषता
तराई मधेश भन्दा विकट अवस्थामा रहेका पहाडी गाउँहरु, पाखा पखेराहरु र अति विकट हिमाली क्षेत्रको जनजीवन निकै कष्टकर र अभाव ग्रस्त छ। मधेस तराई तिरवाट खाद्यान्न ओसारेर खाने प्रचलनमा मात्रै रही रहने हो भने त्यहाँ कुनै दिन ठूलै संकट पर्न सक्छ। तसर्थ पहाड–हिमालको जस्तो भू–बनोट छ, त्यस्तै खालको कृषि प्रणाली कायम र विकसित गरिनु पर्छ। रमणीय र मनमोहक दृश्यहरु, नदस् र झर्नाहरुको उपयोग गरी पर्यटन विस्तार तथा उर्जा विकासबाट त्यहाँका जनजीवन सुखी बन्न सक्छ। मध्यपहाडी मेरुदण्ड राजमार्गले त्यहाँको जनजीवनमा नयाँ चहलपहल ल्याउदै पर्यटन र रोजगारीका अवसर दिलाउने छ। फलफूल, तरकारी र पशुपालनका अति उत्तम स्थान पहाडमा भेटिन्छन्।
पहाडका जनजाति आफ्नो कलाकौशल र सौर्यका लागि प्रख्यात छन्। जनजातीका भाषा, संस्कृति र पहिचान संरक्षित गर्दै सकारात्मक विभेदको सिद्धान्त समेत अंगाली प्रतिनिधित्व सुनिश्चित गरेर जनजाती उत्थान गर्न सके पहाड हिमाल नमूनाका आकर्षक क्षेत्र बन्न सक्छन्।
जनजाति, थारु तथा मुस्लिम समुदाय
नेपालका पौरखी हिमाली, जनजाति, भूमिपुत्र थारु समुदाय, साहसी व्यवसायी मुस्लिम नेपाली राष्ट्रिय एकताका धरोहर हुन्। यी समुदायमा अन्तर्निहित सिर्जनाशक्तिलाई अरु प्रखर तुल्याउँदै सबै जात जाति कलाकौशल सांस्कृतिक वैशिष्ठयलाई उजागर गर्दै जाने।
विदेशस्थित जनसम्पर्क समितिहरु
विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेसका समर्थक कार्यकर्ताहरुलाई संगठित गरी जनसम्पर्क समितिहरुको गठन गर्ने व्यवस्था छ। यो व्यवस्थालाई वैज्ञानिक, पारदर्शी बनाउँदै संगठनका सदस्यहरुको क्षमता विकास गराउन तथा राजनीतिक चेतना अभिवृद्धि गराउन प्रशिक्षकहरु खटाई प्रशिक्षण दिलाउने।
समुदाय लक्षित अन्य कार्यक्रमहरु :
महिला वर्ग अत्यन्त सिर्जनशील वर्ग हो महिलाहरूलाई नयाँ नयाँ तालिमको व्यवस्था गर्न सकियो भने र आधुनिक औजार र प्रविधिसित अभ्यस्त गराईयो भने महिला वर्गवाट राष्ट्रको उत्पादन वृद्धिमा ठूलो योगदान पुग्न सक्तछ। महिला हिंसाको अन्त, महिला विरूद्धकाृ भेदभावको अन्त,सवैतहमा महिला प्रतिनिधित्वको सुनिश्चितता, महिलालाई सम्मान गर्ने संस्कृतिको विकास आदिद्वारा नारी शक्ति विकास गरी त्यसबाट राष्ट्रिय विकासमा ठूलो योगदान पुग्न सक्दछ।
त्यस्तै दलित वर्ग भनेको नेपालको कला र सीपको धनी वर्ग हो। उनीहरूमा विद्यमान परम्परागत सीपलाई उन्नत रूपमा विकास गर्ने हो भने मुलुकको विकासमा र उनीहरूकै जीवन स्तरमा ज्यादै ठूलो टेवा र सुधारमा मद्दत पुग्दछ।
भूतपूर्व सैनिक पनि स्वदेश र विदेशमा सेवा गर्दाका अनुभवका धनी हुन्छन्। अक्कलका धनी हुन्छन्। तीनको अनुभव र सीपलाई देश विकासको कार्यमा प्रयोग गर्ने योजना तर्जुमा हुन सके राष्ट्रको उन्नतीमा ठूलो मद्दत पुग्नेछ। श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरेर समाजका श्रम र सीपका धनी महिला, दलित र भूपू सैनिकको मान प्रतिष्ठा वृद्धिको साथै उनको उत्पादनशीलताको पनि विकास गरेर राष्ट्रले लाभ लिन सक्छ।
आर्थिक नीतिहरु
नेपाली काँग्रेसले सधै नै यस राष्ट्रलाई राजनैतिक, आर्थिक, सामाजिक, संास्कृतिक आधुनीकीकरणको नेतृत्व दिदै आएको छ। २०१५ सालमा प्रथम निर्वाचीत सरकारको नेतृत्व गर्दा यसले नेपालको अर्थतन्त्रको सबै भन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रलाई प्रभाव पार्ने भूमि र श्रमलाई विशेष महत्व दिंदै जमीनमा कृषकको पहुँच सुनिश्चित गर्ने नीतिहरु आगाडि ल्यायो। छोटो समय सरकार चलाए पनि नेपाली काँग्रेसले त्यतिबेला आगाडि सारेका आर्थिक नीतिहरुको यस देशको अर्थतन्त्रमा दूरगामी असर पर्यो। विश्वभर चलेको उपनिवेशवाद विरुद्धको आन्दोलन र नयाँ स्वतन्त्र राष्ट्रहरुको उदय भएको यस कालखण्डमा समाजवाद र समानतालाई आर्थिक उन्नतिको आधार बनाएका बेला नेपालमा समेत नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवादको आधारमा आर्थिक उन्नति गर्ने सोचलाइ अगाल्यो।
२०४७ सालको बहुदलीय प्रजातन्त्रको सुरुवात पछि नेपाली काँग्रेसको नेतृत्वको सरकारले विश्व परिवेश र देश भित्रको आर्थिक अवस्थालाइ ध्यानमा राख्दै खुला आर्थतन्त्र र उदार अर्थ नीतिलाई आर्थिक उन्नतिको मूल नीतिको रुपमा आगाडि ल्यायोे, नीजि क्षेत्रको भूमिकालाई बढी महत्व दिदै नीतिगत र प्रशासनिक सुधारका कार्यक्रमहरु आदी ल्यायो, यसलाई पहिलो पुस्ताको सुधार कार्यक्रमको संज्ञा दियो। यसबाट राष्ट्रको आम्दानीमा उल्लेखनीय वृद्धि भयो र राष्ट्र सामाजिक क्षेत्रमा लगानी बढाउन सफल भयो। माओवादीहरुको हिंस्रक आन्दोलनको सुरुवात सँगै आर्थिक वृद्धिको यो क्रम सुस्त बन्दै गयो। देशमा लगानीको वातावरण बिग्रदै गयो र बेरोजगारी बढ्न थाल्यो। शान्ति, सुरक्षाको अभाव र बेरोजगारीका कारण देशबाट बाहिर जाने युवाको संख्या दिनानुदिन बढ्न थाल्यो। यो क्रम अझै जारी छ।
यस अवधिमा विश्व अर्थतन्त्रमा समेत परिवर्तनहरु भएका छन्। विकसित देशहरुमा आएको अर्थतन्त्रको मन्दी, नयाँ आर्थिक शक्तिहरुको उदय, चीन, भारत र ब्राजिल जस्ता देशहरुमा भएको आर्थिक उन्नतिले विश्वमा नयाँ समीकरण उत्पन्न गरेको छ। अर्थतन्त्रको दिगोपनको लागि राज्यको दायीत्वबारेको नयाँ अनुभब भएको छ। सहश्राब्दी विकास लक्ष्य सन् २०१५ को सफल उपलब्धी पश्चात संयुक्त राष्ट्रसंघले “दिगो विकास लक्ष्य'' को अवधारण अगाडि सरेको छ र सन् २०३० सम्मको लागि नयाँ लक्ष्यहरु अगाडि सरेको छ। दिगो विकासका यी लक्ष्यहरु नेपाली काँग्रेसको लोकतान्त्रिक समाजवादका लक्ष्यसँग मिल्दाजुल्दा छन्। गरिबीको अन्त्य, शून्य भोकमरी, सबैका लागि सफापानी, सरसफाई र खर्चले धान्न सक्ने उर्जा, स्वस्थ्य जीवन र कल्याण, गुणस्तरीय शिक्षा र जीवन पर्यन्त सिकाई, लैङ्गिक समानता, समानता, शान्ति, न्याय, समावेशी संस्थाहरु, रोजगारी र आर्थिक बृद्धि आदि यसका मूल लक्ष्यमा पर्दछन्। यसले विकसित र विकासशील राष्ट्रहरुको सम्बन्ध र दायित्व प्रष्ट्याएको छ।
नेपालको वर्तमान अर्थतन्त्र एक प्रकारको अप्ठ्यारो चक्रमा घुमी रहेको छ। युवाहरु पलायन भएका छन्। ग्रामीण क्षेत्रमा काम गर्नेको कमि छ, जमीन बाँझो छन्। खाद्य लगायत उपभोगका बस्तुको आयात बढ्दो छ। कठोर परिश्रमबाट आर्जेको वैदेशिक आम्दानी फेरि देशबाट बाहिरिदै छ र यो चक्रमा राष्ट्रको अर्थतन्त्र दिनानुदिन परनिर्भर बन्दै छ। त्यसमा पनि बैशाख १२ गतेको महाभूकम्प र संविधानको घोषणा पछिका तराई र भारत नाकामा भएका अवरोधहरुले देशको अर्थतन्त्र पुरै धरासयी बनाई दिएको छ। उद्योगहरु बन्द हुने अवस्थामा छन्। भूकम्प पछिको पुननिर्माणले गति लिन सकेको छैन, आर्थिक वृद्धि ऋणात्माक हुने अनुमान गरेका छन्।
नेपाली कांग्रेसको मुख्य उद्देश्य यो कुचक्रलाई तोड्दै राष्ट्रलाई सम्बृद्ध र सम्पन्न बनाउने हो। यस मूल उद्देश्य हासिल गर्ने विश्व परिदृश्यमा आएका परिवर्तनहरुलाई ध्यानमा राख्दै, नेपाली जनताले आफैले बनाएको संविधानलाई निर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्दै आर्थिक उन्नतिको अभियान चलाउने छ। अवको मार्ग विकास गरी आर्थिक उन्नति गर्नुनै हो। त्यसको लागि सबै सामाजिक आर्थिक नीतिहरुको कार्यन्वयन हुनेछ।
हाम्रो मूलनीति
अव हामी नयाँ संविधानले निर्दिष्ट गरेको सिद्धान्त अनुसार : –
• प्रजातान्त्रिक समाजवादको आदर्शलाई चरितार्थ गर्छौं।
• वी.पी ले खडा गरेको धरातलमा अडिएर राष्ट्रहितलाई जोड दिन्छौं।
• नेपालको आर्थिक सामाजिक राजनीतिक रुपान्तरण गर्छौं।
• समाजिक न्याय र आर्थिक वृद्धि बीचको सन्तुलन कायम गर्छौं।
• खाद्य सुरक्षा, उर्जा सुरक्षा जस्ता आधारभूत कुरा पूरा गर्छौ।
• स्वास्थ्य, शिक्षा र खानेपानीलाई आधारभूत आवश्यकता मान्छौं।
• आत्म निर्भरता उन्मुख अर्थनीति अगाल्छौं।
• ज्ञान र प्रविधि विकास सहितको दिगो विकासमा जोड दिन्छौं।
आर्थिक पुनर्निर्माण :
तत्कालको उद्येश्य आर्थिक पुननिर्माण हो। नेपालको तत्कालिक आर्थिक प्राथमिकता भनेको युवाहरुलाई ठूलो संख्यामा रोजगारी सृजना तथा गरिबी न्यूनीकरण गर्नसक्ने र सामाजिक सुरक्षा तथा सामाजिक कल्याणमा बढ्दो खर्चलाई धान्न सक्ने करको दायरा फराकिलो बनाउन समर्थ क्षेत्रहरुलाई विशेष महत्व दिदै आर्थिक विकास गर्नु हो। मध्यमकालमा हाम्रो लक्ष्य विश्व समक्ष हाम्रो देशलाई अति कम विकसित देशबाट माथि उठाउँदै मध्यम आय भएको देश बनाउनु हो। यसका लागि नेपाली कांग्रेसले समष्टिगत रुपमा निम्न विषयलाई प्राथमिकता दिनेछ।
• बजार अर्थतन्त्रलाई दरिलो बनाउन दोस्रो चरणको नीतिगत सुधार श्रुंखलालाई तीब्रता दिने।
• मानव विकास र भैतिक पूँजी निर्माणमा जोड दिने।
• व्यापार विविधीकरण र उत्पादनको अन्तराष्ट्रियकरण गर्दै एकिकृत राष्ट्रिय अर्थतन्त्रको विकास।
• ग्रामीण विकास र रोजगारीको लागि विप्रेक्षण र पुनर्निमाणको प्रयोग।
• सामाजिक आर्थिक सुरक्षाको नयाँ प्याकेजको थालनी।
सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाली कांग्रेस केही विशेष नीति र क्षेत्रहरूलाई प्राथमिकता साथ अघि बढाउनेछ। भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षाको प्रत्याभूति, दिगो शान्तिको स्थापना, लगानी मैत्री वातावरण निर्माण, दण्डहीनताको अन्त अनि, निष्पक्ष प्रशासन निर्भय वातावरण, मानव विकास र सामाजिक सुरक्षामा जोड दिनेछ। एउटा दर्हो राजनीतिक प्रतिवद्धता र अठोटका साथ भोलिका दिनमा पनि नेपाली कांग्रेस उपरोक्त नीतिहरूलाई कडाईका साथ लागू गर्न कटिवद्ध रहनेछ।
देशमा भ्रष्टाचारी प्रवृत्ति नियन्त्रित हुने हो भने विकासका कामहरू तीव्र गतिले अगाडि बढ्न थाल्नेछन् र शान्ति सुरक्षाको प्रत्याभूतिले औद्योगिक उत्पादन र व्यवसाय विस्तारको कार्यमा ठूलो टेवा पुग्नेछ। दिगो शान्तिको स्थापना र दण्डहीनताको अन्त्यले देशमा लगानी मैत्री वातावरण तयार हुन मद्दत गर्नेछ। स्वदेशी र विदेशी पूँजी लगानी सुनिश्चित गर्न निष्पक्ष प्रशासन र निर्भय वातावरणको पनि उतिकै महत्व छ। नेपाली कांग्रेस सरकारी यन्त्रमा यी कुरा सुनिश्चित गराएर कमसेकम आगामी तीन वर्षसम्म स्वेच्छिक रूपले सबै किसिमका वन्दहडताल वन्द गरी लगानी मैत्री वातावरण निर्माणमा सरिक हुन देशका सम्पूर्ण समुदायमा अपिल गर्न चाहन्छ। अब यो राष्ट्रको खस्कदो अवस्था सुधारौ–पूजी पलायन रोकौं भन्न चाहन्छ।
प्राथमिकताका क्षेत्रहरु
सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशामा नेपाली कांग्रेस केही विशेष नीतिगत क्षेत्रहरुलाई प्राथमिकताका साथ अघि बढाउन चाहन्छ।
नेपाली काँग्रेसले देशको आर्थिक पुनरोथ्थानको लागि तीनवटा क्षेत्र– कृषि, पर्यटन, उर्जा र मानव क्षमता विकासलाई अभियानको रुपमा प्राथमिकता साथ अगाडि बढाउनेछ।
कृषिक्रान्ति :
आम गरीवी र आम वेरोजगारीको अन्त गर्न निर्यात बढाउन र आयात प्रतिस्थापन गर्न पनि सबै भन्दा ठूलो र व्यापक क्षेत्र कृषि नै हो। तर त्यो कृषि निर्वाहमुखी कृषिले हुदैन। हलो, कोदालो र नाम्लोको भार हलुङ्गो गर्ने आधुनिक प्रविधियुक्त र थोरै मेहनत र थौरै लगानीबाट धेरै र राम्रो आम्दानी दिने व्यावसायिक र आधुनिक कृषि प्रणालीमा राज्यले नीजि क्षेत्रलाई भरपूर सहयोग गर्नु पर्छ। तालिम र प्रचार प्रसारमा व्यापकता ल्याउनु पर्छ। भूमिवैङ्क प्रथा लागू गरी गाउँमा अनुपस्थित जग्गाधनीको जमीन वैङ्कमा राखेर व्यवसाय गर्न चाहानेलाई एकपटकका लागि जमीन उपलब्ध गराईदिनु पर्छ। किसानलाई चाहिने गुणस्तरीय मल बीउ उपलब्ध गराउन फेरी कृषि सामग्री संस्थानलाई पुनर्गठन गर्नुपर्छ। वैज्ञानिक भूमिसुधार लागू गरी जमिनको उत्पादन बढाउने र किसानको जीवनस्तर उठाउने कृषि क्रान्ति नेपालमा गरिनुपर्छ। एकीकृत वस्ती सुधार योजना लागू गरी गाउँमा नै बसौ–बसौंको वातावरण तयार गरिने छ।
कृषि क्रान्तिको साथमा भूसंरक्षण, चुरेसंरक्षण तथा वनको राष्ट्रिय वनको राष्ट्रिय उपभोगलाई पनि महत्वका साथ अघिबढाइने छ।
विदेशमा गर्ने श्रम स्वदेशमै गर्न श्रमलाई प्रोत्साहन र सम्मान गर्न संस्कृतिको विकास गरिने छ स्वदेशमै श्रम गर्ने उपयुक्त वातावरण तयार गर्न सजिला औजार र प्रविधि उपलब्ध गराइनेछ। किसानले बढी आम्दानी पाउने र श्रमिकले स्वदेशमै बढी ज्याला पाउने परिस्थिति निमार्ण गरिने छ र त्यो हुदै पनि छ। यसरी हामी भन्न सक्ने छौ– हलो जोतेर तथा मदजुरको हकहितका लागि आवाज उठाएर क्रान्तिको शुरुवात गर्ने नेपाली कांग्रेस किसानको पार्टी हो, श्रमिकको साथी हो।
पर्यटन विस्तार :
नेपालको प्रकृति र नेपालको संस्कृति पर्यटकहरूका लागि मुख्य आकर्षण हुन्। त्यसमाथि जैविक फलफूल, तर्कारी र खाद्य पदार्थहरूको स्वादिष्टता स्वस्थता पर्यटकलाई लोभ्याउने सहायक विषय हुन्। त्यसो हुँदा कृषिक्रान्ति को सर्न्दभमा प्राङ्गारिक कृषि उत्पादनमा जोड दिन लगाइने छ। पर्यटन विस्तारवाट पनि गरीवी निवारण र रोजगारीको सिर्जना गर्न ठूलै मदत पुग्दैछ र यस क्षेत्रलाई राज्यले व्यवस्थित र प्रोत्साहित गर्नै पर्ने हुन्छ। नेपाली कांग्रेस यस दिशामा सजग भएर कृयाशील हुनेछ। निकट छिमेकी चीन र भारतको बढ्दो आर्थिक क्षमतालाई विशेष ध्यान दिएर पर्यटन विकास गरिनुपर्छ।
ऊर्जा विकास :
अपार जलस्रोतको भण्डार नेपालको आर्थिक सम्वृद्धिको आधार बन्ने सक्ने मात्र होइन, पेट्रोलियम र कोइला ऊर्जामा आधारित औद्योगीकरणका कारण बढ्दो तापक्रम नियन्त्रण गरी मौसम परिवर्तनबाट सिर्जित समस्या समेतलाई केही हदसम्म न्यूनीकरण गर्न साना, मझौला र ठूला जलविद्युत आयोजनाका साथै सौर्य ऊर्जा र वायो ऊर्जाको विकासमा जोड दिइनेछ।
अनेक सम्भावना र विकासको वातावरण
यी तीन प्रमुख क्षेत्रका साथै अन्य क्षेत्रमा भएका अपार आर्थिक संभावनाहरुका साथै विदेशमा समेत प्रतिष्ठा कमाएको नेपाली श्रम, सीप र जाँगर उपयोग गर्न आर्थिक विकासको एजेण्डालाई मूल मन्त्र मानी आर्थीक समुन्नतीको बाटोमा अग्रसर हुनु पर्छ। यसका लागि सार्वजानिक क्षेत्रको पूर्वाधारमा व्यापक लगानी वृद्धि गर्ने, पूँजि निवेश प्रवधनमा जोड दिने, शान्ति सुरक्षा, राजनितिक स्थिरता र विधिको शासनको ग्यारेन्टी, बन्द हडताल र आन्दोलन गर्ने संस्कृतिलाई निरुत्साहीत गर्नु जरुरी छ।
सबैलाई गुणस्तरीय शिक्षा :
२००७ साल अघि देखीनै हाम्रो पार्टीले शुरू गरेको शैक्षिक अभियान आज सर्वव्यापी र निकै उच्च स्तरमा पुगेको छ। सबै गाउँ वडामा फैलिएका प्रा.वि देखि हजारौ कलेज क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय लगायत अनेकौं विश्वविद्यालय र स्नाकोत्तर शिक्षण गर्ने संस्थाहरू देशभर फैलिएका छन्। शिक्षित व्याक्तिहरूको संख्या उच्च प्रतिशतमा पुगेको छ भने निरक्षरता शून्यमा पुर्याउने अभियान चल्दै छ। तर अब त्यो शिक्षा विस्तारमा अर्को फड्को मार्नु पर्ने वेला आएको छ।
• निजी क्षेत्रका विद्यालयहरूले हासिल गर्न सकेको शैक्षिक गुणस्तर सार्वजनीक विद्यालयले हासिल गर्न नसक्दा देशमै दुईखाले नागरिक पैदा हुँदैछन्। नेपाली कांग्रेस अब यो स्थितिको अन्त गर्नै पर्छ भन्ने दृष्टिकोणका साथ प्रयत्नशील छ। सार्वजानीक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको हाराहारीमा ल्याउन राज्यलाई घचघच्याउदै नेपाली कांग्रेसका कार्यक्रताले गाउँ गाउँमा जर्वदस्त अभियान चलाउन पर्छ। अबको पालो गुणस्तरयुक्त शिक्षामा सबै धनी गरीबको पहुँच हुने समानताको अवस्था सिर्जना गर्ने हो।
• गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्ने गरी समाजमा समानता ल्याउने हो। शिक्षा कै बलमा प्रगति गर्ने, शिक्षा कै बलमा गरीबी र विपन्नता हटाउने र समाजबाट सबै भेदभाव मेटाउने। यसै उद्देश्यमा आजको कांग्रेस आन्दोलित हुनुपर्छ।
हामी प्रजातान्त्रिक समाजवादका पक्षधर कांग्रेसजनहरूको ध्यान जहिले पनि समाजमा समानता तिर केन्द्रीत हुुनपर्छ। अब हामीले समानताको मुल जरो समात्नु पर्छ। हिजोको दिनमा असमानता जमीनमा पहुँच हुने र नहुने बीचमा थियो। त्यसैले हाम्रा अग्रजहरूले भूमिसुधार, जग्गाको हदबन्दी र मोहीयानी हक आदीको कुरा उठाएर समाजमा आन्दोलन चलाएका थिए। वी.पी.ले जोड दिएर भन्नु भयो “पूर्परोमा जे लेखियोस जग्गा हुन्छ जोत्नेको।” तर आज विज्ञान र प्रविधिको बिकास सँगै परिस्थिति फेरिएको छ। आज असमनाता जमीनमा पहुँच हुने र नहुनेका बीचमा नभै गुण स्तरीय शिक्षा र प्रविधिमा पहुँच हुने र नहुनेको बीचमा देखा परेको छ। अब हाम्रो ध्यान त्यता तिर जानु पर्दछ।
सबैलाई भरपर्दो स्वास्थ्य सेवा :
हामीले ०४८ साल पछि देशका चार हजारै गाउमा स्थापना गरेका उपस्वास्थ्य चौकी र देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरूको आम स्त्तरोन्नति गर्नेवेला आयो। आम स्वास्थ्य सेवालाई हामी प्रभावकारी बनाउने छौं। स्वास्थ्य विमाको व्यवस्था गरिने छ। रूग्ण शरिर लिएर गरीबले बाच्नु पर्ने र अकालमै मर्नु पर्ने अवस्थाको अब हामी अन्त गर्ने छौं।
• प्रसुती सेवा, प्राथमिक उपचार सेवा, झाडावान्ता रोकथाम, बाल रोग रोकथाम सेवा गाउँगाउँमा उपलब्ध गराउने। देशभरका स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र सरकारी अस्पतालको आमूल सुुधार र स्त्तरोन्नति गर्ने र हिमाल, पहाड, तराईका जनतालाई पायक पर्ने ठाउँठाउँमा अस्पताल निर्माण गरी विपन्न जनतालाई स्वास्थ्य सेवा सहज र सुलभ गराउने। ठूला रोगको लागि राज्यले स्वास्थ्य विमा सञ्चालन गर्ने। गरिबीको रेखामुनीका जनतालाई विमामा सुविधा र सहुलियत दिने।
श्रम र रोजगार :
हामीले शिक्षा विस्तार गरे अनुसार रोजगारीका अवसर सिर्जना हुन सकेको छैन। रोजगारी मूलक शिक्षाको अभावमा यस्तो भएको हो। तथापि प्रति वर्ष हजारौंको संख्यामा शिक्षित बेरोजगार यहाँ तयार भइरहेका छन्। तिनलाई या त रोजगारीको अवसर उपलब्ध गराउने अथवा कुनै जीविकापार्जनको व्यवस्था गर्नुपर्ने बाध्यता सिर्जना भएका छन्। हाम्रो प्रकृति अनुसार प्रविधि विकास गर्न नसकेर रोजगारी सिर्जनाको अभावमा हाम्रा लाखौं युवा विदेशिन वाध्यछन्। हामीले यो अवस्थाको अन्त गर्नुछ। प्रविधि विस्तार गरेर रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य हुनुपर्छ। त्यसको लागि लगानी उद्यम शिलताको प्रबधन गर्ने, श्रमको सम्मान गर्ने संस्कृति, कठोर आर्थिक अनुशासन, उत्पादक्त्व वृद्धि र शान्ति सुरक्षाको सुनिश्चीता आवश्यक छ।
राष्ट्रको कुल जनसंख्यामा ५७ प्रतिशत रहेका आर्थिक रूपले कृयाशील जन शक्तिलाई बढी भन्दा बढी राष्ट्रिय उत्पादनमा परिचालित हुने प्रभावकारी अवस्था सिर्जना गर्नुको साथै युवावर्गलाई वेरोजगारीबाट पीडीत रहन नपर्ने अवस्था सिर्जना गर्न हाल चालु रहेको वैदेशिक रोजगारीको अवस्थालाई व्यवस्थित, सुरक्षित, मर्यादित र बढी लाभदायक बनाउँदै अब अरूले वाध्यताले विदेशजान नपर्ने अवस्था सिर्जना गर्दा स्वदेशमै आफ्नै अपार प्राकृतिक सम्भाव्यताबाट गर्दै रोजगारीका राम्रा अवसर सिर्जना गरिने छ। गाउँमै बसौं बसौं र देश तिरै फर्कौफर्कौ बनाउने हाम्रो लक्ष्य हो। यसका लागि सुशासनका माध्यमबााट आफ्नो आर्जनको सुरक्षा, अनुकुल सामाजिक वातावरण भय रहित, शान्त र सुरक्षित अवस्था सिर्जना गरिनुपर्छ।
स्वदेशमा प्रविधि विकासको अभावमा रोजगारीका अवसर नपाएर विदेशिनु परेको अवस्थाबाटै भने पनि हामीले फाइदा उठाउन सक्नु परेको छ। विभिन्न कारणले विदेशिएका नेपालीहरुले पहिले देखि नै नेपालमा नयाँ कुरा भित्र्याउने गरेका छन्। सबै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले देशमा भित्र्याएको प्रविधि, क्षमता, कौशल, सीप, जागर र उद्यमशीलतलाई देशमा आर्थिक क्रान्ति ल्याउन उपयोग गरिनुपर्छ।
वैदेशिक रोजगारीबाट देशमा भित्रिने रकम तथा अन्य पूँजी संकलन गराई सहकारीताको विकास गराउन भरपर्दा सहकारी संस्थाहरुको निर्माण गर्न आवश्यक कानून निर्माण लगायतको व्यवस्था गरिनेछ।
वैदेशिक नीति
आजको अन्तर्राष्ट्रिय सम्वन्ध र विश्व राजनीति अत्यन्त जटील, संवेदनशील र तरल अवस्थामा छ। शीतयुद्धको समाप्तीसंगै एकतन्त्रीय र अधिनायकवादी साम्यवादी शासन पद्धतिको पतन भएको छ। विश्वमा अप्रत्याशित, आमूल र दूरगामी परिवर्तक भइरहेका छन्। परिवर्तनको यस प्रक्रियामा पँजी, प्रविधि, श्रमशक्ति अन्तरसम्बन्ध नयाँ विश्व व्यवस्थाका निर्णायक कारक तत्वका रुपमा देखा परेका छन्। साथै गैरराज्य शक्तिको उदयले अस्वस्थता, अशान्ति, उद्धण्डताको बीउ रोपेको छ। आतंकवादले जरा फैलाउदै छ। साम्प्रदायिकता, धर्मान्धता, संकीर्ण राष्ट्रवाद तथा हिंसात्मक गतिविधिले विखण्डनशील प्रवृत्तिलाई बढावा दिई रहेका छन्।
एकातिर विश्वमा सैद्धान्तिक द्वन्द्व शीथिल हुँदैछन् भने विश्वको राजनीतिमा सांस्कृतिक द्वन्द्वले अति खतरनाक रुप लिइरहेका छन्। विश्वमा अनेक घातक घटना घटित हुँदैछन्। नेपाललाई यस्तो प्रवृत्तिबाट बचाउनु जरुरी छ।
हाम्रा दुई छिमेकी विशाल मुलुक भारत र चीन एक्काइसौ शताव्दीकै महत्वपूर्ण र शक्तिशाली राष्ट्रका रुपमा उदय भएको सन्दर्भमा नेपालको महत्व वढेको छ। नेपालको भौगोलिक अवस्थिति महाशक्ति राष्ट्रहरुको विदेश नीतिमा महत्वपूर्ण स्थान ओग्टन पुगेको छ। यस पृष्ठभूमिमा नेपालले दुई निकट छिमेकी मित्रराष्ट्रहरुसंग धरातलीय भौगोलिक यथार्थतालाई केन्द्र विन्दुमा राखेर आपसी सद्भाव, विश्वास, सहयोग, समर्थन र सहकार्यको वातावरणलाई प्रगाढ वनाउदै परिवर्तित सन्दर्भमा विद्यमान र उदीयमान विषयहरुलाई पुनः परिभाषित या पुनअभिमुखीकरण गरी समायनुकुल गतिशिलता प्रदान गर्नु आवश्यक छ। छिमेकी मित्रराष्ट्रहरु भारत र चीनसंग विश्वसनीय र मैत्रीपूर्ण, सहयोगात्मक सम्वन्धको सन्तुलित र सहकार्य गर्नु नेपालको परराष्ट्र नीतिको सर्वाधिक उच्च प्राथमिकता रहनुपर्छ भन्ने नेपाली कांग्रेसको नीति रहनेछ। विश्व शान्ति, स्थिरता, समृद्धि नेपाली कांग्रेसको परराष्ट्र नीतिको महत्वपूर्ण आयाम रहनेछ।
नेपालले आफ्नो विकासका लागि प्राप्त गर्दै आएका आर्थिक सहायता हाम्रो परराष्ट्र नीतिको सफलताको द्योतक हो। शान्ति सेनामा नेपालको सहभागीताले संयुक्त राष्ट्र संघ र विश्व समुदायमा नेपालको भूमिका र महत्व बढेको छ।
नेपाली जनताको संघर्ष र वलिदानपछि जनप्रतिनिधिद्वारा निर्मित संविधानको संविधानसभा मार्फत घोषणा गरेको ऐतिहासिक क्षण पछि तराई–मधेस र सीमावर्ती क्षेत्रमा देखा परेका असन्तोष र अघोषित नाकाबन्दीले मुलुकमा मानवीय संकट समेत पैदा गुर्न पुग्यो। यसले हामीलाई एकपल्ट फेरि झस्काएको छ। भूकम्प पछिको राष्ट्रिय पुनर्निर्माणमा मित्र राष्ट्र भारत लगायतका मित्रहरुबाट प्राप्त भएको महत्वपूर्ण सहयोग नेपाली कांग्रेसको विदेश नीतिको सफलताको परिचायक हो। र यस घडीमा राष्ट्रिय एकता, सह–कार्य, सहमती र मेलमिलापमा आधारित राष्ट्रिय शक्तिको निर्माण गर्न आवश्यक छ। राष्ट्रिय एकता र मेलमिलापबाट नै विधिन्न मतालम्वीहरुलाई संयोजन गर्न सकिने र देश विकासको लागि राष्ट्रिय शक्तिको जगमा शान्तिपूर्ण सह–अस्थित्वका सिद्धान्तहरुलाई केन्द्र विन्दुमा राखेर नेपाली कांग्रेसले निकटतम विशाल छिमेकीहरु भारत र चीनका साथै विश्व समुदायसँग परराष्ट्र नीति सञ्चालन गर्नेछ।
संगठन सुदृढीकरण कार्यक्रम
बाह्रौं महाधिवेशनले पार्टी भित्रका सम्पूर्ण निर्णय प्रकृया र नेतृत्वको कार्यशैलीलाई सहभागितामुलक र पारदर्शी वनाउने कुरालाई दायित्वका रुपमा लिई पार्टी भित्रको आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ बनाउन विषयकेन्द्रीत छलफल, सामूहिक र संस्थागत निर्णय प्रक्रिया, केन्द्रीय नेतृत्व तहमा जिम्वेवारीको वाँडफाँड, पार्टी संरचनामा समावेशी र महिला तथा युवा नेतृत्व विकासमा नयाँ अवसरको सुनिश्चिततालाई लक्ष्य गरेर अगाडि वढेकोमा महाधिवेशनबाट उपसभापतिको नेतृत्वमा गठित केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान जस्ता संरचनालाई सक्रिय गराएर पार्टीका नेता तथा कार्यकर्ता प्रशिक्षण लगायतका कार्यहरु गर्दै पार्टीलाई पुनर्जीवित गर्न सफल भएको छ।
पार्टीको सँगठन विस्तार :
हामीले राम्ररी बुझ्नु पर्छ हाम्रो पार्टीको सँगठनको आधार जनसेवा हो। जनतालाई न्याय र समानता अनि स्वतन्त्रता दिने हाम्रो नीति र सिद्धान्त हो। हाम्रो सँगठनको ढाँचा संघीय ढाँचा अनुरुप संघ, प्रदेश, जिल्ला र गाउँनगर र वडावडा र टोलटोलसम्म फैलिएको छ। हाम्रो सेवा, नीति र सिद्धान्त प्रत्येक वस्तीवस्तीसम्म मात्र होइन समाजका प्रत्येक व्यक्तिका तहसम्म पुग्नपर्छ।
त्यसैले हामी व्यक्ति व्यक्तिका सम्पर्कमा व्यक्ति व्यक्तिका चाहनामा र आवश्यकतामा जोडिन पुग्न पर्छ। हामी जसले हिजोका दिनमा जनतासँग सम्पर्कमा रहेर जनताका बिकासका काम गर्दथ्यौं, आ–आफ्ना क्षेत्रमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार जस्ता पूर्वाधार निर्माणमा सरिक रहयौं। अब त्यसले पुग्दैन, अब हामीले जनताका आय वृद्धि गराउने कुरामा रोजगारी सृजना गर्ने कुरामा र खासगरी उत्पादनको क्षेत्रमा समेत अगुवाई गर्नुपर्छ।
त्यसरी नै सामाजिक, गैरसरकारी, सहकारी संस्थाहरू र वन उपभोक्ता लगायत विभिन्न उपभोक्ता समितिहरू र उत्पादन मूलक संस्थाहरूमा समेत हाम्रो सक्रियता बढ्नु पर्छ जसले गर्दा आफ्नो र समाजको आर्थिक स्थिति सुधि्रयोस् र समाजमा सम्पनता बढोस्। साथै यस्ता जनसेवा र रचनात्मक कामबाट हाम्रो संगठन देशका कुना कुनामा र जनताका घरघरमा एवं मनमनमा फैलिन सकोस्।
नेपाली कांग्रेसका प्रत्येक सदस्यले जनताको स्वार्थसँग आफूलाई गाँसेर देश भक्तिको भावना अगाली कुनै रचनात्भक र उपकारी कार्यमा सदसंलग्न रहनु पर्छ। जनसम्पर्क नै सबैभन्दा ठूलो आधार हो। जो कोहीसँग पनि सहनुभूतीशील व्यवहार जसले गर्न सक्छ समाजमा त्यही व्यक्ति लोकप्रिय हुन्छ। पार्टीको सिद्धान्त र नीति त्यतिखेर मात्र जनताले रुचाउँछन् जब त्यस सदस्यले जनता र समाजलाई केही न केही योगदान दिएर गुण लगाईरहेका हुन्छन्। यदि त्यो समाजको भलो हुने कुनै विकास निर्माण वा रचनात्मक कार्य होस् सुखदुःख वा समस्यामा परेका व्यक्तिहरुको उपकार हुने कुनै कार्य होस् वा अन्यायमा परेकाको पक्षमा आवाज उठाउने होस्। राजनीति व्यक्ति सदैव जनताका साथमा रहनुपर्छ।
• मुल्याङ्कन परिपाटी :
ज्ञ। नेपाली कांग्रेसको सिद्धान्त आदर्श, नीति, नियम र कार्यक्रम अगाल्न चाहने उमेर पुगेका नेपाली नागरिकलाई पार्टीको साधारण सदस्यता दिने।
द्द। पार्टीका साधारण सदस्यमध्ये जसले समाजमा रहेर पार्टीको प्रभाव बढ्ने गरी कुनै रचनात्मक कार्य, समाजसेवा, संस्थाहरुको निर्माण निर्वाचनहरुमा सक्रियता र पार्टीका कार्यक्रमहरुमा निरन्तर संलग्न रही पार्टीको निरन्तर संलग्न रही व्यक्तित्व बनाएका व्यक्तिहरुलाई पार्टीको क्रियाशील सदस्यता दिन गाउँसमितिले क्षेत्रमा सिफारिस गर्ने।
घ। त्यस्तो सिफारिस गर्न गाउँ/वडा समितिका बैठक महिना–महिनामा बस्ने पार्टीका अन्य क्रियाकलापका लागि पनि बस्ने गरेका बैठकहरुले समेत सदस्यताको सिफारिस गर्न सक्छन्।
द्ध। पार्टीले आब्हान गरेका आन्दोलन र संघर्षका कार्यक्रममा जेलनेल भोगेका दुःखकष्ट र यातना सहेका वा कुनै राम्रो सामाजिक काम गरेर पार्टी संगठन विस्तार हुने र पार्टीको प्रभाव बढ्ने जस्ता कुनै पनि कार्यमा निरन्तर संलग्न रहने व्यक्तिको सूची तयार गरी पार्टी निकायमा राख्ने र उपल्लो निकायमा पठाउने। त्यस्ता सूचीलाई निरन्तर अध्यावधिक गर्ने। त्यही सूची अनुसार क्रियाशिल फारम भरी सदस्यता दिने।
छ। पार्टीमा वा समाजमा सेवा गरेर मात्र पुग्दैन। कार्यकर्ताको व्यक्तिगत व्यवहार र आचरण पनि सबैका लागि अनुकरणीय हुनुपर्छ ।
ट। त्यसैले पार्टीले ५ वर्षको पार्टी सुदृढीकरण रणनीति तयार गरी वार्षिक कार्य योजनाहरु निर्माण गरी लागु गर्नेछ। त्यसैको आधारमा पार्टीका पदाधिकारी र कार्यकर्ताको वैज्ञानिक विधिद्धारा मूल्यांकन गरिनेछ।
संगठन सुदृढिकरण योजना
• युद्ध स्तरमा महिलाको नेतृत्व विकास योजना सञ्चालन गरी अधिक से अधिक महिला कार्यकर्ता उत्पादन गर्ने।
• सबै गाउँ नगर/वडाहरुमा व्यापक रुपले महिला लक्षित प्रशिक्षण चलाई देशैभर जागरण ल्याउने।
• दलित वर्ग लक्षित अन्तर्क्रिया प्रशिक्षण कार्यक्रम सञ्चालन गराई दलित वर्गमा विद्यमान संकोच मान्ने प्रवृत्ति समेतको अन्त गर्दै कला र सीपको महत्ववोध तथा नेतृत्व विकासमा जोड दिने।
• जनजातीका सांस्कृतिक विशेषता र उद्यमशीलतालाई उजागर गर्ने खालका कार्यक्रम सञ्चालन गराई विशेषतः उच्च पहाडी र हिमाली भूभागको भौगोलिक विशेषतालाई समेत मध्यनजर गर्दै कृषि र पर्यटनसित सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने।
• पार्टीका युवा कार्यकर्तालाई रचनात्मक कार्यमा प्रवृत गराई सिर्जनशील, अनुशासित र आदर्शवान कार्यकर्ता पैदा गर्ने।
• भू.पू. सैनिक संघ, किसान संघ र श्रमिक संघमा आबद्ध कार्यकर्ताका लागि छुट्टाछुट्टै तालिम कार्यक्रम सञ्चालन गराउने।
• पार्टीमा कार्यकर्ताको मुहान युवा विद्यार्थीमा सिर्जनात्मक शक्तिको विकास र राजनीतिक चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने।
• पार्टीका तमाम कार्यकर्तालाई प्रजातान्त्रिक समाजवादी आचरण र व्यवहारमा अभ्यस्त गराई सशक्त कार्यकर्ता पंक्ति तयार गर्ने।
• जनसम्पर्क कसरी गर्ने, जनसेवा कसरी गर्ने, पार्टीमा जनाकर्षण कसरी बढाउने, कार्यालय सञ्चालन तथा नियमित बैठक सञ्चालन कसरी गर्ने भन्ने जस्ता व्यवहारिक विषयका कार्यशाला गोष्ठी सञ्चालन गर्ने।
यसरी नेपाली कांग्रेसको संगठनलाई गाउँ नगर/वडादेखि क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म हरतरहले प्रतिस्पर्धा योग्य र सक्षम तुल्याउन कडा अनुशासनको प्रबन्ध र मूल्याङ्कन परिपाटीलाई सशक्त बनाई पार्टीको संस्थागत विकास गरिनेछ।
प्रकाशित: २४ माघ २०७२ २०:४९ आइतबार





