coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि आइतबार पाँच दल दर्ता

फाइल तस्बिर

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दल दर्ताका प्रक्रिया सुरु गरेको छ। आइतबार आयोगमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन पाँच राजनीतिक दलहरू दर्ता भएका छन्।  

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार पाँच राजनीतिक दलहरू दर्ता भएका छन्। जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुर्नजागरण पार्टी नेपाल राजनीतिक दलहरू आयोगमा दर्ता भएका छन्। ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका आइतबारदेखि सुरु भएको राजनीतिक दल दर्ता प्रक्रियाअन्तर्गत पहिलो दिन पाँचवटा राजनीतिक दलहरू दर्ता भएका छन्,’ उनले भने, ‘आगामी साउन ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया सकिएलगत्तै समानुपातिक निर्वाचनका लागि आह्वान प्रक्रिया सुरु हुनेछ।’

आयोगका सहप्रवक्ता अर्यालका अनुसार आयोगले साउन १५ गते अनलाइनबाट फारम भरेका मतदाताले शनिबारसम्म औंठा छाप र फोटो लिन सकिने व्यवस्था गरेपछि चार लाख ५९ हजार ४१४ नयाँ मतदाता थपिएका छन्।

 ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मिति तय भएपछि शनिबारसम्म चार लाख ५९ हजार ४१४ नयाँ मतदाता थपिएका छन्,’ उनले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया सकिएलगत्तै निर्वाचनको बजेटका लागि अर्थ मन्त्रालयसँग छलफल र सहकार्य गरिनेछ। त्यस्तै निर्वाचनलाई केन्द्रित गरेर निर्देशिका परिमार्जन र मतदाता शिक्षा कार्यक्रमका लागि तयारी सुरु हुँदैछ।’

राजनीतिक दलको विवरण, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरूप केन्द्रीयस्तर र प्रदेशस्तरको विवरण र आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति खुलाएकालगायत विवरणसहितको दलहरू दर्ता भएका हुन्।

 राजनीतिक दल दर्ताअन्तर्गत प्रतिनिधिसभाका लागि अनुसूची–१२ बमोजिम र प्रदेशसभाका लागि प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै अनुसूची–१२ बमोजिमको निवेदन पेस गरिएको जानकारी उनले दिए। ‘राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी राजनीतिक दलले एकल निर्वाचन चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिएका राजनीतिक दलहरू दर्ता भइरहेका छन्,’ उनले भने, ‘राजनीतिक दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र र आर्थिक वर्ष २०७७-७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदनलगायतका कागजात पेस गरी आयोगमा दर्ताको लागि निवेदन दिनुपर्नेछ।’

आयोगमा १ सय १६ राजनीतिक दलहरू निर्वाचनका लागि दर्ता भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन आयोगले साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई आइतबारदेखि साउन ३१ गतेसम्म राजनीतिक दल दर्ताका लागि आह्वान गरेको थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० अर्ब रूपैयाँ खर्च हुने अनुमानसहित आयोगले अर्थ मन्त्रालयमा प्रारम्भिक खर्चको विवरण बुझाइसकेको छ। विसं। २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आयोगले ७७ जिल्ला निर्वाचन कार्यालय र १६५ निर्वाचन अधिकृत कार्यालय गरी सात अर्ब ८० करोड खर्च भएको जानकारी दिएको थियो।

प्रकाशित: २३ श्रावण २०७९ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App