१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर देश द्वन्द्वतिर धकेल्योः रावल

नेकपा (एमाले)का सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए। उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए।

उनले एसपीपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदुतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताए। सांसद रावलले जनताका प्रतिनिधिलाई अविश्वास गर्ने र परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपीपीमा सहभागी हुन्नौ भन्ने पत्र सांसदले माग्दा सरकारप्रति अविश्वास गर्ने भन्दै प्रश्न गरेको भन्दै सरकार नै जनताप्रति र संसदप्रति जवाफदेही नभएको आरोप लगाए।

उनले सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए। सांसद रावलले सरकार विदेशीलाई पहिलो प्रथमिकतामा राख्ने र विदेशीसामु लम्पसार पर्ने स्थितिमा रहेको भन्दै सरकार लोकतन्त्र विरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाए।

प्रकाशित: १९ श्रावण २०७९ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App