जेन–जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले रोकेका विकास कार्यक्रम (योजना) हरूमध्ये पाँच सय ३३ वटाको बजेट फुकुवा गर्न सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव करिब डेढ महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ। यसबिचमा सहरी विकास मन्त्रालयको नेतृत्व फेरिएको हुँदा सो मन्त्रालयको नयाँ नेतृत्व कुमार इङनामले सम्हालेका छन्।
सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले पाँच सय ३३ वटा कार्यक्रमको बजेट फुकुवा गर्न अर्थ मन्त्रालयमा पठाइएको प्रस्ताव अर्थमै अड्किएको बताए। ‘हामीले पठाएको प्रस्ताव लामो समयदेखि अर्थमै अड्किएको छ। त्यहाँबाट अघि बढेको जानकारी हामीले पाएका छैनौं’, उनले भने।
यी विकास योजनाको कुल बजेट करिब १७ अर्ब रुपैयाँबराबर छ। हाल सहरी विकास मन्त्रालयबाट सञ्चालित एक हजार दुई सय ८० वटा विकास कार्यक्रम रोक्का छन्। तीमध्ये पाँच सय ३३ वटा कार्यक्रमको बजेट फुकुवा गर्न गत पुसको पहिलो सातामै सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो।
सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले रोक्का गरिएको बजेट फुकवा गर्न सहरीले पठाएको प्रस्ताव अर्थले अड्काउँदा मन्त्रालयबाट सञ्चालित विकास निर्माणका काम प्रभावित भएको बताए।
उनका अनुसार विभागको कुल ५७ अर्ब रुपैयाँको बजेटमध्ये २७ अर्ब रुपैयाँ बरारारका विकास कार्यक्रम रोक्का भएका छन्। यो भनेको ४७ प्रतिशत हो। ‘४७ प्रतिशत विकास बजेट रोक्का हुँदा त्यसले तत्काल मात्र होइन, दीर्घकालीन रूपमै गम्भीर प्रभाव पार्छ’, बोहराले भने, ‘त्यसैले सहरीले पठाएको प्रस्तावलाई अर्थले जति सक्दो चाँडो अघि बढाउनुपर्छ।’
कार्की नेतृत्वको सरकारले तीन महिनादेखि एक खर्ब २० अर्ब रुपैयाँ बराबरको विकास बजेट (पूर्वाधार र विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम) रोक्का गरेको छ। तीमध्ये करिब ४० अर्ब रुपैयाँबराबरका कार्यक्रमको बजेट फुकुवा भइसकेको छ।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सय दिन पूरा गरेको अवसरमा गत पुसमा आयोजित पत्रकार सम्मेलनमा सरकारले रोक्का गरेका विकास कार्यक्रम क्रमशः फुकुवा गर्दै जाने बताएका थिए।
घिसिङको उक्त प्रतिबद्धताअनुसार पाँच सय ३३ वटा विकास कार्यक्रमको बजेट फुकुवा गर्न प्रस्ताव पठाइएको थियो तर यस विषयमा कुनै निर्णय नहुँदै घिसिङ सरकारबाट बिदा भए। ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्, ‘त्यतिबेला घिसिङले गम्भीर पहल गरेको भए अर्थको प्रस्ताव मन्त्रिपरिषद्मा गई कार्यान्वयन हुन सक्थ्यो तर पछिल्लो समय घिसिङ मन्त्रालयभन्दा राजनीति र पार्टीमै व्यस्त भए।’
सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार ठूलो मात्रामा विकास बजेट रोक्का भएको विषयमा सहरीका उच्च कर्मचारीले सहरी विकास मन्त्री इङनामलाई जानकारी गराएका छन्। यस विषयमा इङनाम गम्भीर भएको एक कर्मचारीले बताए।
भवन विभागका महानिर्देशक बोहराले विकास कार्यक्रमको बजेट चाँडै फुकुवा हुनेमा अझै आशावादी भएको बताए। ‘पूर्वतयारी भएका, सबै प्रक्रिया पूरा गरेर योजना बनाइएका तथा पालिकाबाट समेत सिफारिस भएका विकास कार्यक्रमको बजेट चाँडै फुकवा हुनेमा आशावादी छु’, उनले भने, ‘विकास कार्यक्रम रोक्दा अर्थतन्त्रमा नराम्रो प्रभाव पर्छ।’
अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने भन्दै मन्त्रिपरिषद्बाट असोज ४ गते करिब सवा एक खर्ब रुपैयाँबराबरका विकास बजेट रोक्का गर्ने निर्णय भएको थियो। मन्त्रिपरिषद्को उक्त निर्णयपछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई १५ बुँदे परिपत्र पठाएको थियो।
बजेट सूचना प्रणालीमा नयाँ प्रविष्टि भएका तर पूर्वतयारी नभएका, दोहोरो प्रविधि भएका कम महŒवका साना आयोजना, कार्यक्रमहरू, बजेट शीर्षकमा बजेट विनियोजन भए पनि उद्देश्यभन्दा कम महŒवका क्षेत्रमा गरिएको बजेट विनियोजन, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने प्रकृतिका ससाना टुक्रे आयोजनासमेत विभिन्न मन्त्रालयमा भएको विनियोजन रोक्का राख्ने लगायत विषयमा अर्थ मन्त्रालयले परिपत्र गरेको थियो।
मन्त्रिपरिषद्बाट विकासका कार्यक्रम रोक्का गरिएकाले तिनलाई फुकवा गर्न पनि मन्त्रिपरिषद्को निर्णय चाहिन्छ। त्यसैले सहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा गएको प्रस्तावलाई अर्थले मन्त्रिपरिषद्मा लग्नुपर्छ।
विकास कार्यक्रम रोक्का गर्ने सरकारको उक्त निर्णयबाट सबैभन्दा बढी सहरी विकास मन्त्रालय प्रभावित भएको छ। उक्त मन्त्रालयको मात्र ४० अर्ब तथा सहरी विकास तथा भवन निर्माण विभागको ३१ अर्ब रुपैयाँ बजेट रोक्का गरिएको छ।
त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयको २४ अर्ब रुपैयाँबराबरको बजेट रोक्का गरिएकोमा १० अर्बबराबर फुकुवा भइसकेको छ। विज्ञहरू विकास बजेट रोक्का गर्दा सरकारले गर्ने विकास खर्च शून्य हुने र यसबाट समग्र आर्थिक गतिविधिमा अत्यन्त नकरात्मक प्रभाव पर्ने बताउँछन्। ‘हरेक वर्ष सरकारले विकास बजेट बढीमा ६० देखि ६५ प्रतिशत मात्र खर्च गर्ने गरेको छ’, उनीहरू भन्छन्, ‘त्यसमाथि विकास बजेट रोक्का गर्ने हो भने आर्थिक गतिविधि शून्य हुन्छ र बेरोजगारी बढ्छ।’
सरकारले रोक्का गरेको बजेट तत्काल फुकुवा गर्नुपर्ने विज्ञहरूको सुझाव छ। सरकारले सम्बन्धित मन्त्रालयसँग परामर्श नगरिकन विकास बजेट रोकेको सम्बन्धित कर्मचारीहरूको भनाइ छ।
ती कर्मचारीका अनुसार विकास बजेट रोक्का गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी, सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट सञ्चालित विकास कार्यक्रमहरू प्रभावित भएका छन्। विकासका कार्यक्रमहरू रोक्दा जनतामा निराशा पैदा हुने र दक्ष जनशक्ति बेरोजगार हुने सहरी विकास मन्त्रालयका एक कर्मचारीले बताए।
प्रकाशित: ९ माघ २०८२ ०९:०९ शुक्रबार




-600x400.jpg)
