८ वैशाख २०८१ शनिबार
राजनीति

देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको छः डा. भीम रावल

विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र

नेकपा (एमाले)का सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

सांसद रावलले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताए।

उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताए।

सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे। सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाए। यस्तै रावलले विदेशीसँग खुलेआम साँठगाँठको काम तीव्र हुन थालेको भन्दै शपथ ग्रहण कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने व्यवस्था गरेर ल्याउनुपर्ने बताए।

सो बैठकमा ‘सपथसम्बन्धि विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सपथ ग्रहण गरेका व्यक्तिहरुले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उलंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। उनले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरु आफैंले लिएको सपथ विपरीत, संविधान र कानुन विपरीत, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाए।

अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)देखि लिएर, एमसीसीदेखि लिएर भर्खरै केही समय अगाडि माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौंताको ठाडो उलंघन गरेर सरकारले कुनै हिच्किचाहट नगरी २ वर्ष म्याद थप गर्ने जस्ता राष्ट्रिय स्वाधिनतामाथि नै प्रहार गर्ने काम भइरहेको उल्लेख गर्दै नेता रावलले त्यस्ता व्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने पनि बताए। नेता रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै विदेशी भूमिका गएर राष्ट्रिय अस्मिता विपरीतका गतिविधि गरेको आरोप समेत लगाए।

प्रकाशित: १७ श्रावण २०७९ १०:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App