मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम सडकखण्डमा सोमबार दिउँसो गुडिरहेको डिजेल बोकेको ट्यांकरमा आगलागी भएको छ।
अमलेखगञ्जबाट रुपन्देही तर्फ जाँदै गरेको लु १ ख ६६०९ नम्बरको डिजेल लोड गरिएको ट्यांकरमा अपराह्न ४:२० बजेको समयमा आगलागी भएको हो।
गुडिरहेको ट्यांकरको इन्जिनको भागबाट एक्कासी आगो सल्किएको थियो।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमाण्डमा र प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहितको टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरी र दमकलको सक्रियतामा साँझ ५:०५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। हेटौंडा उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्ज डिपोको एक/एक वटा गरी जम्मा दुईवटा दमकलको प्रयोग गरी आगो निभाइएको हो।
आगलागीबाट ट्यांकरको अगाडिको इन्जिनको भागमा क्षति पुगे पनि डिजेल भण्डारण गरिएको ट्याङ्कीको भाग भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
इन्धन भरिएको ट्याङ्कीमा आगो नसल्किएका कारण ठूलो सम्भावित दुर्घटना भने टरेको छ।
घटनामा कुनै मानवीय क्षति भएको छैन। ट्यांकर चालक रुपन्देहीको सैनामैना नगरपालिका–३ बस्ने ५८ वर्षीय चालक कृष्णबहादुर थापा सकुशल रहेको प्रहरीले जनाएको छ। ट्यांकरमा उनी मात्र सवार थिए।
आगलागीका कारण केहीबेर प्रभावित भएको पूर्व–पश्चिम राजमार्ग अहिले सञ्चालनमा आएको छ।
प्रकाशित: १२ माघ २०८२ १८:१५ सोमबार





