coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई केन्द्रीय सदस्यसहित ६९ जनाले गरे जसपा परित्याग

वीरगन्जमा २ दिन अगाडि मात्र केन्द्रीय समितिको बैठक सम्पन्न गरेको जनता समाजवादी पार्टी (जसपा) का २ जना केन्द्रीय सदस्यसहितका ६९ नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेकबहादुर शाक्यसहित प्रदेश समिति सदस्य सलाउदिन अहमदसहित पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह जिल्ला सदस्यहरु कृष्ण मोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तमांगसहित ६९ जनाले पार्टीमा नीति र सिद्धान्तभन्दा स्वार्थसमुह हावी भएको भन्दै राजिनामा दिएका हुन्।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर उनीहरुले जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताए। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सञ्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरुले सामूहिक रुपमा राजीनामा दिएको बताए।

जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रव्यदारहरुको चंगुलमा फस्दै गएको ठहर गर्दै आफूहरुले पार्टी परित्याग गर्नुपरेको केन्द्रीय सदस्य यादवले बताए। पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पर्सा क्षेत्र नम्बर ४ मा मुख्यमन्त्री लालबाबु राउत गद्धी र प्रदेश सांसद सिंहासन साह कलवारकै कारण पार्टी ध्वस्त भएको आरोप लगाए।

उनले भने,‘उनीहरु दुवै जनाले जो बोल्छन् त्यो नै पार्टीको नीति र निर्णय बन्छ, दुःख र त्याग गरेका नेता कार्यकर्ताको कुनै ठाँउ हुँदैन।' जसपा पारित्याग गरेका नेताहरुले अब आफूहरु स्वतन्त्र भएको र आगामी दिनमा आफनो मुद्दा र विचार मिल्ने पार्टीसँग सहकार्य हुन सक्ने बताए। तर बाबुराम भट्टराईले खोल्ने नयाँ पार्टीमा भने आफूहरु नजाने पनि उनीहरुले प्रष्ट पारे।

प्रकाशित: ३२ असार २०७९ ०८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App