५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सबैलाई समेटेर अघि बढ्न देउवालाई सुझाव

नेपाली कांग्रेसका नेताहरूले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकतर नेताले बिहीबार स्थानीय तह निर्वाचनमा भएको गठबन्धनजस्तै प्रदेश र प्रतिनिधिसभामा पनि हुन्छ भन्ने मानसिकता पार्टीका नेता तथा कार्यकर्तामा रहेकाले त्यसमा आशंका थप्ने काम गर्न नहुने तर्क गरेका हुन्।

स्थानीय तह निर्वाचनपछि गठबन्धनको माहोल निर्माण भएको जिकिर गर्दै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले भने, ‘तालमेलका विषयमा माहोल र मानसिकता पार्टीका नेता तथा कार्यकर्ताले मात्र होइन, मतदाताले पनि बनाइसकेका छन्। अब गठबन्धन गर्ने कि नगर्ने भनेर त्यसलाई बिगार्ने र द्विविधा खडा गर्ने काम नगरौं ।’ चुनावी तालमेल गर्दा गठबन्धनमा रहेका राजनीतिक दलसँग विगतको भएका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनको तर्क छ।

‘हामीले नगरे पनि अर्कोले तालमेल गरेर जान्छ,’ उनले भने, ‘कमजोरी छन् भने सुधार गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पनि अहिलेको समीकरणलाई निरन्तरता दिनुपर्छ।’ बैठकमा पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम पार्टीको पक्षमा ल्याउन पाँच दलबीच मात्र तालमेल गरेर नहुने धारणा राखे।

पार्टीभित्रको एकता र सहकार्य बढी जरुरी रहेको भन्दै निधिले भने, ‘कांग्रेसमा सभापतिबाहेक शक्ति केन्द्र र उपकेन्द्र धेरै छन्। निर्वाचन जित्न र संगठन सुदृढीकरणका लागि पार्टीभित्र रहेका केन्द्र र उपकेन्द्रलाई एकताबद्ध गरेर लैजानु अत्यावश्यक छ ।’ स्थानीय तह निर्वाचनमा जितेभन्दा पनि प्रदेश र संघको निर्वाचनमा बढी मत ल्याउने उद्देश्य लिई काम गर्नुपर्नेमा निधिले जोड दिए।

केन्द्रीय सदस्य बलबहादुर केसीले गठबन्धन गर्ने/नगर्ने भन्नेबारे पार्टीभित्रै विभाजित हुन आवश्यक नरहेको बताए। गठबन्धन गर्ने कि नगर्ने भनेर बहस र छलफलभन्दा पनि कांग्रेसभित्रको एकता आवश्यक रहेको औंल्याउँदै केसीले भने, ‘कांग्रेस एकढिक्का हुनुपर्छ। गठबन्धन गर्ने कि नगर्ने भनेर विभाजित हुनु आवश्यक छैन। सभापतिले सबैलाई मिलाएर लानुपर्छ।’

स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारलाई सहयोग नगर्नेमाथि कारबाही गर्नुपर्ने माग उठिर हेका बेला नेता केसीले भने अरू दलमा भोट हाल्न सिकाउने सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई नै कारबाही गर्नुपर्ने धारणा राखे। ‘गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ,’ केसीले भने, ‘किनभने उहाँहरूले नै हामीलाई अन्त भोट हाल्न सिकाउनुभएको हो।’

अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको १४औं महाधिवेशनबाट देउवा निर्वाचित भए पनि सबैको सभापति बन्न नसकेको र विधिविधानअनुसार संगठन चलाउन नसकेको आरोप लगाए। बैठकमा १० बुँदे धारणा राख्दै केसीले पार्टी सभापतिका निकटतम प्रतिस्पर्धीलाई केन्द्रीय कार्यालयमा कार्यकक्ष नै नदिएको गुनासो पोखे। विगतमा रामचन्द्र पौडेललाई कार्यकक्ष दिए पनि शेखर कोइरालालाई छुट्टै कोठा नदिइएको भन्दै उनले भने, ‘यहीँ ठाउँ भए हामी होटलतिर जान्नौं, छलफल गर्न पार्टी कार्यालयमै बस्छौं।’

पार्टी महामन्त्रीहरूसमेत गुट भेलामा सहभागी भएको भन्दै सदस्यहरूले आलोचना गरिरहेका बेला केसीले त्यसको बचाउ गर्दै विगतमा देउवाले पनि यस्तै भेला गर्ने गरेको तर्क गरे। स्थानीय तह निर्वाचनमा कांग्रेसले सन्तोषजनक उपलब्धि हासिल गरेको भन्दै केसीले भने, ‘तथापि पार्टी अन्तरघातबाट मुक्त रहन सकेन। यसको कारक पक्षलाई जरैदेखि समाप्त गर्नु आवश्यक छ।’

बैठकमा केन्द्रीय सदस्य नारायण खड्काले विचार नमिल्ने देशसँग पनि सहकार्य हुने गरेको भन्दै स्थानीय तह मात्र होइन, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मुलुकभित्रका दलहरूसँग चुनावी तालमेल गरेर जाँदा फरक नपर्ने तर्क गरे। गठबन्धन विश्वव्यापी मान्यता बन्दै गएको तर्क गर्दै खड्काले भने, ‘स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा राम्रो नतिजा आएको छ। संघ र प्रदेशमा पनि गठबन्धन गरेर जानुपर्छ।’

बैठकमा केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, सुनिलबहादुर थापा, अम्बिका बस्नेत, मीनाक्षी झा, सुजाता परियार, चीनकाजी श्रेष्ठ, ध्यानगोविन्द रञ्जित, रमा कोइराला (पौडेल), अर्जुनजंगबहादुर  सिंह, उमेश श्रेष्ठ, मञ्जुकुमारी यादव, जानकी सिंह, सुशीला भट्ट मिश्र, गंगालक्ष्मी अवाल, सीताकुमारी राना र सुशीला ढकाल (आचार्य) ले आ–आफ्नो धारणा राखेका छन्। बैठक शनिबार १ बजे फेरि बस्नेछ। 

प्रकाशित: ३१ असार २०७९ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App