८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन आयोगले अनलाइनबाट मतदाताको नाम संकलन गर्ने

निर्वाचन आयोगले अनलाइनमार्फत मतदाता नामावली दर्ता सकिने जनाएको छ। ‘मतदाता नामावली संकलन व्यवस्थित नभएको गुनासो आएपछि आयोगले साउनको पहिलो साताबाट मतदाता नामावली दर्ता अनलाइन प्रणालीमार्फत सुरु गर्दैछ,’ आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘मतदाता नामावलीको लागि अनलाइनमार्फत दर्ता गर्ने र टोकन प्रणालीबाट बायोमेट्रिक लिने व्यवस्था गरिदैंछ।’ आयोगका अनुसार मतदाताको विवरणसहितका कागजात अपलोड गरेर मोबाइल नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गर्न सकिनेछ। हाल बायोमेट्रिक भोटर्स र जिस्ट्रेसन सिस्टम (बिभिआर एस)मार्फत नामावली दर्ता गरिर हेको छ। काठमाडौं उपत्यकामा बुधबारदेखि यो प्रक्रिया सुरु भइसेकेको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ। आयोगले १८ वर्ष पुरा भएर पनि मतदाता नामावलीमा नाम नभएकाहरूदेखि विभिन्न पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेका व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन गरिरहेको छ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार हाल काठमाडौंमा जिल्ला निर्वाचन कार्यालय, शंखरापुर र दक्षिणकाली इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय जिल्ला निर्वाचन कार्यलयमाबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ।

जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार अनलाइन मार्फत हाल दैनिक एक हजारभन्दा बढी नयाँ मतदाताले नाम दर्ता मतदाता नामावलीमा नाम दर्ता गरिरहेका छन् ‘आयोगले काठमाडौं बाहिरका मतदाताले यहाँबाट मतदाता नामावली तथा अद्यावधिक गराउन पाउने व्यवस्था गरेपछि भीड बढेको हो,’ उनले भने, ‘केही दिनभित्र अनलाइनमार्फत मतदाता नामावली दर्ता गर्ने प्रणाली लागु भएसँगै सहज र भीड कम हुने अनुमान गरेका छौं। हाल दैनिक एक हजारभन्दा बढी नयाँ मतदाताले नाम दर्ता गरिरहेका छन्।’

हाल ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालयमार्फत् मतदाता नामावली संकलन र अध्यावधिक कार्य भइरहेको छ। आयोगले स्थानीय तह निर्वाचन मिति घोषणा भएपश्चात् गत माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन कार्यलाई असार १ गतेदेखि फेरि संचालन गरिएको हो। ‘अहिले नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुटेका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गरा उन सकिने व्यवस्थाका कारण सर्वसाधारणको चाप बढेको हो,’ आयोगका सहप्रवक्ता अर्यालले भने, ‘अनलाइनमार्फत मतदाता नामावली दर्ता भएसँग सर्वसाधारणले मतदाता नामावलीको लागि घन्टौं लाइनमा बस्नु पर्ने छैन। देशभर एकैसाथ अनलाइनमार्फत मतदाता दर्ता प्रणाली सुचारू गर्न लागि परेका छौं।’

आयोगका अनुसार असार १ देखि हालसम्म देशभर झन्डै तीन लाख नयाँ मतदाताले नामावलीमा नाम दर्ता गरिसकेका छन्। हाल नाम दर्ता, विवरणमा रहेको त्रुटि सच्याउने, मतदाता नामावलीबाट नाम हटाउने, ठेगाना परिर्वतन गर्ने, मतदान स्थल परिवर्तन गर्ने, दोहोरो परेको नाम हटाउने लगायत काम समेत सम्बन्धित निर्वाचन कार्यालयबाट भइरहेका छन्। स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए।

निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानूनी व्यवस्था भएकाले आयोगले असार १ देखि मतदाता नामावली संकलन गरिरहेको छ। यसअघि आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर २ गते एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई सुझाव दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्ने बताइसकेका छन्। आयोगले निर्वाचनका लागि मिति घोषणापछि एक सय २० दिनको निर्वाचन अवधि लिने गरेको छ।

प्रकाशित: २९ असार २०७९ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App