१६ चैत्र २०८० शुक्रबार
राजनीति

एउटा छानविन होइन हजारौँ छानविनको लागि म तयार छु: जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले  बजेट निर्माणका क्रममा आफ्नो मूल्य, मान्यता र नैतिकतालाई डग्मगाउन नदिएको उल्लेख गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै  उनले आफू एउटा मात्रै होइन हजारौँ छानबिनको लागि तयार रहेको पनि बताए।  

अर्थमन्त्री शर्माले आफूमाथि अनावश्यक र झुटा आरोपहरु लगाइएको भन्दै सबै आरोपहरुलाई अस्वीकार तथा खारेज गर्ने बताए। 

उनले भने, ‘बजेट निर्माणको सन्दर्भमा मैले आफ्नो मूल्य, मान्यता, नैतिकता, मेरो राष्ट्रप्रतिको जनताप्रतिको इमान्दारितालाई मैले कतैपनि डग्मगिन दिएको छैन, दिँदिन। भोलि पनि दिँदिन। म हजारौँ छानबिनको लागि तयार छु। एउटा छानबिन होइन हजारौँ छानबिनको लागि म तयार छु। छानबिन गरियोस्। एउटा संसदीय छानबिन मात्रै होइन, सबै छानबिनका लागि म तयार छु। त्यसकारणले एउटा राजनीतिक व्यक्ति भएको नाताले हिजो यस्तो प्रचलनहरु, यस्तो विषयहरु नउठेका होइनन्। छानबिन समिति नबनेको होइन। छानबिन समिति बनेका विभिन्न अनुभवहरु छन्। विभिन्न पक्षहरु छन्। आज आम नागरिकले विषय उठाएको कारण, नागरिक समाजले विषय उठाएको कारण, आम नागरिकलाई एउटा भ्रम सिर्जना भएको कारण मैले आफू सही गरेको, गल्ती नगरेको, राष्ट्रको पक्षमा, देशको पक्षमा काम गरेको हुँदाहुँदै पनि यो भ्रम सिर्जना भएर जुन समस्या मैले देखिरहेको छु। त्यसलाई सत्य, तथ्यले नै स्पष्ट गर्नेछ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।'

उनले बजेट निर्माणका क्रममा आफूले कुनै त्रुटी नगरेको बताए। अर्थमन्त्री शर्माले स्थापित मान्यता, विधि र पद्धतीको आधारमा तोकिएकै अधिकारीहरुमार्फत् बजेट निर्माण भएको स्पष्ट पारे।  

उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनैपनि त्रुटी गरेको छैन। स्थापित मान्यता, विधि र पद्धतीका आधारमा, तोकिएका आधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण भएको छ। यो सच्चाइलाई कसैले पनि अर्को झुटो सावित गर्न सक्दैन। करको दररेट हेरफेर गर्ने सन्दर्भमा अर्थ मन्त्रालयका दुईवटा सचिव र दुईवटा डिजीहरुलाई नीतिगत निर्देशन गरेको छु। देशको उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकतालाई हेरेर, विदेशी मुद्राको सञ्चितिलाई कायम गर्नुपर्ने आवश्यकता हेरेर डलरको सञ्चिति कसरी गर्न सकिन्छ, कसरी हामी उत्पादन वृद्धि गर्न सकिन्छ, औद्योगिक क्षेत्रलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भनेर कच्चा पद्धार्थहरुमा कर नबढाउने र जनताले उपभोग नगरेपनि हुने, नेपालमै उत्पादन हुने वस्तुहरुमा करको दर बढाउने र महंगो डलर मूल्य पर्ने साधनहरुलाई कर केही बढाएर आम जनताको लागि कम डलर खर्च गरेर आउने साधनहरुमा यथावत राख्ने नीति लिएको कुरा म स्पष्ट गर्न चाहन्छु।’

अर्थमन्त्री शर्माले आफूले अर्थ मन्त्रालयको सिसिटिभि फुटेज डिलेट नगरेको बताए। आफूलाई सिसिटिभि फुटेजको क्षमताको बारेमा जानकारी नरहेको उल्लेख गर्दै उनले आफूलाई डिलेट गर्नु आवश्यक नभएको पनि स्पष्ट पारे। अर्थमन्त्री शर्मामाथि छानबिन गर्नका लागि संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रकाशित: २२ असार २०७९ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App