१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधीसभा बैठक २ बजेसम्मका लागि स्थगित

फाइल तस्बिर।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणमा उठेका प्रश्नहरुको जवाफ दिन नदिने रणनीति अंगिकार गरेपछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालले अर्थमन्त्री शर्मालाई संसदमा आफ्नो भनाई राख्न नदिने रणनीति अंगिकार गरेपछि सहमती जुटाउन बैठक सारिएको बुझिएको छ। अघिल्लो तालिका अनुसार बुधबार बिहान ११ बजे बस्नुपर्ने बैठक दिउँसो १ बजेसम्म सुरु नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको हो।

अर्थमन्त्री शर्माले आज संसदमा आफु माथि उठेका प्रश्नहरुको जवाफ दिने छन्। उनले बुधबार बिहानको पार्टीको विस्तारित बैठकमा आफु माथि उठेका प्रश्नहरुको जवाफ बुधबारकै संसदमा दिने जानकारी दिएका थिए। यता एमालेले भने अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने रणनीतिमा छ।

एमालले नैतिक आधार गुमाएका अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने निर्णय गरेको हो। त्यसो त यसअघि पनि एमालेले अर्थमन्त्री शर्मा संसदमा बोल्दा अवरोध गर्दै आएको छ। माओवादी केन्द्र भने संसदीय छानविन समिति गठन गर्नुपूर्व एमालेसँग छलफल गरेर अघि बढन चाहेको देखिन्छ।

माओवादी केन्द्रको बुधबारको बैठकले एमालेसँग छलफल गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ। संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन बाहिरका अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको हो।

बजेट निर्माण दिनका सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्री शर्माको सर्वत्र आलोचना हुँदै आएको छ। एमाले बाहेक प्रमुख सत्तारुढ दल नेपाली कांगेसकै महामन्त्री गगन थापा समेतले अर्थमन्त्री शर्माले राजिनामा नदिए प्रधानमन्त्रीले हटाएर भएपनि बजेट निर्माण प्रकरणको छानविन गर्नुपर्ने बताइसकेका छन्।

यसैगरी अन्य साना प्रतिपक्ष दलहरुले पनि राजिनामा र छानविको माग राख्दै आएका छन्। नागरिक समाजका अगुवाहरुले पनि संयुक्त विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्माको राजिनामा मागेका छन्। विभिन्न दल तथा संगठनहरुले शर्मा विरुद्ध मंगलबारदेखि सडक आन्दोलन पनि गरिरहेको छन्।

प्रकाशित: २२ असार २०७९ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App