कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने बताएकी छन्।
उनले स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी रहेको पनि बताइन्। नेपाल तरुण दल कास्कीले सोमबार पोखरामा विपत् व्यवस्थापन नागरिक सेवामा तरुण दलको भूमिका एवं निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रममा बोल्दै उनले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझाव समेत दिइन्।
प्रधानमन्त्री पत्नी समेत रहेकी आरजुले स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा बालेन शाहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको उल्लेख गरिन्। उनले भनिन्, ‘अहिले जति पनि स्वतन्त्रले जितेका छन् नि, उनीहरू एउटा–एउटा गुण पहिचान गरी नेता बनेका हुन्,। ‘सोसल मिडिया रुटिन अफ नेपाल बन्दलाई बालेनले कतिमा हायर गर्नुभयो?’, आरजुले प्रश्न गरिन्।
विभिन्न पेसासँगै पत्रकारितासमेत छोडेर राजनीति गर्न आएका छन् भन्दै उनले भनिन्, हुन त राम्रो हो, रमाइलै हुन्छ, विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा। तर उनीहरुको काम कस्तो हुन्छ हेर्न बाँकी छ।
स्थानीय तहमा बसेर काम गर्न झन् गाह्रो रहेको भन्दै उनले आफूलाई सुशासनबारे चिन्ता लागेको बताइन् । उनले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गरिन् । ‘सुत्ने बेलासम्म फुर्सद हुँदैन। उठेदेखि सुतेसम्म घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ। मिटिङ, सेमिनार, राजदूत, मन्त्री, के के हो के के।’
प्रकाशित: ६ असार २०७९ ११:४० सोमबार





