१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जिसस सिन्धुपाल्चोकमा कांग्रेस–समाजवादीको जित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) गठबन्धनको प्यानल निर्वाचित भएको छ। जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका हुन्।  

जिसस गठनको लागि आइतबार निर्वाचन भएको थियो। सार्वजनिक परिणामअनुसार कांग्रेसका श्रेष्ठले १३ मत ल्याएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी माओवादी उम्मेदवार गणेश बिकले १० मत पाए। त्यस्तै १३ मत नै ल्याएर गठबन्धनबाट समावजादीका नेपाल उपप्रमुखमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमाले उम्मेदवार जेपी सिलवालले ११ मत पाए। माओवादी–एमालेले गठबन्धन गरेर प्यानलै अघि सारेका थिए।  

जिसस चुनावमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष मतदाता रहन्छन्। जिल्लाका १२ तहका २४ जनप्रतिनिधि मतदाता थिए। कांग्रेस एक्लैसँग १२ मत थियो। समाजवादीको एक मत थपिँदा ५१ प्रतिशतको बहुमत पाएर कांग्रेस–समावजादीको प्यानलै विजयी भयो। अर्को बाम गठबन्धनमा एमालेको सात र माओवादीको चार गरी ११ मत थियो।  

कांग्रेस–समाजवादी गठबन्धनबाट जिसस सदस्यहरुमा कांग्रेसका तारा नेपाली, अम्बिका बस्नेत, जितबहादुर कार्की, बिक्रम तामाङ, सोममाया श्रेष्ठ, बलराम केसी र समाजवादीकी ढकमाया सेतो कोइराला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले जानकारी दिए। उनीहरु सबैले गठबन्धनको १३ मत पाए।  

माओवादीलाई धोका  

मत बढी रहेकाले कांग्रेस–समाजवादी गठबन्धन जित्ने चुनावअघि नै पक्का थियो। चुनाव हारे पनि एमाले–माओवादी गठबन्धनका सबै उम्मेदवारले ११ मत ल्याउने ठानिएको थियो। किन भने यो गठबन्धनसँग ११ मत थियो। तर यस्तो भएन, माओवादीलाई गठबन्धनभित्रैबाट धोका भयो। एमाले उम्मेदवारले गठबन्धनको सबै मत पाउँदा माओवादी उम्मेदवारले पाएनन्। प्रमुखमा माओवादीका बिकले १० मत मात्र माए। जबकी उपप्रमुख उम्मेदवार समाजवादीका सिलवालले सबै ११ मत पाए। 

अझ सदस्यको मतपरिणाम हेर्दा माओवादीलाई धोकै धोका भएको छ। एमालेले चार र माओवादीले तीन सदस्य बाँडेका थिए। एमालेका सदस्यका सबै उम्मेदवारले गठबन्धनको ११ मत पाउँदा माओवादीका उम्मेदवारले चार, आठ, १० मत मात्र ल्याए।  

एमालेसँग तालमेल नगर्ने सत्तारुढ दलहरुको केन्द्रीय नीतिबिपरित जिसस चुनावमा माओवादी–एमाले गठबन्धन बनेको थियो। स्थानीय तह निर्वाचनमा एक स्थानीय तहबाहेक सबैमा उनीहरु एकल रुपमा प्रतिस्पर्धा गरेका थिए। बरु सबैतिर माओवादी–समाजवादीले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए। सहकर्मी दल समावजादी कांग्रेससँग तालमेल गर्न पुगेपछि जिसस चुनावमा अन्तिममा एमाले–माओवादी गठबन्धन बनेको थियो।  

गठबन्धन गरेर जिसस चुनावका लागि मनोनयन दार्ता गरेपछि माओवादी–एमालेले संयूक्त विज्ञप्ति जारी गर्दै जिल्ला तहमा बाम गठबन्धनको माग बढेको दाबी गरेका थिए। चुनावी परिणामले त्यो दाबीलाई असत्य सावित गरेको विश्लेषण हुन थालेको छ। अहिले माओवादी आफूलाई भोट नदिने एमालेका जनप्रतिनिधि र मत नदिनुको कारण खोजीमा जुटेको छ।

प्रकाशित: २९ जेष्ठ २०७९ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App