नेकपा(एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन्। संविधान अनुरुप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भएपनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। उनले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्व बैंकको कालोसूचीमा रहेको बताए।
उनले भने, ‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ। के नेपाल सरकारले जति बेला ठेक्का लगाइयो त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ। त्यो बेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ। अहिले करिव ४ हजार गाडीहरुलाई त्यो प्लेट दिइएकोमा १५ सयको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चामाध्यममा पढ्नमा आएको छ त्यो। तथ्य अगाडी त्यसरी देखिन्छ।’
उनले विदेशी कम्पनीलाई बायोमेट्रिक गर्न दिन नहुने पनि बताए।
प्रकाशित: २४ जेष्ठ २०७९ १२:५१ मंगलबार