coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एक वर्षमा गर्न सकिने कामको रुपमा स्वास्थ्य क्षेत्रलाई रोजेको छुः नगर प्रमुख गुरुङ

वेलकोटगढी नगरपालिकाका प्रुमख जगत गुरुङ।

वेलकोटगढी नगरपालिकाको नवनिर्वाचित प्रमुख जगत गुरुङले १ वर्ष भित्रमा ७ वटा एम्बुलेन्स खरिद गर्ने बताएका छन्। नगरभित्रको साबिक गाउँ विकास समितिहरु बेलकोट, मदानपुर (१–६ र ९), रातमाटे, दुईपिपल, कुमरी र जिलिङमा अवस्थित स्वास्थ्य चौकीहरुको स्तरउन्नती गर्ने, प्रसूति सेवा सञ्चालन गर्ने र ७ वटा एम्बुलेन्स खरिद गरेर स्वास्थ्य सेवालाई प्रभावकारी रुपले सञ्चालन गर्ने लक्ष्य लिइएको प्रमुख गुरुङले बताए।

नगरभित्रका जनताले स्थानीय सरकारबाट स्वास्थ्यमा परिवर्तनको अनुभूति गर्न नपाएकोले एक वर्षमा गर्न सकिने कामको रुपमा स्वास्थ्य क्षेत्रलाई रोजेको उनको भनाई छ। 'वेलकोटगढी नगरपालिकामा एक वर्ष भित्रमा गर्न सकिने भनेर स्वास्थ्य क्षेत्रलाई रोजेको छु। नगरभित्रका जेष्ठ नागरिक, असहाय, अपांगता भएका व्यक्तिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउन म केन्द्रित हुनेछु। स्थानीय स्तरमा नै गुणस्तरीय सुत्केरी सेवा उपलव्ध गराउनेछु,' नगर प्रमुख गुरुङले भने, 'साबिकको ६ वटा गाबिसहरुमा रहेको स्वास्थ्य चौकीहरुको स्तर उन्नती गरी ७ वटा एम्बुलेन्स खरिद गर्नेछु।'

मतदाता समक्ष भोट माग्नको लागि १३ वटै वडाको बस्तीहरुमा पुग्दा सामान्य पूर्वाधारहरु पनि जिर्ण रहेको र निबर्तमान नेतृत्वले संवोधन नगरेको गुनासो जनताहरुबाट प्राप्त भएको नगर प्रमुख गुरुङले बताएका छन्। 'खानेपानीको पहुचबाट टाढा रहेको, बाह्रै महिना सडक सञ्चालन नहुने,  कृषि उपजले बजार नपाएको जस्ता क्षेत्रमा समस्या रहेको नगरबासीबाट गुनासो प्राप्त भएको छ,' नगर प्रमुख गुरुङले भने, 'कृषि नगरको बिशाल क्षेत्र हो। जुन क्षेत्र सिंगो नगरको समृद्धिको आधार हो। सहज रुपमा कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणको व्यवस्था गराउन आवस्यक कदम चाल्नेछु। जनताको जीवन स्तर उकास्ने खालका गतिविधिहरु सञ्चालन गर्नेछु।'

अघिल्लो स्थानीय तहको निर्वाचन २०७४ मा गुरुङको भन्दा २ सय ९२ मत बढी ल्याएर नेकपा एमालेबाट राजेन्द्ररमण खनाल विजयी भएका थिए। दोश्रो स्थानीय तहको निर्वाचनमा उनै खनालको भन्दा ६ हजार ४ सय ६३ मत बढी ल्याएर नेकपा (माओवादी केन्द्र) का जगत गुरुङ नगर प्रमुखमा विजयी भएका हुन्। उक्त नगरमा नेकपा (माओवादी केन्द्र),  नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भएको थियो। केही दिन अघि सम्पन्न मत परिणाम अनुसार गुरुङले १३ हजार २ सय २२ र खनालले ६ हजार ४ सय ६३ मत प्राप्त गरेका थिए।

प्रकाशित: १० जेष्ठ २०७९ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App