१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भूमिहीन सरहका मजदुर बने रौतहटमा एक पालिकाको नगर प्रमुख

रौतहटमा एक अति सामान्य मानिस नगर प्रमुख बनेका छन्। रौतहटको देवाही गोनाही नगरपालिकाको नगर प्रमुखमा झन्डै भूमिहीन सरहका मजदुरले विजय प्राप्त गरेका छन्।

देवाही गोनाही नगरपालिका ९ का प्रेमलाल साह कानु अहिले बन्द रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेडमा मजदुरको रुपमा कार्यरत थिए। चिनी मिल बन्द भएपछि कुनै रोजगारीमा नरहेका र खासै जायजेथा नभएका प्रेमलाल साह कानुको गुजारा मुस्किलले चलेको थियो। २०७४ को पालिका चुनावमा नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखको उम्मेदवार बनेका प्रेमलाललाई यसपटक नेकपा एमालेले उम्मेदवार बनाएको थियो।

नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको निकट मानिने नवनिर्वाचित नगर प्रमुख साहले ४२९२ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद यादवले ३२५६ मत प्राप्त गरेका छन्। यसै गरी उपमेयरमा नेकपा एमालेकी परनिया देवी पटेलले सर्वाधिक लोकप्रिय मत हासिल गर्दै विजयी भएकी छन्। उपमेयर पटेलले ४४४५ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका ईश्वरीलाल प्रसाद यादवले ३५८० मत प्राप्त गरेका छन्।

देवाही गोनाही नगरपालिकाको उपमेयरमा पटेल दोस्रो पटक निर्वाचित भएकी हुन्। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

देवाही गोनाही नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेसँगै रौतहटमा दुई पालिकामा नेकपा एमालेले जित निकालेको छ। यसअघि मौलापुर नगरपालिकामा नेकपा एमालेले सम्पूर्ण बहुमतसहित जित हासिल गरेको थियो।

नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेपछि रौतहटमा प्रभु साहसित मौलापुर र कटहरिया नगरपालिकाका नगर प्रमुखहरु एमालेमै प्रवेश गरेका थिए। मौलापुर र देवाही गोनाही नगरपालिका गरी दुई पालिकालाई प्रभु साहले जोगाउन सफल भएका छन्। गरुडा नगरपालिकामा पनि नेकपा एमालेले निरन्तर अग्रता हासिल गरेको देखिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App