२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तहसनसह एमालेकाे पराम्परागत गढ: फुटको लाभ कांग्रेस, माओवादीलाई

२०७४ को स्थानीय तह चुनावमा सिन्धुपाल्चोकका १२ मध्ये सात तह जितेर एमाले पहिलो पार्टी बनेको थियो। बुधबारसम्म १० पालिकाको नतिजा सार्वजनिक हुँदा एमाले तेस्रो स्थानमा खुम्चिसकेको छ।  मतगणना भइरहेका दुई तह जिते पनि अब एमाले दोस्रो हुने छैन।  

एमालेले एक स्थानीय तह थप्दा पहिले जितेका पाँच पालिका गुमाएको छ। पहिला थोरै स्थानीय तहमा चित्त बुझाएका कांग्रेस र माओवादीले यो चुनावबाट सबैभन्दा बढी लाभ लिएका छन्। यो पटक एमाले अघिल्लो पटकका कांग्रेस, एमालेभन्दा पनि खराब अवस्था छ। कम्युनिस्ट उर्भरभूमि र एमाले गढ मानिएका तह नै तहसनहस भएको छ। शक्तिशाली एमाले यो अवस्थामा पुग्नुको एउटै मात्र कारण हो, पार्टीमा आएको विभाजन।

अघिल्लो चुनावमा कांग्रेस तीन र माओवादी दुई तह जितेर क्रमशः दोस्रो र तेस्रो स्थानमा थिए। सार्वजनिक नतिजाअनुसार पाँच तह जितेर कांग्रेस पहिलो र चार स्थानीय तहमा विजय हाँसिल गरेर माओवादी दोस्रो भइसकेका छन्।  

मतगणना जारी पाँचपोखरी र सुनकोसी गाउँपालिकामा भने एमाले प्रतिस्पर्धामा छ। पाँचपोखरीमा एमाले र माओवादी–कांग्रेस गठबन्धबीच प्रतिस्पर्धा छ। यो पालिका अघिल्लो पटक एमालेले जितेको थियो। सुनकोसीमा कांग्रेस र एमाले–माओवादी गठबन्धनबीच टक्कर चलिरहेको छ। यो पलिका कांग्रेसले जितेको थियो।  

पहिला तीन तह जितेको कांग्रेसले इन्द्रावती गाउँपालिका गुमाउँदा हेलम्बु गाउँपालिका रक्षा गर्दै भोटेकासी, त्रिपुरासुन्दरी गाउँपालिका तथा बाह्रविसे र मेलम्ची नगरपालिका गरी चार थपेको छ। माओवादीले पनि चौतारा साँगाचोकगढी नगरपालिका रक्षा गर्दा भोटेकोसी गाउँपालिका गुमाउँदै जुगल, बलेफी र लिसंखुपाखर गाउँपालिका थपेको छ।  

एमालेले इन्द्रावती गाउँपालिका कांग्रेसबाट खोसेको छ। प्रमुख झम्क नेपाल र उपप्रमुखमा शोभना तामाङ विजयी भए। उसले अघिल्लो पटक जितेका बाह्रविसे, मेलम्ची नगरपालिका बलेफी, जुगल र त्रिपुरासुन्दरी गाउँपालिका गुमाएको छ। बाह्रविसेको प्रमुखमा कांग्रेसका बालकृष्ण बस्नेत, उपप्रमुखमा मञ्जु तामाङ निर्वाचित भए।  

एमाले परम्परागत गढ मेलम्ची नगरपालिका प्रमुखमा कांग्रेसका आइतमान तामाङ प्रमुख चुनिए। उपप्रमुुख भने एमालेकी उमा प्रधानले जितिन्। यो एमाले स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङङ नगर हो। उनको वडा नै कांग्रेसले जित्यो। बलेफी गाउँपालिका अध्यक्षमा माओवादीका गंगा तामाङ विजयी भए। उपाध्यक्ष कांग्रेसकी सरु लामा तामाङ चुनिइन्। जुगल गाउँपालिकाका अध्यक्षमा माओवादीका रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भए। यहाँ कांग्रेस–एमालेको गठबन्धन थियो। भोटेकोसी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुबै पद जित्दै कांग्रेसले पुरानो साख फर्काएको छ। यहाँ अध्यक्षमा पासाङनुर्बु शेर्पा र उपाध्यक्षमा दिछेन शेर्पा निर्वाचित भए।  

कम्युनिष्ट आन्दोलनको उर्भभूमि मानिएको त्रिपुरासुन्दरी गाउँपालिका कांग्रेसले भत्काएको छ। पालिका अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीताकुमारी नेपाल विजयी भएका छन्। यो एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहराको गृहपालिका हो। उनको वडा पिस्कर नै कांग्रेसले जित्यो। पञ्चायतकालमा पिस्कर भुमिगत कम्युनिस्ट नेताहरुको सेल्टर थियो। कम्युनिस्ट बोहरा, अष्टलक्षमी शाक्य, झलनाथ खनाल लगायत नेताहरु लामो समय यहाँ सेल्टर लिइ बसेका थिए। त्यसैले कम्युनिस्टको अर्भरभूमि मानिएको त्रिपुरासुन्दरी त्यसयता एमाले किल्ला बनेको थियो।  

चौतारा नगरपालिका माओवादीले यो पटक पनि रक्षा गरेको छ। नगर प्रमुखमा माओवादीका कृष्णप्रसाद सापकोटा र समाजवादीकी सीता थापा उपप्रमुखमा विजयी भए। नगरप्रमुख सापकोटा सभामुख अग्निप्रसाल सापकोटाका कान्छा भाइ हुन्। हेलम्बु गाउँपालिका अध्यक्षमा कांग्रेसका निमाग्याल्जेन शेर्पा दोहोरिएका छन्। उपाध्यक्ष कांग्रेसकै अप्सरा लम्साल लामिछानेले जितिन्। एमालेबाट खोस्दै लिसंखुपाखर गाउँपालिकाको अध्यक्षमा राजु लामा र उपाध्यक्ष मिठु तामाङ निर्वाचित भए।

प्रकाशित: ४ जेष्ठ २०७९ १६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App