१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तनहुँमा मतगणना सुरु

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ। जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो।

बन्दीपुर, म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ। अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ।

व्यास नगरपालिकामा भने मतगणनामा अन्योल भएको छ। व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनः मतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ। जिल्लाका दश वटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

देवघाट गाउँपालिकाका १२ हजार ८१५ मध्ये आठ हजार ८६६ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले जनाए। म्याग्दे गाउँपालिकामा १८ हजार १०५ मतदातामध्ये ११ हजार ९४३ मत खसेको छ। घिरिङ गाउँपालिकामा १४ हजार ६७६ मतदातामध्ये आठ हजार ७१६ मत खसेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले बताए। आँबुखैरेनी गाउँपालिकामा १३ हजार ६३१ मतदातामध्ये नौ हजार २७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए।

त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार ६३८ मतदातामध्ये १० हजार १९५ मत खसेको छ। ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मध्ये १० हजार ६६२ मत खसेको छ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन्। छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन्। त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन्। 

प्रकाशित: ३१ वैशाख २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App