समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जना साना बचतकर्ताको निक्षेप फिर्ता गरेको छ।
सरकारले समस्याग्रस्त घोषित गरेका यी सहकारीको ऋण असुलीबाट प्राप्त रकमबाट पीडितहरूलाई क्रमशः बचत फिर्ता गर्ने प्रक्रिया अघि बढाएको हो।
समितिका अनुसार यस चरणमा लालीगुराँस बहुउद्देश्यीय सहकारीका ७० जना र आइडियल यमुना सहकारीका १२ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्।
योसँगै लालीगुराँस सहकारीका मात्रै हालसम्म ३०८ जना बचतकर्ताको निक्षेप फिर्ता भइसकेको समितिले जनाएको छ। समितिले पहिलो चरणमा थोरै रकम जम्मा गरेका साना बचतकर्ताहरूलाई प्राथमिकतामा राखेर भुक्तानी दिइरहेको छ।
समितिले ५ लाख रुपैयाँभन्दा कम बचत भएकालाई साना बचतकर्ता र सोभन्दा बढी रकम भएकालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरेको छ।
हाल समस्याग्रस्त घोषित सहकारीका करिब ७६ हजार बचतकर्ताको कुल ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ। यसमध्ये ५ लाखभन्दा बढी बचत गर्नेहरूको सङ्ख्या करिब १८ हजार रहेको समितिले जनाएको छ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त हुने रकमबाट बचत फिर्ता गर्ने कार्यलाई समितिले निरन्तरता दिएको छ।
प्रचलित कानुनी व्यवस्था बमोजिम क्रमशः निक्षेपको आधारमा वर्गीकरण गरी सबै बचतकर्ताको रकम फिर्ता गरिने समितिले प्रस्ट पारेको छ।
पछिल्लो समय समितिले समस्याग्रस्त सहकारीका सञ्चालक तथा ऋणीहरूबाट बक्यौता उठाउने कार्यलाई समेत तीव्रता दिएको छ।
समितिका अनुसार साना बचतकर्ताको समस्या छिटो समाधान गर्न ऋण असुलीलाई मुख्य प्राथमिकतामा राखिएको छ।
ऋण असुलीबाट प्राप्त हुने रकम जम्मा हुने बित्तिकै अन्य बचतकर्तालाई पनि क्रमशः भुक्तानी दिने कार्यतालिका रहेको समितिले जानकारी दिएको छ।
प्रकाशित: ८ असार २०८३ २१:२३ सोमबार





