निर्वाचन मिति नजिकिँदै गर्दा दिनहुँ झडप हुन थालेपछि रुकुमको वातावरण त्रसित बनेको छ। द्वन्द्वको समयमा १० वर्ष तड्पिएको रुकुम निर्वाचनको समयमा फेरि अशान्त बनेको छ। लामो समय चलेको द्वन्द्वले छोडेको तिक्तताले आज पनि आम रुपमा असर गरिरहेको छ।
झडप नगर्न कार्यकर्तालाई अपिल गरेको १२ घण्टा नपुग्दै रुकुम पश्चिममा माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका छन्। सोमबार माओवादी जिल्ला संयोजक गोविन्द रोका र कांग्रेस सभापति प्रेमप्रकाश वलीले संयुक्त अपिल जारी गरेका थिए।
अघिल्लो निर्वाचनमा माओवादीले क्लिनस्विप बनाएको यहाँ यो पटक प्रतिस्प्रर्धा कडा बनेसंगै उसका कार्यकर्ताहरु अलि उग्र बनेको कांग्रेस एमालेको आरोप छ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले नेपाली काँग्रेस कार्यकर्ताहरुमाथि आक्रमण गरेका हुन्।
सोमबार राति घरमा बसिरहेको समयमा माओवादी कार्यकर्ताहरुले घेराबन्दी गरेर आक्रमण गर्दा चार जना काँग्रेस कार्यकर्ताहरु घाइते भएका हुन्। घाइते हुनेमा नेपाली काँग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा सभापति सुर्य प्रकाश मल्ल, वडा सदस्य मित्रलाल ओली, राजेश केसी, हुपजंग बोहरा घाइते रहेका छन्। घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ। सोमबार दिउँसो आठविसकोट नगरपालिका वडा नम्बर १० घारीखोलामा माओवादीका कार्यकर्ताले कांग्रेस कार्यकर्ताको मोटरसाइकलमा आगजनीसँगै अरु सवारी साधनमा तोडफोड गरेका थिए।
चुनावी प्रचारप्रसारमा गएका आफ्ना कार्यकर्तामाथि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेको नेपाली कांग्रस रुकुम पश्चिमको आरोप छ। घरदैलोका क्रममा आमनेसामने भएपछि कांग्रेसका कार्यकर्ताहरु आफूले प्रयोग गरेका मोटरसाइकल तथा जिप छोडेर भागेका थिए। उनीहरु भागेपछि माओवादी कार्यकर्ताले ती सवारी साधनमा आगजनी गरेका हुन्।
घटनामा कांग्रेस कार्यकर्ताले प्रयोग गरेको भे८प ३६२० नम्बरको मोटरसाइकलमा आगो लगाइएको छ। आगजनीबाट उक्त मोटरसाइकल पूर्ण रुपमा क्षति भएको रूकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए।
यस्तै भे७प ३०६५ नम्बरको मोटरसाइकल माओवादी कार्यकर्ताले सडकबाट खसालिदिएका छन्। रा४प१८७० नम्बरको मोटरसाइकलको लुकिङ ग्लास फुटाइदिएका छन्। सोही स्थानमा कांग्रेस कार्यकर्ताले छोडेर भागेको लु१ ज २६६८ नम्बरको जिपका सबै सिसाहरु समेत फुटाईएको छ। कांग्रेस कार्यकर्ता लुकेको त्रिवेणी प्रहरी चौकी समेत आक्रमण गरेका माओवादी कार्यकर्तालाई संयम बन्न उसकै दलका नेतृत्वले निर्देशन दिनुपर्ने एक सुरक्षा अधिकारी बताउछन्। ‘यो बेलामा प्रहरीले झडप रोक्ने भन्दा पनि राजनितिक नेतृत्वले नै आफ्ना कार्यकर्ताहरुलाई संयम बनाउनु जरुरी छ।’
यहाँ झडपका क्रममा अहिलेसम्म दर्जन बढी घाईते भईसकेका छन् भने तोडफोडबाट लाखौंको भौतिक क्षति समेत भएको छ। यसैबीच रुकुम प्रहरीले केही माओवादी कार्यकर्ताहरु पक्राउ गरेको बुझिएकाे छ तर यहाँका प्रहरी प्रमुख तथा प्रहरी प्रवक्ता सम्पर्कमा आउन र सुचना दिन चाहादैनन्।
रुकुमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार प्रहरी चौकी तोडफोड गर्नेहरु पक्राउ परेका छैनन्। ‘घटनामा संलग्न केही पक्राउ परेका छन्। बाहिरबाट थप सुरक्षाकर्मी बोलाएर परिचालन गरिएको छ। दलहरुले समझदारी पालना नगरेका कारण असजिलो भएको हो।’ घिमिरे भन्छन् ‘सत्ता गठबन्धन दलभित्र तिब्र चुनाबि प्रतिस्पर्धाका कारण झडप बढेको हो। लामो समय चलेको द्वन्द्वको सामाजिक असरले प्रभाव पारिरहेको छ। तत्कालीन असर भन्दा द्वन्द्वको प्रभावले बढी तनाव भएको हो।’
प्रकाशित: २७ वैशाख २०७९ ०६:३६ मंगलबार