२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: अधिकांशमा पुरानै अनुहार

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश पालिकामा पुरानै अनुहार दोहोरिएका छन्। २०७४ सालको स्थानीय तह निर्वाचन जितेका मात्रै नभएर हारेका उम्मेदवारहरू पनि फेरि दोहोरिएका छन्। सुर्खेतमा ९ वटा स्थानीय तह छन्। कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा कांग्रेसले नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ भने एमालेले अघिल्लो निर्वाचनमा उपमेयर निर्वाचितलाई उम्मेदवार बनाएको छ।

वीरेन्द्रनगरमा कांग्रेसबाट उपेन्द्रबहादुर खड्का माओवादी केन्द्रसँगको गठबन्धनबाट मेयर पदको उम्मेदवार छन् भने एमालेले एक कार्यकाल उपमेयर भइसकेकी मोहनमाया ढकाललाई मेयर पदमा उम्मेदवार बनाएको छ। वीरेन्द्रनगरको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरी उम्मेदवार छन्। दशकअघि वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका उनी यसपटक फेरि नगर प्रमुखको उम्मेदवार बनेका छन्। समाजवादीले धना शाहीलाई मेयरमा उम्मेदवार बनाएको छ।

सुर्खेतको दोस्रो ठूलो नगरपालिका गुर्भाकोटमा कांग्रेसले मेयर र उपमेयर दुवै पुरानै अनुहार दोहोर्‍याएको छ। कांग्रेसले अघिल्लो निर्वाचनमा मेयरमा विजयी भएका हस्त पुन र उपमेयरमा विजयी मैना विकलाई दोहोर्‍याएको हो। भेरीगंगा नगरपालिकामा कांग्रेसले नयाँ अनुहारलाई नगर प्रमुख बनाउँदा एमालेले २०७४ को निर्वाचनमा पराजित यज्ञप्रसाद ढकाललाई दोहोर्‍याएको छ। चिंगाड गाउँपालिकामा अघिल्लो पटक माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार बोधविक्रम जिसी अहिले एमालेबाट फेरि उम्मेदवार बनेका छन्।

दैलेखमा पनि पुरानै अनुहार दोहोरिएका छन्। ११ स्थानीय तह रहेको दैलेखमा चार वटा गाउँपालिका अध्यक्ष फेरि चुनावी मौदान होमिएका छन्। कांग्रेसबाट निर्वाचित गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, डुंगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्ल र नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगर र नेकपा एकीकृत समाजवादीका महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही फेरि दोहोरिएका छन्। एकीकृत समाजवादीबाट नारायण नगरपालिकाको उपप्रमुख सावित्री मल्ल फेरि उपप्रमुखमै दोहोरिएकी छन्।

सल्यानको बनगाढकुपिण्डे नगरपालिका प्रमुख गोविन्द पुन पनि फेरि दोहोरिएका छन्। उनी नेकपा एमालेबाट अघिल्लो पटकको निर्वाचन नगर प्रमुख निर्वाचित भएका थिए। वैशाख ३० गते हुने निर्वाचनमा पनि उनी एमालेबाट नगर प्रमुखको उम्मेदवार छन्। जाजरकोटको भेरी नगरपालिकाका नगर प्रमुख सिपी घर्ती पनि फेरि उम्मेदवार बनोका छन्।

कालिकोटमा पनि अधिकांश पुरानै अनुहार दोहोरिएका छन्। कालिकोटका ९ स्थानीय तहमध्ये सान्नीत्रिवेणी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार डम्मरबहादुर शाही पुरानै अनुहार हुन्। माओवादी केन्द्रबाट एक कार्यकाल अध्यक्षको कार्यकाल पूरा गरिसकेका उनी फेरि त्यहीं पदमा दोहोरिएका छन्।

२०७४ को निर्वाचनमा नेकपा एमालेबाट नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा विजयी भएका धीरबहादुर विष्ट पनि दोहोरिएका छन्। उनी अहिले एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन्। शुभकालिका गाउँपालिकामा एक कार्यकाल उपाध्यक्ष भइसकेकी पम्फा शाही पुनः उपाध्यक्षमै दोहोरिएकी छन्। अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएकी शाही अहिले समाजवादीबाट उम्मेदवार बनेकी छन्।

खाडाचक्र नगरपालिकाका प्रमुख जशीप्रसाद पाण्डे पनि यो पटक दोहोरिएका छन्। उनी एमालेबाट पुनः नगर प्रमुख पदको उम्मेदवार छन्। अघिल्लो पटकका विजेता मात्रै होइन्, पराजित भएकाहरू पनि पुनः उम्मेदवार बनेका छन्। कालिकोटको तिलागुफा नगरपालिकाको नगर प्रमुखमा पराजित नेपाली कांग्रेसका शंकरप्रसाद उपाध्याय पुन: नगर प्रमुखको उम्मेदवार छन्।

पुनः उम्मेदवारी दिएका अधिकांशले पाँच वर्षसम्म आफूहरूले राम्रा काम गरेकाले फेरि जनताको आवश्यकता र मागका आधारमा उम्मेदवारी दिएको बताउने गरेका छन्। ‘पाँच वर्षसम्म महत्त्वपूर्ण कामहरू गर्‍यौं, जनताले फेरि आवश्यकता महसुस गर्नुभयो,’ बनगाढकुपिण्डे नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका पुनले भने, ‘केही अधुरा कामहरू पूरा गर्नका लागि पनि फेरि उम्मेदवार हुनुपर्‍यो।’ कर्णालीमा नगर प्रमुख–उपप्रमुख मात्रै होइन्, वडाध्यक्षमा पनि पुरानै अनुहारहरू दोहोरिएका छन्।

प्रकाशित: २६ वैशाख २०७९ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App