६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगर त्रिपक्षिय भिडन्त

सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरमा कस्ले बाजी मार्ला? प्रदेशको अस्थाई राजधानी रहेको यस प्रदेशको व्यापारिक, शैक्षिक र औद्योगिक केन्द्र समेत रहेको धनगढी उपमहानगरको चुनावलाई सबैले विशेष चासोका साथ हेरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाको निर्वाचन क्षेत्र रहेको र राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेका कारण पनि धनगढी उपमहानगरले चर्चा बढी पाएको छ। मतदानको मिती नजिकिदै गर्दा चुनावी सरगर्मी बढेको छ।

धनगढी उपमहानगरपालिकाको मेयर पदमा राजनीतिक दल र स्वतन्त्र तर्फबाट गरेर ९ जना उम्मेदवार रहेपनि त्रिपक्षिय भिडन्त हुने विश्लेषण गरिएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वड, नेकपा एमालेबाट रणबहादुर चन्द र स्वतन्त्रका उम्मेदवार गोपाल हमालबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ।

तीन जनामा कस्ले बाजी मार्ला भनेर एकिन भन्न नसकिने अवस्थाको कडा प्रतिस्पर्धा रहेको स्थानिय बताउँछन्। गत निर्वाचनमा आफ्नै पार्टीबाट चुनाव जितेको र अहिले गठबन्धन दलको समेत साथ भएकाले चुनाव जित्ने गठबन्धनका उम्मेदवार वडको भनाइ छ।

जनताका माझ विकासका काम गरेर लोकप्रिय रहेको उनको दाबी छ। धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन्। यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन्।

धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए। भने तेश्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए।

स्वतन्त्र हमाल अहिले पनि मैदानमा छन्। भ्रष्टाचार नगर्ने र धनगढी उपमहानगरपालिकाको सवारीसाधन लगायत कुनै सेवा सुविधा नलिने घोषणा गरेका हमालले धनगढीको नमुना विकास गर्ने ऐजेण्डा अघि सारेका छन्। गत वर्ष चुनाव चिन्ह ढिलो पाएको र यस पटक गाउँ-गाउँमा पनि प्रचार गर्न पाएको उल्लेख गर्दै विकासको चाहना भएका जनताले आफूलाई जिताउने उनको भनाइ छ।

विकासका लागि आफ्नो उम्मेदवारी भएकाले जित सुनिश्चित हुने उनको भनाइ छ। गत निर्वाचनमा उनले धनगढी बजार क्षेत्रबाट राम्रो मत पाएपनि गाउँबाट कम मत पाएका थिए। गाउँबाट उनले पाउने मतले यस पटक पनि उनको भाग्यको फैसला गर्ने विश्लेषण गरिएको छ।

एमालेका उम्मेदवार चन्द अघिल्लो ५ वर्षे कार्यकाल असफल भएको, भ्रष्टाचार बढेको र विकासका काम हुन नसकेकाले यहाँका जनताको रोजाइमा आफू रहेको बताउँछन्। वड टेस्टेड भएर असफल भएको र बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार विकल्प हुन नसक्ने भएकाले यहाँका जनताको चाहान बमोजिमको विकल्प एमाले रहेको उनको भनाइ छ।

एमालेको पंक्ती एकताबद्ध भएर चुनावी  अभियान सक्रिय हुनु, जनताले विकासका लागि मेयरमा नयाँ अनुहार चाहेको र राना समुदायबाट एमालेको उपमेयर हुनु जस्ता कारण एमालेको उम्मेदवार चन्द पनि बलियो रुपमा रहेको विश्लेषण गरिएको छ।

विद्यार्थीकालदेखि राजनीति थालेका युवा नेता चन्द अहिलेसम्म लाभको पद खाएका छैनन् भने स्वच्छ र इमान्दार उनको छवि पनि मत प्राप्त गर्न सहयोगी बन्ने स्थानीय बताउँछन्। गठबन्धन भित्रको असन्तुष्ट मत र राना समुदायको मत चन्दले प्राप्त गर्न सकेमा उनी पनि दौडमा प्रतिस्पर्धीलाई उछिन्न सक्ने विश्लेषण गरिएको छ।

चुनावको मिति आउन एक साता बाँकी रहदाँसम्म धनगढी उपमहानगरको मेयरमा चुनावमा कस्ले बाजी मार्ला भनेर एकिन भन्न सकिने अवस्था तयार नभएको विश्लेषक बताउँछन्। धनगढी उपमहानगरपालिकामा करिब ३२ हजार राना र थारु समुदायको मत रहेको छ। गत प्रतिनिधी शभाको निर्वाचनमा नारदमुनी रानाले आरजु देउवालाई पराजित गरेका थिए।

गठबन्धनवाट माओवादी केन्द्रका शान्ती अधिकारी र एमालेका कन्दकला रानाबीच प्रतिस्पर्धा हुनेछ। नेपाली काग्रेसका प्रभाकर भ्रण्डारी गठबन्धनप्रति असन्तुष्टी जनाउँदै उपमेयरमा स्वतन्त्र उम्मेदवार भएका छन्। उनको उम्मेदवारीले एमालेको उम्मेदवार रानालाई फाइदा पुग्ने आंकलन गरिएको छ।

प्रकाशित: २४ वैशाख २०७९ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App