चैत २० गते भरतपुरमा बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको बैठकले सर्वसहमत रूपमा भरतपुर महानगरपालिकाको प्रमुख आफूले पाउनुपर्ने निर्णय गर्यो। सोही निर्णयअनुसार, कांग्रेस चितवनको टिम केहीपछि महानगर प्रमुख पदका लागि दबाब दिन काठमाडौं पुग्यो। पार्टीका सभापति शेरबहादुर देउवादेखि कांग्रेसका पदाधिकारीसमेतलाई जिल्लाको निर्णयसहितको पत्र बुझायो। भरतपुर महानगरको प्रमुख पद नेपाली कांग्रेसले पाउनुपर्ने भन्दै चर्को दबाब दिए पनि केन्द्रले उनीहरूको माग सुनुवाइ गरेन।
सत्तारुढ गठबन्धनबीच महानगरको भागबन्डा लगाउँदा भरतपुर नेकपा (माओवादी केन्द्र)को भागमा पर्यो। तर, चितवनमा केन्द्रको निर्णयप्रति चर्को विरोध भयो। त्यसमा चितवन जिल्लामै घर रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइराला, पार्टीका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, टीकाराम न्यौपानेसहितका शेखर कोइराला पक्षका नेता खुलेरै विरोधमा उत्रिए।
उनीहरूले नै पूर्वसांसद जगन्नाथ पौडेललाई उम्मेदवारी दिनका लागि सघाइरहेका थिए। तर, उम्मेदवारी फिर्ता लिने समयसम्म तीन नेताहरूले रेनु दाहालले उम्मेदवारी फिर्ता लिनुपर्ने जस्ता अभिव्यक्ति सामाजिक सञ्जालमा आएका थिए। तर, रेनुको विरोधमा उत्रिएका चितवनका कांग्रेस नेताहरू गठबन्धनको पक्षमा खुलेरै लाग्न थालेका छन्।
चुनावी प्रचारप्रसारमा नदेखिएका नेपाली कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ बिहीबार गठबन्धनले भरतपुरमा आयोजना गरेको विशाल आमसभामा देखिए। उनले सत्तारुढ गठबन्धनका नेताहरूलाई जगन्नाथ पौडलसँग केन्द्रीय नेताहरूको छलफल कम भएको जिकिर गरे। ‘पहिले नै नेताहरू उहाँसँग छलफल गर्न चाहनुभएन,’ उनले भने, ‘उहाँहरूलाई राखेर सम्बोधन गर्नुपर्दथ्यो।’
गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताएका छन्। ‘नेताज्यूहरूले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतिज्ञा गर्नुपर्यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन्,’ उनले भने, ‘तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुस्। हामी तलका कार्यकर्ता तपाईंहरूको पछिपछि लाग्छौं।’
कांग्रेसका निर्वतनमा सभापति जितनारायण श्रेष्ठ पनि भरतपुर महानगरपालिका माओवादीलाई दिन हुँदैन भन्ने पक्षमै हुन्। कांग्रेसको जिल्ला अधिवेशनमा चुनावी मुद्दा नै यही राखेका थिए। तर, अन्तिम समयमा आएर उनले केन्द्रीय समितिले भनेको निर्णय मान्ने भन्दै गठबन्धनलाई दिगो बनाउनुपर्ने बताएका थिए। ‘हाम्रो सोझो सभापति जे भन्यो त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम धोका दिने काम नहोस्,’ उनले भने, ‘जे प्रतिबद्धता ५ वर्षअघि गरेका थियौं, त्यो तीन महिनापछि टुट्यो।’ उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने पनि बताए।
भरतपुर महानगरपालिकमा कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनका पक्षमा खुलेका नेताहरू विस्तारै गठबन्धनतिर आउन थालेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ सहितका नेताले उम्मेदवारी दिन अनुरोध गरेपनि पौडेलले फिर्ता लिएनन्। बिहीबार बिहान रामचन्द्र पौडेलले भरतपुरमा भेटेरै फिर्ता लिन अनुरोध गरेका थिए। तर, आफू धेरै अगाडि बढेको भन्दै फिर्ता लिन नमानेको पौडेलका स्वकीय सचिव नवीन बरालले बताए।
‘आज बिहान कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महासमिति सदस्य मीना खरेल रामचन्द्र पौडेललाई भेट्न जानुभएको थियो,’ बरालले भने, ‘बरिष्ठ नेता पौडेलले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेपनि अहिले फिर्ता नलिने भन्दै बाहिरिनुभयो।’ भरतपुरमा गठबन्धनले आमसभा गरेपनि महानगर प्रमुखका उम्मेदवार बिहीबार दिनभर पश्चिम चितवनमा चुनावी अभियानमा व्यस्त थिए।
भरतपुरमा माओवादीलाई प्रमुख र उपप्रमुख कांग्रेसको भागमा परेको छ। माओवादीले प्रचण्डपुत्री रेणु दाहाल र कांग्रेसले उपप्रमुखमा चित्रसेन अधिकारीलाई उठाएको छ। कांग्रेसभित्रबाट विरोध भएपछि प्रधानमन्त्री देउवा नै आएर चुनावीसभालाई सम्बोधन गरेका छन्।
उनले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए। ‘गठबन्धन टुटाउने षड्यन्त्र भएको छ, यो षडयन्त्रबाट हाम्रो पार्टी खत्तम हुन्छ, उहाँहरूको पनि खत्तम हुन्छ। कुनै पनि हालतमा गठबन्धन टुटाउने षडयन्त्र भरतपुर र चितवनबाट हुन सक्दैन र हुनु हुँदैन’–उनले भने। गठबन्धनको पक्षलाई जिताउन भन्दै भरतपुरमा पूर्वप्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड,’ पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीलगायतका नेता आएका थिए।
प्रकाशित: २३ वैशाख २०७९ ०४:१४ शुक्रबार