६ श्रावण २०८१ आइतबार
image/svg+xml
राजनीति

ललितपुर महानगरपालिका: चिरिबाबु र हरिकृष्णबीच टक्कर

स्थानीय तहको निर्वाचन नजिकनजिक आउँदै गर्दा काठमाडौंसँग जोडिएको सांस्कृतिक नगरी ललितपुर महानगरपालिकामा प्रमुख दलहरूले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा आफ्ना उम्मेदवारलाई जिताउन चुनावी अभियान तीव्र पारेका छन्। ललितपुर महानगरमा यसपटक पनि मेयरमा अघिल्लै निर्वाचनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सत्तारूढ गठबन्धनले निवर्तमान मेयर एवं कांग्रेस नेता चिरिबाबु महर्जनलाई अघि सारेको छ। प्रमुख प्रतिपक्षी एमालेले पनि यसअघिका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भएको थियो। महर्जन र व्यञ्जनकारबीच हारजित हुँदा ३ सय २६ मत मात्रै फरक परेको थियो। मेयरमा निर्वाचित महर्जनले २४ हजार ६ सय ४२ र प्रतिद्वन्द्वी व्यञ्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए।

यसपटक निर्वाचनमा दुवै पार्टीबाट उम्मेदवार दोहोरिए पनि चुनावी माहोल र तालमेलको अवस्था केही फरक छ। कांग्रेस उम्मेदवार महर्जनलाई सत्तारूढ गठबन्धनको साथ छ। उनले एक कार्यकाल काम पनि गरिसकेका छन्। महर्जनले गरेका कामलाई नै यसपटक मतदाताले मूल्यांकन गर्दै पुनः भोट दिने गठबन्धनको विश्वास छ।

महर्जनले राम्रो काम गरेकाले पुनः जित्ने दाबी गठबन्धनले गरिरहँदा एमालेले भने महर्जनले पाँच वर्षमा कुनै उल्लेख्य काम नगरेको आरोप लगाइरहेको छ। महर्जनले उल्लेखनीय काम नगरेकै कारण मतदाताले व्यञ्जनकारलाई भोट दिने दाबी एमालेको छ।

एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य गत निर्वाचनदेखि हालसम्म अन्य पार्टीबाट ८ हजार ३ सय ४३ मतदाता आफ्नो पार्टीमा प्रवेश गरेका कारण यसपटक चुनाव जित्न सहज हुने बताउँछन्। त्यस्तै तत्कालीन नेकपाको निरन्तरताकै रूपमा माओवादी केन्द्रको एउटा शक्तिशाली समूह एमालेमै रहेको र उपमेयरको उम्मेदवार पनि पूर्वमाओवादी समूहबाटै भएकाले माओवादी मत पनि एमालेले नै प्राप्त गर्ने उनको विश्वास छ। ‘यो पाँच वर्षको अवधिमा मेयर महर्जनले बोल्ने मात्र काम गर्नुभयो। जनताको दैनिक जीवनमा अर्थ राख्ने कुनै काम गर्नुभएन। त्यसैले यसपटक जनताले उहाँको विकल्प खोज्दै एमालेका उम्मेदवारलाई निर्वाचित गर्छन्,’ उनले भने।

महर्जनले पाँच वर्ष पहिले ललितपुरमा ट्राफिक जाम अन्त्य गर्न सुरुङ निर्माणको प्रतिबद्धता गरे पनि कार्यकाल सकिँदासम्म डिपिआर पनि तयार हुन नसकेको उनको आरोप छ। ‘महानगरका भित्री सडकको अवस्था पनि निकै खराब छ। पानी पर्दा महानगर क्षेत्रका गल्ली डुब्छन्। महानगरको बेरुजुसमेत १० प्रतिशतभन्दा बढी छ। निर्वाचनले त्यसको मूल्यांकन गर्नेछ,’ उनले भने।

एमालेका तर्फबाट महानगर उम्मेदवार व्यञ्जनकार पाँच वर्षको अवधिमा वाग्मतीमा धेरै पानी बगिसकेकाले यो निर्वाचनको नतिजा पहिलाको भन्दा फरक आउने अर्थात् आफूले जित्ने दाबी गर्छन्। २०७४ सालको निर्वाचनमा पनि आफूले निर्वाचन जितेको तर षड्यन्त्र गरेर हराइएको उनको आरोप छ। 

उनको भनाइमा यसबीचमा पार्टीले संगठन विस्तारमा धेरै काम गरेको छ र जनता पनि सचेत भइसकेका छन्। ‘अहिलेका मेयरले राम्रो काम गर्न नसक्नु नै मेरो जितको आधार हो,’ उनले भने। उनले आफू मेयरमा निर्वाचित भए ललितपुरलाई समृद्ध सांस्कृतिक महानगर बनाउने प्रतिबद्धता जनाए। शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगारी सिर्जनाका लागि पनि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने वाचा पनि उनले गरे।

कांग्रेस ललितपुरका पूर्वसभापति एवं केन्द्रीय सदस्य मदन अमात्य मेयरका रूपमा महर्जनले पाँच वर्षमा गरेका काम नै गठबन्धनका उम्मेदवारलाई जित दिलाउने प्रस्ट आधार भएको बताए। ‘निवर्तमान मेयर महर्जनले पाँच वर्षमा गरेका कामका कारण गठबन्धन नभए पनि जित्ने अवस्था छ। उहाँले यस अवधिमा धेरै राम्रा काम गर्नुभएको छ। त्यसकारण जनता उहाँको पक्षमा खुलेर लागेका छन्,’ अमात्यले भने। यसपटकको निर्वाचनमा महानगरवासी मतदाता चिरिबाबुको विकल्प नभएको भन्दै उनकै पक्षमा भोट मागिरहेको अमात्यको दाबी छ।

सुरुमा कांग्रेसभित्र विकल्पमा अन्य उम्मेदवार उठाउने कुरा चले पनि चिरिबाबुले नै जित्ने देखिएपछि पार्टीले उनलाई नै पुनः उम्मेदवार बनाएको अमात्यले बताए। उम्मेदवारीबारे सुरुमा कांग्रेसभित्र केही असमझदारी भए पनि अहिले त्यस्तो असन्तुष्टि नरहेको जिकिर उनले गरे। ‘उहाँ सम्पदा बुझेको र विकास कसरी गर्ने भन्नेबारेमा जानकार हुनुहुन्छ। आफूले सुरु गरेका तर सम्पन्न हुन बाँकी कामलाई अघि बढाउन पनि उहाँ पुनः निर्वाचित हुनुपर्छ,’ अमात्यले भने।

गठबन्धनको नेतृत्व गर्दै कांग्रेसबाट उम्मेदवार बनेका महर्जन पाँच वर्षको कार्यकालमा आफूले महानगरमा गरेका कामले नगरवासीको आत्मविश्वास बढेको बताउँछन्। ‘मैले अघिल्लो निर्वाचनका बेला घोषणापत्रमा उल्लेख गरेका ९० प्रतिशत काम गरेको छु। सत्यमोहन जोशीको जन्मशताब्दीलाई विशेष बनाउने, पाटनमा मन्दिर बनाउनेलगायत कैयौं महत्वपूर्ण काम गरेको छु,’ उनले भने। महर्जनले उपमहानगरबाट महानगर हुँदा थपिएका क्षेत्रका मतदाता पनि आफ्नो पुनः विजयी हुने आधार भएको बताए।

‘पछि थपिएका गाउँपालिका तथा वडाका मान्छेले पाँच वर्षअघि मलाई राम्रोसँग चिन्दैनथे, अहिले ती ठाउँमा मैले गरेको कामका कारण राम्रो प्रभाव परेको छ,’ उनले भने। कोभिड नियन्त्रणमा आफ्नो नेतृत्वमा ललिलपुर महानगरले उत्कृष्ट काम गरेको र यसको केन्द्र सरकारले समेत मूल्यांकन गरेको महर्जनले दाबी गरे। उनले मेयरमा पुनः निर्वाचित भए जनताको चाहना सम्बोधन गर्दै प्रतिव्यक्ति आय बढाएर जीवनस्तर सुधारमा पहल गर्ने, वातावरणीय सुधारका लागि काम गर्ने र अघिल्लो कार्यकालमा भएका राम्रा पक्षलाई निरन्तरता दिने बताए। ललितपुर महानगरमा १३ जनाले मेयरमा र ११ जनाले उपमेयरमा उम्मेदवारी दिएका छन्। यो महानगरमा २०७४ को स्थानीय निर्वाचनको तुलनामा मतदाताको संख्या झन्डै १० हजारले बढेको छ।

प्रकाशित: २३ वैशाख २०७९ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App