५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

रुकुममा कांग्रेस कार्यकर्ता कुटिए, प्रहरी चौकी पनि तोडफोड

पश्चिम रुकुममा अध्यक्ष पदका उम्मेदवारमाथि आक्रमण प्रयास गरिएको छ। त्रिवेणी गाउँपालिकाको वडा नम्वर ९ नुवाकोटमा बिहीबार बिहान कांग्रेसका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्का चढेको गाडी माओवादी कार्यकर्ताले तोडफोड गरेका हुन्। खड्काका अनुसार उनले प्रयोग गरेको रा १ च १२६२ नम्वरको जिप तोडफोड भएको छ। वाईसिएल कार्यकर्ताको आक्रमणबाट बच्न स्थानीय चौकी पुगेका कांग्रेस कार्यकर्तालाई आक्रमण गरी प्रहरी चौकीमा समेत तोडफोड गरिएको थियो।

माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीचको झडपको क्रममा गाडी तोडफोड भएको प्रहरीले बताएको छ। गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिं खड्काले माओवादीको आक्रमणबाट बच्न स्थानीय नुवाकोट प्रहरी चौकीमा आफ्ना कार्यकर्ताहरु छिरे पनि त्यहीबाट निकालेर प्रहरीकै अगाडि निर्घात कुटपिट गरिएको बताए। ‘हामीलाई तर्साउन खोजिएको छ। प्रहरी चौकीमा छ तर हाम्रो सुरक्षामा खासै चासो दिएको छैन।’

स्थानीयका अनुसार कांग्रेस कार्यकर्ताको मोबाइल समेत खोसेर फुटालिएको छ। आक्रमणबाट ८ जना कांगे्रस कार्यकर्ता घाइते भएका छन्। जसमध्ये ६ जनाको जिल्ला अस्पताल सल्ले र दुई जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। कृष्ण पुन, बिरबहादुर ओली, दुर्गाबहादुर ओली, बिरबबहादुर ओली, बिरबहादुर ओली र चन्द्रबहादुर खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ।

पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि बिष्णुप्रसाद सोतीले घटनाबारे पुष्टी गरेका छन्। ‘हिजोको घटना अनुसन्धान गर्दै गर्दा अन्यत्रबाट समेत आएका वाईसिएल कार्यकर्ता चौकी छिरेर सामान्य बासको बार लगायत तोडफोड गरेका छन्। अहिले स्थिति नर्मल छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन। थप नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई घटनास्थल खटाइएको छ।’ सोतिका अनुसार हाललाई झडपको स्थिती टरेको छ।

पश्चिम रुकुमका एक सुरक्षा अधिकारीका अनुसार चुनावी माहोल तातिएको र मनमुटाव अत्याधिक रहेकाले अप्रिय घटनाको सम्भावना टरेको भने छैन। उनी भन्छन्, ‘राजनीतिक नेतृत्वले आफ्ना कार्यकर्तालाई बेलैमा सम्हाल्न जरुरी छ।’

प्रकाशित: २२ वैशाख २०७९ ०९:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App