३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

‘पुरानो संस्कृति जोगाउनेलाई भोट’

टोखा क्षेत्रमा संस्कृति हस्तान्तरणको अभ्यास। तस्बिरः उपेन्द्र/नागरिक

नेवार समुदायको सांस्कृतिक नगरी टोखाका ८१ वर्षीय कृष्णलाल डंगोलले चुनावमा भोट हाल्न थालेको ६ दशकभन्दा बढी भइसक्यो। पछिल्लो तीन दशकयता प्रजातन्त्र, लोकतन्त्र र विकासका नाममा मत हाल्दै आएका डंगोल यसपटक टोखाको पुरातन संस्कृति रक्षा गर्नेलाई भोट दिने बताउँछन्।

‘हाम्रो जीवन भनेकै यहाँको मौलिक परम्परा र संस्कृति हो,’ टोखा नगरपालिका–३ का डंगोलले भने, ‘विकास नभएको भन्दा पनि संस्कृति हराउँदै गएकोमा धेरै चिन्ता छ।’ संग्रहालयजस्तै रहेको सिंगो सहर नै मासिँदै गएको उनले बताए।

आधुनिकीकरणको चपेटामा परेको टोखा नगरीको कला, संस्कृति, रीतिरिवाज संरक्षण गर्दै नयाँ पुस्तालाई परिचित गराउन सक्ने नेतृत्वको खाँचो भएको उनको बुझाइ छ। ‘यो धेरै पुरानो नगर हो,’ उनले भने, ‘अहिले त सहरीकरणका नाममा पुरानो टोखा हराउँदैछ।’

डंगोलको भनाइमा अर्का स्थानीय ८२ वर्षीय जनक श्रेष्ठ पनि सहमत छन्। डंगोलजस्तै उनी पनि यसपटक टोखाको संस्कृति जगेर्ना गर्ने नेतृत्वको खोजीमा छन्। ‘जहिले पनि नाराको पछि लागियो,’ उनी भन्छन्, ‘अब यसपटक संस्कृति जोगाउनेको पछि लागिन्छ।’

पक्की घरको पेटीमा बसेर डंगोलसँग गफिँदै गरेका श्रेष्ठले विगतमा राम्रो काठको पाटीमा बसेको याद सुनाए। ‘खेती सकेर आएपछि पाटीमा बसेर दुःखसुखका कुरासँगै गीत–संगीतको रौनक पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो सबै हराएको छ।’ यस्तो रौनक फर्काउन सक्नेलाई मतदान गर्न आफू इच्छुक रहेको उनले बताए।

काठमाडौं उपत्यकाकै पुरानो सहर मानिने टोखामा खड्ग, बिस्केट, गठेमंगललगायतका जात्रा र पर्व धुमधामसाथ मनाइन्छ। क्वाँटी पूर्णिमा, गाईजात्रा, हिलेजात्रा, कृष्णजात्रा, इन्द्रजात्रा, स्वन्ती नखः, सकिमन्हा पुन्ही, योमरी पुन्ही, माघे संक्रान्ति, श्रीपञ्चमी, हरिहर भजन, शिवरात्रि, होलीलगायतका पर्व पनि यो नगरका सान हुन्।

केही वर्ष पहिलेसम्म यस नगरीमा पस्नेबित्तिकै हुक्का तान्दै गरेका बुढापाका, लुसीमा चिउरा कुट्दै गरेका महिला, बाँसुरी बजाउँदै गरेका तन्नेरी–प्रौढ देख्दा सामान्यझंै लाग्थ्यो। ‘यस्ता दृश्य देख्न त अब महोत्सव नै कुर्नुपर्छ,’ ६९ वर्षीया कृष्णमाया श्रेष्ठले भनिन्, ‘अहिलेका केटाकेटी मोबाइलमै व्यस्त रहन्छन्।’ पुरानो नेवार संस्कृति, पर्व, रहनसहन र परम्पराका कारण यो नगरले निकै नाम कमाएको उनी सुनाउँछिन्।

त्यसो त अहिले पनि टोखाका भित्री गल्लीमा पस्ने हो भने परम्परागत नेवारी पोसाकमा सजिएका वृद्धवृद्धा तथा केटाकेटी, हाकुपटासीमा सजिएर खल्ड्याङ खुट्टी र गट्टा खेल्दै गरेका सानासाना बालबालिका भेटिन्छन्। तर यो पुरानो परम्परा खुम्चँदै गएको उनीहरूको बुझाइ छ। ‘नगरपालिका बनेसँगै क्षेत्रफलको हिसाबले टोखा फैलियो,’ स्थानीय धर्मराज श्रेष्ठ भन्छन्, ‘तर यहाँको संस्कृति खुम्चिएर गएको छ।’

टोखा–३ का निवर्तमान वडाध्यक्ष सिंहराज श्रेष्ठ नगरको संस्कृति जोगाउन आफू लागिपरेको बताउँछन्। ‘घरहरूको निर्माणमा एकरुपता ल्याउन नसक्दा केही समस्या भएको हो,’ उनले भने, ‘अब चुनावमा जित्नेले त्यो पनि सुधार्ने अपेक्षा लिएका छौं।’ नगरको मुटु मानिने टोखा २ र ३ वडामा फैलिएको छ। वडा २ मा ३ हजार ६ सय र वडा ३ मा ४ हजार ९ सय मतदाता रहेको उनले बताए।

विगतका चुनावमा जस्तै यसपटक पनि टोखाको संस्कृति जगेर्ना गर्ने नारा पनि राजनीतिक दल र उम्मेदवारले अगाडि सारेका छन्। जात्रा र पर्व जगेर्नाका लागि उल्लेख्य रकम छुट्याउने वाचा पनि उनीहरूले गरेका छन्। यसका लागि विभिन्न महोत्सव आयोजना गर्ने आश्वासन उनीहरूले दिएका छन्। तर यो कर्मकाण्डमा मात्र सीमित रहेको सर्वसाधारणको बुझाइ छ। टोखा नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेकी रजनी थापा संस्कृतिको धनी सहर टोखाको पुरुत्थान हुनुपर्ने बताउँछिन्।

स्वस्थानीको कथामा उल्लिखित सतीदेवीले देह त्याग गरेको स्थानको रुपमा समेत चिनिने टोखामा यससँग सम्बन्धित नाटक देखाउन सकिने उनको बुझाइ छ। ‘टोखामा रहेको दक्षप्रजापतिको यज्ञस्थलमा हामीले सतीदेवीको प्रेम र स्वाभिमानको कथा नयाँ पुस्तालाई देखाउन सक्नुपर्छ,’ रजनी भन्छिन्, ‘संस्कृति संरक्षणसँगै नगरवासीको आय बढोस् भन्ने हाम्रो उद्देश्य हुुनुपर्छ।’

एमालेका तर्फबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी टोखाको संस्कृति रक्षााका लागि नगरले विशेष रुपरेखा तयार पारिसकेको बताए।‘हामी टोखा संस्कृति संरक्षण समिति गठन गरेर अगाडि बढेका छौं,’ उनले भने, ‘आगामी वर्षमा यसको पूर्णतामा विशेष ध्यान दिनेछौं।’

नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरकी उम्मेदवार कविता घिमिरे पनि सांस्कृतिक सम्पदा र धरोहर बचाउन आफू र पार्टी लागिपर्ने बताउँछिन्।

चाकुको सहरका नामले पनि चिनिने यस नगरका सर्वसाधारणले नेताका गुलिया भाषण पत्याउन छाडिसके। त्यसैले उनीहरू बाचाभन्दा पनि कामको ग्यारेन्टी चाहन्छन्। ‘अब त दलले नारामा के विषय राखेभन्दा पनि टोखामा के गरे भन्ने हेर्न चाहन्छौं,’ कृष्णलाल श्रेष्ठ आफ्नो भनाइ टुंग्याउँदै भन्छन्, ‘विगत र वर्तमानलाई नियाल्दै एक भोट टोखाको संस्कृति जोगाउन खसाल्नेछौं।’

प्रकाशित: २२ वैशाख २०७९ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App