पालुङटार नगरपालिकाको मेयर जनता समाजवादी पार्टीलाई छाड्न नसक्ने भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा कांग्रेसले मेयरको उम्मेदवारी फिर्ता लिएको पत्र आइतबार दिउँसो पोष्ट गरेपछि कार्यकर्ता आन्दोलित भएका हुन्।
गृहनगर पालुङटारमा जसरी पनि मेयर लिने योजनामा रहेका भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई तालमेलका लागि दबाब दिएका थिए। दबाबपछि वैशाख १६ गते नै पालुङटारमा कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार दिपकबाबु कंडेलको उम्मेदवारी फिर्ता गर्ने पत्र देउवाले जिल्ला पठाए। निर्वाचन अधिकृतको कार्यालय पालुङटारले अन्तिम नामावली प्रकाशन गरेपछि पत्र आएको भन्दै मेयरका उम्मेदवारको सूचीबाट कंडेलको नाम हटाएन। अन्ततः कांग्रेसको तर्फबाट मेयर पदमा दिपकबाबु कंडेलको उम्मेदवारी कायम रह्यो। केन्द्रबाटै उम्मेदवारी फिर्ता लिने देउवाको योजना सफल हुन सकेन।
उम्मेदवारी फिर्ता नभएपछि फेरि जसपा अध्यक्ष भट्टराईले कांग्रेस सभापति देउवालाई सहमति कार्यान्वयन गर्न भन्दै दबाब दिए। देउवाले आइतबार मेयर पदका उम्मेदवार कंडेललाई काठमाडौं बोलाए। उम्मेदवारी फिर्ता लिन दबाब दिने उद्देश्यले काठमाडौं बोलाइएको बारे जानकार उम्मेदवार कंडेल सहजै जान तयार भएनन्। उनलाई काठमाडौं झिकाउन जिल्ला पार्टी र केन्द्रीय सदस्यहरु मार्फत पनि दबाब आएको उनी निकट एक नेताले बताए।
कुनैपनि हालतमा कांग्रेसले मेयर फिर्ता लिन नहुने भन्दै उपप्रमुखसहित अन्य उम्मेदवारले कांग्रेस पालुङटार नगर समितिको कार्यालय घेराउ गरेका छन्। ‘सबै तहको उम्मेदवारी फिर्ता लिने र सामुदायिक राजीनामा दिने तयारीमा छौँ,’ नेपाली कांग्रेस पालुङटार नगर सचिव किरण गिरीले भने।
यसबारे मेयर पदका उम्मेदवार कंडेललाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेको छैन। नगर सचिव गिरीका अनुसार कंडेलले उक्त विज्ञप्ती फिर्ता लिईसकेको बताएका छन्। उनका अनुसार कंडेल आएपछि कांग्रेसले मेयरसहित उम्मेदवार दिएका पदमा घरदैलो गर्दै भोट माग्नेछ।
‘नेपाली कांग्रेस पार्टीले पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु,’ कंडेलद्वारा हस्ताक्षरित डाक्टर भट्टराईद्वारा सार्वजनिक भएको विज्ञप्तीमा भनिएको छ।
सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णय अनुसार स्थानीय चुनावमा तालमेल र सिटको बाँडफाँड गर्ने निर्णय भए अनुसार चुनावी तालमेल गर्न केन्द्रीय समितिको निर्णयप्रति इमान्दार रहेको उल्लेख गरेका छन्।
कांग्रेसबाट उम्मेदवार बनेका इन्जिनियर कंडेल यसअघि पनि मेयर हुन्। उनले २०७४ को निर्वाचनमा माओवादीलाई पराजित गरेका थिए। अहिले उनीसहित १० जना मेयरको प्रतिस्पर्धामा छन्।
प्रकाशित: १८ वैशाख २०७९ १३:२० आइतबार