१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

चन्दा उठाएर चुनाव खर्च जुटाउँदै मधेसी दल

तराई मधेस केन्द्रित दलहरूले पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरूबाट चन्दा उठाएर चुनाव खर्च जोहो गर्न सुरु गरेका छन्। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, तराई मधेस लोकतानित्रक पार्टी, जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको चुनावमा होमिएका छन्।

यी मध्ये जसपा सरकारमा गएको छ भने अन्य ५ पार्टी सरकारमा छैनन्। सरकारमा नगएका दलहरूलाई चुनाव खर्च उठाउन सकस परेको छ। त्यसो त, सरकारमा गएको पार्टी जसपाले पनि आफ्ना सबै कार्यकर्ता र सदस्यहरूबाट चन्दा उठाउन सुरु गरेको छ।

चुनावका लागि आर्थिक व्यवस्थापन गर्न जसपाले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरेको छ। उक्त समितिमा ५ जना नेतालाई सदस्य राखिएको छ। संयोजक यादका अनुसार चुनाव खर्च जुटाउन पार्टीले सबै केन्द्रीय सदस्य, कार्यकारिणी समितकिा सदस्य, वरिष्ठ नेताबाट अनिवार्य रूपमा सहयोग गर्न उर्दी जारी गरेको छ।

‘पार्टीबाट निर्वाचित प्रदेश सभा सदस्य, मन्त्रीहरूसँग पनि हामीले सहयोग मागेका छौं,’ यादवले भनिन्, ‘पार्टीका सदस्य तथा कार्यकर्तालाई अनिवार्य गरेका छौं तर शुभचिन्तकलाई भने स्वेच्छिक गरेका छौं।’ पार्टीका सदस्य तथा कार्यकर्ताहरूबाट न्यूनतम १ सय रूपैयाँदेखि ५ सय, १ हजार रूपैयाँसम्म सहयोग लिने गरेको उनले बताइन्।

उनले भनिन्, ‘शुभचिन्तकरूलाई भने दर तोकेका छैनौं। त्यो उहाँहरूको स्वेच्छा हो।’ यादव काठमाडौं आउनेबित्तिकै आर्थिक परिचालन समितिको बैठक बस्ने भएको छ। अहिले उनी बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन पहल गर्न मधेसमा छिन्।

यादवका अनुसार पार्टीले केन्द्रबाटै उम्मेदवारलाई प्रचार सामग्री, झण्डा उपलब्ध गराउने भएको छ। केन्द्रले उम्मेदवारहरूलाई आर्थिक सहयोग गर्ने विषयमा कुनै निर्णय नभएको उनले बताइन्। लोसपाले पनि पार्टीका नेता, कार्यकता तथा शुभचिन्तकहरूबाट चन्दा उठाएर चुनाव खर्च जुटाउने भएको छ।

पार्टी सरकारमा नभएकाले उक्त पार्टीलाई आर्थिक संकट परेको पार्टीका एक कार्यकारिणी सदस्यले बताए। उनले भने,‘सरकारमा नभएकोले हामीलाई व्यावसायीहरूले त्यती विश्वास गर्दैनन। उनीहरूले सरकारमा गएको पार्टीलाई प्राथमिकता दिन्छन्। सरकारमा नगएकालाई चन्दा दिन हिचकिचाउँछन्।’

लोसपाका कार्यकारिणी सदस्य केशव झले पार्टीका कार्यकर्ता तथा शुभचिन्तकहरूबाट चन्दा संकलन गरेर चुनाव खर्च जुटाउन लागेको बताए। उनको अनुसार आर्थिक विषयमा सबै कारोबारो पार्टी अध्यक्ष महन्थ ठाकुरले हेर्ने गरेका छन्। ‘कसबाट कति चन्दा उठ्यो। यसको सबै हिसाबकिताब पार्टी अध्यक्षज्यूलाई मात्र थाहा हुन्छ। हामीलाई जानकारी हुँदैन,’ उनले भने।

झाका अनुसार लोसपाले पार्टीका उम्मेदवारहरूलाई प्रचार सामग्री तथा झण्डा उपलब्ध गराउने भएको छ। उम्मेदवारहरूलाई केन्द्रबाट आर्थिक सहयोग गर्ने नीति नभएको झाले प्रष्ट पारे। लोसपाले देशभर प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा उम्मेदवार उठाएको छ। झाका अनुसार देशभर १ सय ८० स्थानीय तहमा लोसपा सहभागी भएको छ।

सिके राउतको जनमत पार्टी पहिलो पटक चुनावमा सहभागी हुन लागेको छ। मधेस प्रदेशमा भएको भ्रष्टाचारविरुद्ध जनमत पार्टीले विगत केही महिना देखि विभिन्न गतिविधि गर्दै आएको छ। त्यसैले अन्य पार्टीहरू जस्तो तडकभडक नगरी जनताको मत जित्ने पार्टीको रणनीति भएको उक्त पार्टीका नेताहरूले जनाएका छन्। जनमत पार्टीले आफ्नो सबै ध्यान मधेस प्रदेशमा लगाएको छ।

यसैगरी चुनावमा होमिएका अन्य मधेस केन्द्रि दलहरू तमलोपा, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टीले पनि आफ्ना कार्यकर्ता तथा शुभचिन्तकहरू सहयोग मागी चुनाव खर्च जुटाउने बताएका छन्। ‘हाम्रो पार्टी भरखरै स्थापना भएको छ। हामीले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो उपस्थिति देखाएका छौं,’जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भने।

तराई/मधेसलाई केन्द्रित गरी आधा दर्जन दलहरू मधेसमा सक्रिय छन् तर उनीहरू स्थानीय तहको निर्वाचनमा आफूआफू एक्लै भिडेका छन्। ती दलबीच मधेसमा पानी बाराबारको स्थिति छ। जसपाले घोषित रूपमै सत्तारुढ दलहरूसँग गठबन्धन गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय आवस्यकता हेरेर सहकार्य गर्ने नीति बनाएको छ।

२०७८को प्रारम्भमा मधेसमा एउटा मात्र पार्टी थियो। तर यो अवस्था ६ महिना पनि टिक्न सकेन। २०७८ सालको प्रारम्भदेखि नै तराई मधेसलाई केन्द्रित गरी नयाँनयाँ पार्टी घोषणा गर्ने होडबाजी सुरु भयो।

प्रकाशित: १६ वैशाख २०७९ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App