२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंका मेयरदेखि सदस्य उम्मेदवारविरुद्ध उजुरी

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका चिरिबाबु महर्जनविरूद्ध उजुरी परेको छ। मंगलबार उनीविरुद्ध ललितपुर महानगरपालिकामा उजुरी परेको जानकारी ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले दिएका हुन्।

‘ललितपुरका निवर्तमान मेयर चिरिबाबु महर्जनविरूद्ध ललितपुर महानगरपालिकामा बेरूजु रहेको उल्लेख गर्दै उजुरी परेको हो,’ उनले भने, ‘ललितपुर महानगरपालिकामा पाँच जनाविरुद्ध उजुरी परेको छ।’ निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्स्यौट गर्नुपर्ने उल्लेख गरिए पनि ललितपुरका निवर्तमान मेयर महर्जनले बेरूजु फर्स्यौट नगरी उम्मेद्वारी दर्ता गरेका थिए।

त्यस्तै नेकपा एमालेबाट ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। मंगलबार निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उनीविरुद्ध ज्ञानबहादुर खत्रीले उजुरी दिएका हुन्। उनको नाम विसं. २०७४ सालको प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीमा रहेको थियो।

आयोगले बन्दसूचीबाट नाम हटाइ नसकेको अवस्थामा उनले ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेको विरोधमा खत्रीले उजुरी दिएका थिए। त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्ष उम्मेदवार उमेशकुमार कुँइकेलविरुद्ध आशामान संगतले उजुरी दिएका थिए। स्थानीय गुठीको पुजारी भएर अध्यक्षमा उम्मेदवारी दिएको भन्दै उनले उजुरी दिएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी गराएका थिए।

कीर्तिपुर नगरपालिका वडा नं. ९ का अध्यक्षका उम्मेदवारले एक अर्काविरुद्ध गरी तीन वटा उजुरी परेका छन्। चन्द्रागिरी नगरपालिकामा तीन वटा उजुरी दर्ता भएका छन्। चन्द्रागिरी नगरपालिका वडा नं. ६ का अध्यक्षका उम्मेदवार प्रल्हद रिजालविरुद्ध खगेन्द्रबहादुर बस्नेतले उजुरी दिएका छन्। ठेक्कापट्टा र निर्माणसम्बन्धी संस्था संचालन गर्ने रिजालको उम्मेदवारी खारेज हुनुपर्ने जनाउँदै उजुरी दर्ता भएको जानकारी चन्द्रागिरी नगरपालिकाकी निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिएका छन्।

त्यस्तै महिला र दलित महिला सदस्यहरूविरुद्ध दोहोरो सुविधा लिएको भन्दै उजुरी परेका छन्। दक्षिणकाली र बुढानिलकण्ठ नगरपालिकामा दलित महिला सदस्यविरुद्ध उजुरी दर्ता भएका छन्। भक्तपुर अन्तर्गत भक्तपुर नगरपालिकामा दुईवटा उजुरी दर्ता भएका छन्। भक्तपुर नगरपालिका वडा नं. ३ मा नेपाली कांग्रेसबाट दुईजनाले वडा अध्यक्षमा उम्मेदवारी दिएर एक अर्काविरुद्ध उजुरी दिएका थिए।

मध्यपुर थिमि नगरपालिका वडा नं. ९ मा राप्रपाका वडाक्ष्यक्षका उम्मेदवार मंगललाल राजबहकविरुद्ध सुवास खड्काले उजुरी दिएका छन् भने सूर्यविनायक नगरपालिका वडा नं.९मा नेपाली कांग्रेसबाट प्रदीप कार्की र सुवास कार्कीको दोहोरो उम्मेदवारी वडाध्यक्षमा परेपछि उजुरी परेको थियो।

स्थानीय निर्वाचन ऐन २०७३ को दफा १२ अनुसार गैरनेपाली नागरिक, नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्तिले उम्मेदवारी दिन पाइँदैन।

त्यस्तै कानुन बमोजिम सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान गरेको व्यक्तिसँगै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाएको व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्।

यीमध्ये कुनै पनि कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको व्यक्ति पनि उम्मेदवार बन्न नसक्ने सो कानुनमा व्यवस्था रहेको छ। संगठित अपराध सम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको व्यक्ति तथा जातीय भेदभाव तथा छुवाछुत, बहु विवाह सम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिसमेत उम्मेदवार बन्न पाउँदैनन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेको उजुरीउपर बुधबार र बिहीबार जाँचबुझ र छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ। आयोगले वैशाख १७ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ।

प्रकाशित: १५ वैशाख २०७९ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App