१५ चैत्र २०८० बिहीबार
राजनीति

मोरङमा ५ दलीय गठबन्धनबीच भएन चुनावी तालमेल

विराटनगरको मेयर र उपमेयरबाहेक मोरङका कुनै पनि स्थानीय तहमा सत्तारुढ ५ दलीय गठबन्धनमा आबद्ध दलहरूले चुनावी तालमेल गर्न सकेनन्। चुनावी तालमेलका लागि अन्तिम समय सम्म प्रयास गरेका दलहरूवीच  भागबण्डामा कुरा नमिलेपछि चुनावी तालमेल हुन नसकेको हो।  

मोरङका अधिकांश पालिकामा सबै दलले छुट्टा–छुट्टै उमेदवारी दिएका छन्। गठबन्धन दलवीच चुनावी तालमेल गर्ने निर्णय अनुसार विराटनगरको मेयर र उपमेयरमा भागबण्डा गरेका दलहरूले विराटनगरका सबै वडामा छुट्टा छुट्टै उमेदवारी दर्ता गरेका छन्। गठबन्धनका दलवीच भागबण्डामा कुरा नमिलेकाले छुट्टा छुट्टै उमेदवारी दर्ता गरेको जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवले बताए। छुट्टा छुट्टै उमेदवारी दर्ता गरे पनि जित्ने उमेदवारलाई सघाएर अघि बढ्ने योजना रहेको उनले बताए। 

जुन वडामा गठबन्धनका उमेदवार मध्ये सबै भन्दा मजवुद उमेदवार देखिन्छन्। त्यस्ता उमेदवारलाई अरु दलले सघाउने यादवले बताए।  विराटनगरमा मात्रै हैन मोरङका सबै  पालिकामा  ५ दलीय गठबन्धका साझा उमेदवार नभई सबै दलले एकल उमेदवारी दिएका छन्। मोरङको मिक्लाजुङमा नेपाली कांग्रेस र माओवादी केन्द्रवीच चुनावी तालमेल भएको छ। यस्तै जहदा र धनपालथान गाउँपालिकामा  जनतासमाजवादी र माओवादी केन्द्रवीच चुनावी तालमेल भएको छ।  

विराटनगरको मेयरमा गठबन्धनबाट कोइराला, एमालेबाट  थापा र राप्रबाट साहको उमेदवारी  

सत्तारुढ गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले उमेदवारी दिएका छन्। यस्तै उप मेयरमा जसपाका अमरेन्द्र यादवले उमेदवारी दिएका छन्।  

सोमबार विराटनगर स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा  सत्तारुढ गठबन्धनका तर्फबाट कोइराला र यादवले उमेदवारी दिएका हुन्। नेपाली कांग्रेसको १४ औं अधिवेशनबाट  मोरङको उपसभापति बनेका  कोइराला नेपाली कांग्रेसको १३ औं अधिवेशनबाट   कोषाध्यक्षमा विजयी भएका  थिए। तरुणदलबाट राजनीति सुरू गरेका कोइरालाले पार्टीका विभिन्न पदमा रहेर जिम्मेवारी पुरा गरिसकेका छन्। 

कोइरालाले विराटनगरलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गर्ने, विराटनगरलाई सफा र भौतिक पूर्वाधारयुक्त  शहरका रुपमा स्थापित  गर्ने योजना रहेको बताए। यता उपमेयरमा उमेदवारी दिएका ३५ वर्षीय अमरेन्द्र यादवले विराटनगरलाई स्वास्थ्य र मेडिकल शिक्षाको हवका रुपमा स्थापित गर्ने आफ्नो पहिलो योजना रहेको बताए। जनता समाजवादी पार्टी विराटनगर महानगरपालिका समितिका अध्यक्ष यादव  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।  

यस्तै नेकपा एमालेबाट विराटनगरको मेयरमा सागर थापाले उमेदवारी दिएका छन्। विद्यार्थी राजनीतिबाट आएका थापा महेन्द्र मोरङ क्याम्पस विराटनगरका पूर्व स्ववियु सभापति पनि हुन्। नेकपा एमाले  विराटनगर महानगरपालिका कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनिएका थापाले विराटनगर महानगरपालिकाको मेयरको टीकट पाएका थिए। 

थापाले आफूले विराटनगरलाई राम्ररी बुझेकाले यहाँको समस्याहरूबारे पूर्ण रुपमा परिचित रहेको बताए। उनले भने‘विराटनगरको राम्ररी बुझेको र चुनावी अभियानका क्रममा पनि सुझाव लिएर योजना बनाइसकेको छु।’ थापाले विराटनगरको डुवानको समस्या समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए। यस्तै सुकुम्वासी समस्या समाधान, शिक्षाक्षेत्रको सुधार, सरसफाईलगायतका क्षेत्रलाई आफूले प्राथमिकतामा राखेको बताए। नेकपा एमालेबाट उपमेयरमा शिल्पा कार्कीले उमेदवारी दिएकी छिन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट विराटनगरको मेयरमा पूर्व मेयर प्रह्लाद साहले उमेदवारी दिएका छन्। यस्तै उपमेयरमा विन्दा लुइँटेल आचार्यले उमेदवारी दिएकी छिन्। 

यस्तै नेपाली कांग्रेस विपीबाट रामचन्द्रै गौतम र उपमेयरमा माया ओझाले उमेदवारी दिएकी छिन्। यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट मेयरमा नागेश्व सिंहले मनोनयन दर्ता गरेका छन्। यस्तै स्वतन्त्रबाट उमेश यादव, सक्रिय गौतमले उमेदवारी दिएका छन्। यस्तै जनमत पार्टीका तर्फबाट अरुणकुमार मण्डलले उमेदवारी दर्ता गरेका छन्।

यस्तै मोरङका चार पालिकाका मेयर र अध्यक्षले पुनः उमेदवारी दिएका छन्। मोरङको सुन्दरहरैंचाका मेयर  शिव ढकाल, रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया, उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो र केरावारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले पुनः  उमेदवारी दर्ता गरेका छन्। ढकाल, फागो र कार्कीले नेपाली कांग्रेसबाट र नेकपा माओवादी केन्द्रबाट रंगेलीको मेयर जितेका वगडियाले पार्टी परित्याग गरी एमालेबाट उमेदवारी दिएका छन्।

प्रकाशित: १२ वैशाख २०७९ १४:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App