९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पहिलो दिन पोखराको मेयरमा १० जनाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता गर्न पुगेका मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार दलबलसहित। तस्बिर: उमेश पुन/नागरिक

पोखरा महानगरपालिकाको मेयर पदका लागि पहिलो दिन दश जनाले उम्मेदवारी दर्ता गरेका छन्। यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत निर्धारण गरिएको उम्मेदवारी दर्ताको पहिलो दिन पोखराको मेयर पदमा चार वटा दल र ६ जना स्वतन्त्र गरी दश जनाले उम्मेदवारी दर्ता गरेका हुन्।

पोखराको मेयरका लागि पहिलो दिन मौलिक जरोकिलो पार्टी, सचेत नेपाली पार्टी, मंगोल नेसनल अर्गनाइजेसन र नेपाल जनता दलका उम्मेदवारले उम्मेदवारी दर्ता गरेका छन्। मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिनाले उम्मेदवारी दिएका छन्। पोखरा–१२ निवासी तिमिल्सिनाको प्रस्तावकमा सन्तोष तिमिल्सिना र समर्थकमा नविन अधिकारी रहेका छन्।

सचेत नेपाली पार्टीबाट भोजराज खनालले उम्मेदवारी दिएका छन्। पोखरा–३२ का खनालको प्रस्तावकमा करणबहादुर नेपाली छन् भने समर्थकमा कल्पनादेवी पौडेल छन्। मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङले मेयरका लागि उम्मेदवारी दिएका छन्। पोखरा–२७ का गुरुङको प्रस्तावकमा चित्रबहादुर राना र समर्थकमा रियाज गुरुङ रहेका छन्।

नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदीले उम्मेदवारी दिएका छन्। पोखरा–८का सुवेदीको प्रस्तावकमा पूर्ण शर्मा पौडेल र समर्थकमा दुर्गा पौडेल रहेका छन्। त्यस्तै, मेयरका लागि पहिलो दिन ७ जनाको उम्मेदवारी परेको छ। पोखराको मेयरका लागि अटेरी उम्मेदवार खड्कराज पौडेल (गनेस)ले उम्मेदवारी दर्ता गरेका छन्। 

स्थानीय तहको चुनावलाई दलविहीन चुनाव बनाउनुपर्ने एजेण्डा बोकेका उनले उम्मेदवारी दर्ताको पहिलो दिन नै आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। पोखरा–१४ निवासी पौडेल साहित्यकार हुन्। उनको प्रस्तावकमा स्थानिय अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी रहेका छन्।

मेयरका लागि रामराज अधिकारीलेपनि उम्मेदवारी दिएका छन्। स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पोखरा–३० निवासी अधिकारीको प्रस्तावकमा कृष्णराज तिवारी र समर्थकमा नारायण कँडेल छन्। अर्का स्वतन्त्र उम्मेदवार डिलबहादुर गुरुङले पनि उम्मेदवारी दर्ता गरेका छन्। पोखरा–१५ का गुरुङको प्रस्तावकमा शान्तीदेवी पौडेल आचार्य र समर्थकमा संगीत गुरुङ छन्। मेयरका लागि पोखरा–२८ का नवराज बास्तोलाले पनि उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा ऋषिराम बराल र समर्थकमा अजय विक छन्।

त्यस्तै, मेयरका लागि किसानसिंह गुरुङलेपनि उम्मेदवारी दिएका छन्। पोखरा–२९ निवासी उनको प्रस्तावकमा मनबहादुर विश्वकर्मा र समर्थकमा पवित्रा विक छन्। आइतबार ठूला दलहरुले उम्मेदवारी दर्ता गरेनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाको संयुक्त गठबन्धनबाट एकीकृत समाजवादीले मेयर र कांग्रेसले उपमेयर पाएपनि उनीहरुले पहिलो दिन आईतबार उम्मेदवारी दर्ता नगरेका हुन्। 

सोमबार मध्याह्नपछि संयुक्त रुपमा ¥यालीसहित उम्मेदवारी दर्ता गर्न जाने तयारी उनीहरुको छ। त्यस्तै, नेकपा एमाले, राप्रपा, राप्रपा नेपाललगायतका दलहरुलेपनि आइतबार उम्मेदवारी दर्ता गरेनन्। यी सबै दलहरुले उम्मेदवार टुंगो लगाएपनि आइतबार उम्मेदवारी दर्ता नगरेका हुन्। सोमबार र्‍यालीसहित यी दलहरुले उम्मेदवारी दर्ता गर्ने बताएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्ने सबै साना दल हुन्।

कांग्रेसका कार्कीले हाले वागी उम्मेदवारी

कांग्रेस कार्यकर्ता विमल कार्कीले मेयर पदमा वागी उम्मेदवारी दिएका छन्। गठबन्धनबाट पोखराको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय भएपछि उनले वागी उम्मेदवारी हालेका हुन्। पोखरा–१४ निवासी कार्की नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन्।

पहिलो दिन उपमेयरमा २ जनाको उम्मेदवारी

उम्मेदवारी दर्ता गर्ने पहिलो दिन पोखराको उपमेयरका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ। मेयरमा दश जनाले उम्मेदवारी दर्ता गर्दा उपमेयरमा दुई जनाले मात्रै उम्मेदवारी दिएका हुन्। उपमेयरमा सचेत नेपाली पार्टीका सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका हुन्। उपमेयरका उम्मेदवार परियारको प्रस्तावकमा हरिदत्त पराजुली र समर्थकमा रमेश खवास तथा तामाङको प्रस्तावकमा अमित गुरुङ र समर्थकमा गौरव गुरुङ छन्।

अटेरी उम्मेदवार गनेस पौडेल उम्मेदवारी दर्ता गर्नुअघि। तस्बिर: उमेश पुन/नागरिक

प्रकाशित: ११ वैशाख २०७९ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App