१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

गोरखामा गठबन्धनका दुई दल कांग्रेस र माओवादीबीच मात्रै चुनावी तालमेल

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गोरखामा चुनावी तालमेल हुने भएको छ। दुई दलका नेताहरुबीच कांग्रेसले ७ र माओवादी केन्द्रले ४ वटा पालिका लिएर गठबन्धन गर्ने विषयमा सहमति भएको हो।  

कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमति भएको छ। माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट गाउँपालिका, शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ।

कांग्रेसले यसअघि मेयर जितेका पालुङटार नगरपालिका र अध्यक्ष जितेका चुमनुब्री गाउँपालिका माओवादीलाई छाडेको हो। प्रमुख रहेको पालिकामा उपप्रमुख अर्को पार्टीले लिने गरी दुई दलले सहमति गरेका हुन्। 

वडाको हकमा पनि यसअघि जितेको वडा यथावत रहने र बाँकी बाँडफाँड गर्ने सहमति दुई दलका नेताहरुबीच भएको छ।  

यसअघि गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमति जुट्न सकेको थिएन। अन्ततः दुई दलबीच मात्रै सहमति भएको हो।  

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ, अब्दुल सतार, पूर्व केन्द्रीय सदस्य कमला पन्त सहभागी छन् भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, अध्यक्ष लेखबहादुर थापा, केन्द्रीय सदस्य अमर तमु, शुसिला सिम्खडा सहभागी छन्।

प्रकाशित: १० वैशाख २०७९ ११:१६ शनिबार