१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मोरङमा अझै मिलेन गठबन्धनको चुनावी तालमेल

मोरङमा गठबन्धनका दलबीच भागबण्डामा सहमति हुन नसकेपछि चुनावी तालमेल अन्यौलमा परेको छ। गठबन्धनका दलहरूका बीचमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति हुन नसकेपछि शनिबार स्थगित भएको गठबन्धन दलको बैठक अझै बस्न सकिरहेको छैन।  

मोरङमा अघिल्लो निर्वाचनलाई आधार मानेर स्थनिय तह भागबण्डा गर्नुपर्ने कांग्रेसले प्रस्ताव राखेको छ। यस्तै एमालेले जितेका स्थानीय तहमध्ये ३ वटा स्थानीय तह आफूलाई दिन एकीकृत समाजवादीको प्रस्ताव छ। यता जनता समाजवादीले दक्षिणी क्षेत्रका तीनवटा पालिकामा दाबी गर्दै आएको छ। यस्तै ३ वटा स्थानीय तह आफूलाई हुनुपर्ने नेकपा एकीकृत माओवादीले अडान लिंदै आएको छ।  तर, कांग्रेसले भने अन्य दललाई ९ वटा स्थानीय तह दिने मनस्थिति देखाएको छैन।

कांग्रेसले विराटनगर महानगरपालिकासहित ११ वटा स्थानीय तह आफूले पाउनुपर्ने अडान लिइरहेको छ। नेपाली कांग्रेसका मोरङका सभापति डिगबहादुर लिम्बुले अरु दलले ९ वटामा दाबी गरेका कारण कुरा मिल्न नसकेको बताए। उनले स्थानीय स्तरबाट कुरा नमिलेपछि गठबन्धनको स्थगित बैठक बस्न सकेको छैन।

‘स्थानीय स्तरबाट कुरा नमिलेका कारण अहिले प्रदेश र केन्द्रीय समितिसँग छलफल गरिरहेका छौ,’ उनले भने,‘मोरङमा गठबन्धनका लागि सहमति जुट्न नसकेकोबारे केन्द्र र प्रदेश समितिलाई जानकारी गराईसकेका छौं।’  लिम्बुका अनुसार केन्द्र र प्रदेशबाट गठबन्धनका विषयमा कुनै पनि प्रतिक्रिया आएको छैन। लिम्बुले अनौपचारिक रुपमा पनि कसरी मिलाउन सकिन्छ भन्नेबारे छलफल जारी रहेकाले सोमबारसम्ममा निश्कर्षमा पुगिसक्ने दाबी गरे। यता एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य महेश रेग्मीले गठबन्धनका दलवीच विगतमा निर्वाचन जितेका थप अन्य स्थानीय तह पनि आफूलाई हुनुपर्ने अडान कायम रहेकाले सहमति नभएको बताए। उनका अनुसार  कांग्रेसले विगतमा आफूले जितेका सबै स्थानीय तह पाउनुपर्ने दाबी गरिरहेको छ।

एकीकृत समाजवादीले पनि विगतमा एमालेले जितेका सबै स्थानीय तह आफूले पाउनुपर्ने दा बी गरिरहेको उनले बताए। यस्तै मोरङमा एक/एक स्थानीय तह जितेको नेकपा माओवादी केन्द्र र जनता समाजवादीले थप दुई स्थानीय तह मागिरहेको रेग्मीले जानकारी दिए। आफ्नो भागमा धेरै परोस् भन्ने चाहना स्वभाविक भएको भन्दै रेग्मीले औपचारिक बैठक शनिबार पछि बस्न नसके पनि अनौपचारिक भेटघाट र छलफल जारी रहेको बताए।  

स्थानीय तहको निर्वाचन २०७४ मा मोरङका  १७ पालिका मध्ये विराटनगर महानगरसहित  ९ वटा पालिकामा कांग्रेस  विजयी भएको थियो। नेपाली कांग्रेसमा विलय भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक २ वटा  पालिकामा विजयी भएको थियो। यही आधारमा नेपाली कांग्रेसले मोरङका ११ वटा पालिकामा दाबी गरिरहेको छ।

विगतमा एमालेले जितेका ४ पालिकामा एकीकृत समाजवादीले दाबी गरिरहेकोमा सहमतिका लागि एउटा स्थानीय तह छाड्न तयार रहे  पनि नेकपा  माओवादी केन्द्र र जसपाले विगतमा जितेको स्थानीय तहमामात्रै चित्त नबुझाएपछि मोरङमा भागबण्डा मिलाउन सकस परेको गठबन्धन निकट स्रोतले जनाएको  छ।

कांग्रेसलाई महानगरपालिकासहित ११ स्थानीय तह, नेकपा मओवादी केन्द्रलाई ३, नेकपा एकीकृत समाजवादीलाई ३ र जसपालाई विगतमा जितेको जहदा गाउँपालिका  र विराटनगर महानगरपालिकाको उपमेयर दिएर सहमति गर्ने प्रयासमा दलहरू लागिरहेको स्रोतले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App