१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

तालमेलमै लाग्न निर्देशन

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग नै तालमेल गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ।

पार्टीका स्थानीय तह समितिबाट केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल नगर्ने निर्णय भइरहेका बेला नेपाली कांग्रेसले गठबन्धनको भावना र नीतिअनुसार अघि बढ्न मातहतका संयन्त्रलाई निर्देशन दिएको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्न नसकिने निर्णय कांग्रेसका स्थानीय समितिले गर्न थालेपछि निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले संघीय सत्ता गठबन्धनलाई जोगाउँदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म पुग्न पनि स्थानीय चुनावमा तालमेल आवश्यक रहेको औंल्याएका छ।

कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल नगर्दा केन्द्रीय सत्ता गठबन्धनमाथि नै प्रश्नचिह्न खडा हुने विश्लेषण समितिको छ। केन्द्रीय सत्ता साझेदार दललाई एक्लै छाडेर अघि बढ्दा केन्द्रमा सरकार सञ्चालन गर्ने विषयमा नैतिक प्रश्न उठ्ने भएकाले मातहतका पार्टी निकायहरूले त्यसलाई बुझेर अघि बढ्नुपर्ने समितिको बुझाइ छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको समितिको बैठकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकै सहयोगका कारण कांग्रेस नेतृत्वमा सरकार निर्माण सम्भव भएको कुरा सबै तहका नेता तथा कार्यकर्ताले मनन गर्नुपर्ने विषयमा छलफल भएको थियो।

संयोजक खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धनका लागि पार्टीले गरेको निर्णय अनुशासनको घेराभित्र पर्ने धारणा राख्दै त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय सभापतिदेखि सबै तहका  कमिटी, नेता र कार्यकर्ताको भएको बताएका थिए। सत्ता गठबन्धन बचेन भने सरकार पनि नरहने खड्काले बताएका थिए।

खड्कालाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘संघीय सत्ता गठबन्धनमा रहेका पार्टीलाई सडकमा छोड्नु कांग्रेसको नैतिकताभित्र पर्दैन। गठबन्धनबिना कांग्रेस पनि सत्तामा रहन सक्दैन।’

बैठकले कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संघसंस्थालाई केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्म तत्काल स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरी पार्टीका तथा गठबन्धन दलसँग तालमेल गरी उठाइएका उम्मेदवारलाई विजयी गराउन सक्रिय हुन निर्देशन गरेको छ।

खड्का नेतृत्वको निर्वाचन परिचालन समितिको बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको कार्यादेश, २०७८ अनुमोदन गरेको छ। भ्रातृ, शुभेच्छुक, जिल्ला सम्पर्क, विदेशस्थित जनसम्पर्क, अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण, निर्वाचन सुरक्षा, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गर्ने निर्णय गरेको छ।

बैठकले सातै प्रदेशका साथै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। प्रदेश समितिलाई मातहतका जिल्लाअन्तर्गतका पालिकामा प्रदेश प्रतिनिधि खटाउन निर्देश गर्दै बैठकले स्थानीय तह निर्वाचनका सभालाई व्यवस्थित, सभ्य र छरितो बनाउन चुनावी सभा व्यवस्थापन मापदण्ड तय गरेको छ। समितिले वडा तहका चुनावी कार्यक्रम एक घण्टामा सक्नुपर्ने गरी मोडालिटी बनाएको छ। जहाँ चुनावी तालमेल हुन्छ, त्यहाँ हुने हरेक सभामा गठबन्धन दलका प्रतिनिधिलाई पनि सहभागी गराउन समितिले निर्देशन दिएको छ।

यसैबीच नेपाली कांग्रेसले महानगर र उपनगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाउन कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसोका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको हो। पार्टी संसदीय समितिबाट महानगरको उम्मेदवार टुंगो लगाउनुपर्ने विधानको व्यवस्था भए पनि अहिलेसम्म समिति गठन भएको छैन। बैठकले कार्यसम्पादन समितिबाट उम्मेदवार टुंगो लगाउने वा पदाधिकारीलाई यसको जिम्मा दिने भन्ने विषयमा निर्णय लिने सम्भावना छ।

प्रकाशित: ३ वैशाख २०७९ ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App