२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

उम्मेदवार छान्न निर्वाचन

एमालेकातर्फबाट दैलेखको आठबीस नगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवार छान्नका लागि भएको निर्वाचनमा सहभागीहरु।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुलाई उम्मेदवार छान्न सकस परिरहेको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलाई साझा उम्मेदवार बनाउन जति सकस भइरहेको छ नेकपा एमालेलाई पनि पालिकास्तरमा उम्मेदवार बनोटमा समस्या छ।

७९ वटा स्थानीय तह मध्ये २०७४ को निर्वाचनमा पहिलो भएको एमालेलेमा उम्मेदवार बन्ने आकांक्षी धेरै हुँदा केही ठाउँमा उम्मेदवारको टुंगो लगाउन निर्वाचन गर्नुपरेको छ। दैलेखको आठवीस नगरपालिका र दुल्लु नगरपालिकामा एमालेले निर्वाचनमार्फत उम्मेदवारको टुंगो लगाएको छ। दैलेखका ११ पालिका मध्ये अझै आठ वटा पालिकामा उम्मेदवारको टुंगो लगाउन निर्वाचन हुने अवस्था छ।

आठवीस नगरपालिकामा एमालेबाट वर्तमान नगर प्रमुख खड्गराज पोखरेलसहित सात जना आकांक्षी थिए भने उपमेयरका लागि चार जना आकांक्षी थिए। उनीहरुपछि को उम्मेदवार बन्ने भन्ने विषयमा मंगलबार निर्वाचन भयो। निर्वाचनबाट मेयरको टिकटका लागि तर्कबहादुर बडुवालले धेरै मत प्राप्त गरे भने उपमेयरका लागि कल्पना कुमारी थापाले धेरै मत प्राप्त गरिन्।

‘आकांक्षी धेरै हुँदा उम्मेदवार छनोट गर्नका लागि निर्वाचन गर्नुपर्‍यो,’ आठवीस नगर कमिटी अध्यक्ष अमर माझीले भने, ‘जसले धेरै मत ल्यायो, उसैलाई मेयर र उपमेयरका लागि सिफारिस गरेका छौं।’ मेयरका सात जना आकांक्षी मध्ये बडुवालले सबैभन्दा धेरै ४७ मत ल्याए। हालका नगर प्रमुख उपाध्यायले २९ मत प्राप्त गरे भने अर्का आकांक्षी पदमबहादुर माझीले १८ मत ल्याए। यस्तै ओमजंग शाहीले १३ मत ल्याउँदा हर्कबहादुर शाहीले १० र तेजबहादुर महताराले आठ मत प्राप्त गरे।  

माझीका अनुसार नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनौट भएसँगै चुनावी प्रचार–प्रसार तिब्र पारिएको छ। ‘आकांक्षी मध्ये सर्वाधिक मत ल्याउनेलाई समर्थन गर्ने सहमति भएको थियो,’ उनले भने, ‘निर्वाचन प्रक्रियाद्वारा उम्मेदवार बनौट गर्‍यौं, पालिका प्रमुख र उपप्रमुख जिताउनका लागि अव चुनावी अभियानमा होमिन्छौं।’

आठवीस नगरपालिकाको उपप्रमुखमा चुनाव लड्नका लागि चार जना आकांक्षी थिए। ति मध्ये कल्पना कुमारी थापाले सर्वाधिक ५२ मत प्राप्त गरिन्। अर्की आकांक्षी नामसरा कार्कीले ३४, जौधरा आचार्यले ३३ र कमला थापाले ३० मत प्राप्त गरिन्।

एमालेबाट उपमेयरको उम्मेदवार कल्पना थापाले उम्मेदवारीको टुंगो लागेसँगै चुनावी प्रचार–प्रसार सुरु भएको बताइन्। ‘आन्तरिक प्रतिष्पर्धामा जसले जित्छ पालिकाको निर्वाचनमा उसैलाई समर्थन गर्ने सहमति थियो,’ उनले भने, ‘सोही अनुसार आन्तरिक प्रतिष्पर्धामा सहभागीहरु पनि एकढिक्का भएर चुनावी अभियानमा होमिएका छौं।’

दैलेखको आठवीसमा मात्रै होइन्, उम्मेदवार छनौटका लागि दुल्लू नगरपालिकामा पनि निर्वाचन भयो। दुल्लूमा नगर प्रमुखको उम्मेदवार बन्नका लागि सात जना तथा उपप्रमुखका लागि आठ जना दावेदार थिए। नगर प्रमुखको उम्मेदवार बन्नका लागि रुद्रबहादुर शाहीले सर्वाधिक ५६ मत प्राप्त गरे। यस्तै हर्कबहादुर खड्काले ३३, तिलकप्रसाद रिजालले १९, गंगाराम दाहालले १० र डा. रमेशप्रसाद आचार्यले पाँच मत प्राप्त गरे।

उपमेयरको उम्मेदवारका आकांक्षी मध्ये रेणु भट्टराईले सर्वाधिक ३३ मत प्राप्त गरिन्। यस्तै विना कार्कीले २९, विष्णु थापाले २७, कौशिला आचार्य खनालले १५, भगवतीकुमारी खनालले १३, सावित्रा खड्काले १२ र कोकिला शर्माले ८ मत प्राप्त गरे।

नगर कमिटी अध्यक्ष हर्कबहादुर खड्काले दुल्लू नगरपालिकाको मेयरका लागि आन्तरिक प्रतिष्पर्धामा सर्वाधिक मत ल्याएका शाहीको एकल सिफारिस गरिएको बताए। ‘पार्टीको निर्देशन अनुसार एक महिलासहित तीन जनाको सिफारिस गर्नुपर्ने थियो,’ उनले भने, ‘मेयरको उम्मेदवारका लागि भएको आन्तरिक निर्वाचनमा उहाँ (शाही) ले सर्वाधिक मत ल्याएकाले एकल सिफारिस गरेका हौं।’

उपमेयरतर्फ भने नगर कमिटीले दुई जनाको नाम सिफारिस गरेको छ। उपमेयरका लागि भएको नगर कमिटीको आन्तरिक निर्वाचनमा पहिलो, दोस्रो र तेस्रो मत ल्याएका क्रमशः रेणु भट्टराई, विना कार्की र विष्णु थापा उपमेयरका लागि सिफारिस गरिएको नगर कमिटी अध्यक्ष खड्काले जानकारी दिए।

प्रकाशित: ३० चैत्र २०७८ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App