६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनका लागि काठमाडौंमा ४६ दल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा काठमाडौंबाट सबैभन्दा बढी ४६ राजनीतिक दलका उम्मेदवारले भाग लिने भएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचनका लागि आयोगमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ४० साना राजनीतिक दल दर्ता भएको जानकारी गराएका हुन्।

‘स्थानीय तह निर्वाचनका लागि काठमाडौंमा सबैभन्दा बढी ४० साना दल दर्ता भएका छन्,’ आयोगका प्रवक्ता पौडेलले भने, ‘६ वटा राष्ट्रिय मान्यता प्राप्तसहित काठमाडौंमा ४६ वटा दल दर्ता भएका छन्। त्यस्तै, मनाङ, मुस्ताङ र डोल्पामा भने सबैभन्दा कम पाँच साना दलसहित जम्मा ११–११ वटा राजनीतिक दलका उम्मेदवारले मात्र निर्वाचनमा भाग लिनेछन्।’  

राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक मोरङमा ३३, सुनसरी र रूपन्देहीमा ३२/३२, ललितपुरमा ३१, झापा र रौतहटमा ३०/३०, बारा, सप्तरी र सर्लाहीमा २९/२९, भक्तपुर र चितवनमा २८/२८, पर्सामा २७, सिरहा र धनुषामा २६/२६, कास्कीमा २५, काभ्रे र मकवानपुरमा २४/२४, बाँके र कैलालीमा २३/२३, उदयपुर र नुवाकोटमा २२/२२, धादिङ, नवलपरासी पश्चिम, कपिलवस्तु र दाङमा २१/२१, सिन्धुली, महोत्तरी र बर्दियामा २०/२० साना दल दर्ता भएका छन्।

त्यसैगरी सिन्धुपाल्चोक, सुर्खेत र कञ्चनपुरमा १९/१९, रामेछाप र गोरखामा १८/१८, तनहुँमा १७, दोलखा र नवलपरासी पूर्वमा १६/१६, पर्वत, म्याग्दी र कालिकोटमा १४/१४, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, स्याङ्जा र बाग्लुङमा १३/१३, धनकुटा, रसुवा र लमजुङमा १२/१२, इलाम, संखुवासभा, अर्घाखाँची र गुल्मीमा ११/११, भोजपुर, अछाम, दार्चुला, बैतडी र डडेलधुरामा १०/१० साना दल दर्ता भएका छन्। ताप्लेजुङ, तेह्रथुम, पाल्पा, प्युठान, मुगु, हुम्ला, बाजुरा र डोटीमा ९/९, पाँचथर, जुम्ला र दैलेखमा ८/८, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट र बझाङमा ७/७ वटा साना दल दर्ता भएका छन्।  

आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरूले समेत दल दर्ताको समयमा लिएको चिह्नका आधारमा निर्वाचनमा भाग लिन दिने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनका लागि ७९ राजनीतिक दल दर्ता भएका थिए।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नै निर्वाचन चिह्न पाउने व्यवस्था छ। साना दलहरूले समेत आफ्नै निर्वाचन चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले सक्रिय रहेको जिल्लामा दलको निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको थियो। त्यसपछि साना दलहरूले जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण आयोगमा पेस गरेका थिए।

आयोगले स्थानीय तह निर्वाचनमा ७३ राजनीतिक दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिह्न प्रदान गर्नेसम्बन्धमा जिल्ला स्तरको संगठन संरचना (जिल्ला समिति) को विवरण चैत ६ गतेभित्र पेस गर्न पत्राचार गरेको थियो। आयोगले निर्वाचनमा १ करोड ७७ लाखभन्दा बढी मतदाता हुने जनाएको छ। ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला र १ सय ८३ जना यौनिक अल्पसंख्यकसहित आयोगले अन्तिम मतदाता नामावली टुंगो लगाएको थियो।

आयोगले निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको जानकारी प्रवक्ता पौडेलले दिएका थिए। आयोगले निर्वाचन प्रयोजनका लागि नियुक्त हुने ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृतको सूची सार्वजनिक गरिसकेको छ।

प्रकाशित: १५ चैत्र २०७८ ००:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App