५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आज इन्डोनेशिया जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका छन्।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४औँ सम्मेलनमा भाग लिन शुक्रबार बेलुका इन्डोनेशिया प्रस्थान गर्न लागेका हुन्।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रबार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहनेछन्।

त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ। सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो: मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने भएका छन्।

त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरुको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन्। तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठुलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए।

अध्यक्ष तिमिल्सिनाले गोर्भनिङ काउन्सिलको २०९औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ। सो सत्रमा राष्ट्रिय सभा सदस्यद्वय भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटाले पनि सहभागिता जनाउने छन्। त्यसैगरी अनिता देवकोटाले महिला संसद् सदस्यहरुको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद सदस्यहरुको बैठक एवं छलफलमा भाग लिने संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभा सदस्य सुरेन्द्रबहादुर कार्कीले ‘इन्गेजिङ फर अ युनिभर्सल बन अन न्यूक्लियर टेस्टस्’ विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संघीय संसदका महासचिव भरतराज गौतम ‘एसोसिएसन अफ सेक्रेटरिज् जेनेरल अफ पार्लियामेन्ट्स’ सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते शुक्रबार बेलुकी ८ः४५ बजे नेपाल फर्किने संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७८ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App