२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सिन्धु कांग्रेस नेतृत्वको लागि पुनः मतदान

दोस्रो चरणमा सभापतिमा डा. प्रेमध्वज लामाले बंशलाल तामाङलाई सघाउने

तस्बिर: पत्रकार सम्मेलनमा सभापतिमा बंशलाल तामाङलाई मतदिन आग्रह गर्दै नेता डा. प्रेमध्वज लामा।

नेपाली कांग्रेस सिन्धुपाल्चोको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आइतबार पुनः मतदान हुँदैछ। सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत प्राप्त नगरेपछि पुनः मतदान हुन लागेको हो।

कांग्रेस विधानअनुसार सभापति जित्न उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नै पर्छ। विधानअनुसार अब दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति उम्मेदवार जंगबहादुर तामाङ र बंशलाल तामाङबीच प्रतिस्पर्धा हुने छ। तेस्रो भएका उम्मेदवार डा. प्रेमध्वज लामा प्रतिस्पर्धाबाट बाहिरएका छन्।  

शनिबार भएको निर्वाचनको राति अबेर सार्वजनिक मतपरिणामअनुसार सभापतिका प्रत्यासी जंगबहादुरले ७ सय ५ मत प्राप्त गरे। बंशलालले ६ सय २९ मत पाए। लामाले ४ सय ९३ मत मात्र ल्याए। निर्वाचन १ हजार ८ सय ६७ मत खसेकोमा ४० भोट बदर भएको थियो।

जंगबहादुर जिल्लामा पार्टी सभापति शेरबहादुर देउवा समूहको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पक्षका हुन्। बंशलाल शेखर कोइराला समूहबाट सभापति उम्मेदवार बनेका हुन्। लामा देउवा पक्षबाटै बागी उम्मेदवार बनेका थिए। देउवा र उनको समूहका नेताले लामालाई आफ्नो पक्षको आधिकारिक उम्मेदवार बनाउन नेता बस्नेतलाई निर्देशन दिए पनि उनले जंगबहादुरलाई अघि सारेका थिए।  

लामाको समर्थन बंशलाललाई

दोस्रो चरणको मतदानअघि सभापतिको प्रतिस्पर्धाबाट बारिहएका लामा समूहले नेतृत्वमा बंशलाल तामाङलाई सघाउने घोषणा गरेको छ। मतदान सुरु हुनअघि पत्रकार सम्मेलन गरेर लामाले सभापतिमा बंशलाललाई सघाउने घोषणा गर्दै उनलाई मतदान गर्न आफू पक्षकासहित सबै नेता, कार्यकर्ता र प्रतिनिधिलाई आग्रह गरेका छन्।

‘पार्टीभित्र मौलाएको व्यक्तिवादी प्रवृति परास्त गर्दै कांग्रेसलाई विधि, बिधानमा हिँडाउन सभापतिमा बंशलाल तामाङलाई समर्थन गर्ने निर्णयमा पुगेका छौँ’, उनलाई जिताउन आग्रह गर्दै लामाले भने। सभापतिका उम्मेदवार बंशलाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष हुन्। गाउँपालिका महासंघका महासचिवसमेत रहेका उनले जिल्ला सचिवको नेतृत्व सम्हालिसकेका छन्। उनी नेविसंघको राजनीतिबाट जिल्लामा स्थापित नेता हुन्। निर्माण व्यवसायी पृष्ठभूमिका सभापतिका अर्का प्रत्यासी जंगबहादुरसँग एक पटक क्षेत्रीय सभापति बनेको अनुभव छ।

सभापतिको लागि आइतबारै पुनःमतदान हुने र रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ। झण्डै १ हजार ९ सय प्रतिनिधिले पुनःमतदानमा भोट खसाल्दै छन्। सभापतिपछि जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुको मतगणना थालिने निर्वाचन समितिले जनाएको छ। सदस्यमा १५ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App