१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

चुनावी तालमेल रणनीति तय गर्दै गठबन्धन

सत्तारुढ चार दलले स्थानीयसहित तीनै तहको निर्वाचनसम्म वर्तमान गठबन्धनलाई निरन्तरता दिने बताएका छन्।

प्रतिनिधिसभाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेपछि बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकमा गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने प्रतिबद्धता जनाइएको हो।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका साथै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गरेर जाने विषयमा आआफ्ना दलभित्र पहिला छलफल चलाउने निर्णय बैठकले गरेको छ। तीनै तहको निर्वाचनमा केही ठाउँमा चुनावी तालेमल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेता सकारात्मक देखिएका छन्।

तर सरकारको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन गर्न नहुने आवाज उठिरहेकाले त्यसलाई समेत सम्बोधन गर्नेगरी पहिला आन्तरिक छलफल र निर्णयमा पुग्ने समझदारी बनेको स्रोतको दाबी छ।

‘पार्टीहरूभित्र फरकफरक मत छन्,’ बैठकमा सहभागी एक नेताले भने, ‘माथिबाट निर्णय गर्दा त्यसको प्रभावकारी कार्यान्वयन नहुन सक्छ। त्यसैले आआफ्ना पार्टीभित्र पनि छलफल गरेर तालमेलका विषयमा निर्णयमा पुगौं भन्ने भएको छ।’

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने अधिकार तल्लो तहलाई नै दिनुपर्छ भन्ने कुरा पनि आएको भन्दै ती नेताले थपे, ‘त्यसले भद्रगोल हुन्छ। अहिलेको गठबन्धनको औचित्य पनि बाँकी हुँदैन। त्यसैले एउटा निर्णयमा पुग्नुपर्छ। त्यस अघि आआफ्नो पार्टीभित्र छलफल गरौं भन्ने सहमति भएको हो।’

बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। देउवाले अब सबै राजनीतिक दल एकै ठाउँमा उभिएर यसको कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए।

‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौं’, देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘अनुमोदन प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौं, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ।’

एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा देखिएको मतभेदबारे समीक्षा गर्दै शीर्ष नेताहरूले सरकारको कामलाई अझै प्रभावकारी बनाउने निर्णय गरेका छन्। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसिसी अनुमोदनसहित समसामयिक राजनीतिक घटनाक्रमबारे समीक्षा भएको जानकारी दिए।

‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ। त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन्,’ मन्त्री कार्कीले भने, ‘महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यकता भएकाले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्मा जारी अवरोध हटाउन आह्वान गर्ने निर्णय भएको छ।’

प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो। त्यसका लागि सहयोग गरेको भन्दै देउवाले गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल र माधवकुमार नेपालको प्रशंसा गरेका थिए।

बैठकमा सहभागी गठबन्धनका शीर्ष नेताहरूले देउवाको परिपक्व भूमिकाको प्रशंसा गरेका थिए। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भने एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाएका थिए।

प्रकाशित: २० फाल्गुन २०७८ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App