coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढीरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले महाअभियोग प्रस्ताव सिफारिस समिति बनेपछि त्यसको विषय पनि टुंगिने बताए।

नेता विश्वकर्माले भने, ‘महाअभियोग दर्ता गरिसकेपछि महाअभियोग प्रस्ताव ठिक छ, छैन? भनेर यसको सिफारिस गर्ने महाअभियोग प्रस्ताव सिफारिस समिति बन्नुपर्छ। त्यो समितिमा सबै दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था छ। त्यसैले भर्खरै एमसीसीको विषयले संसद गर्मागर्मी भएको थियो। दलहरुका बीचमा छलफल हुँदैछ, छलफल भएपछि चाँडै नै टुंगिन्छ। त्यो समिति बनेपछि अघि बढ्छ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव संसदबाट पारित हुने विश्वास व्यक्त गरे। नैतिकहीन, गैरजिम्मेवार र संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अयोग्य जबरालाई कुनै राजनीतिक दलले समर्थन नगर्ने उनको तर्क थियो।

उनले नेकपा एमाले संसद अवरोध गर्नुको कुनै तुक नरहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताको बीचमा आफ्नो संसद विघटनको निर्णय सही थियो भन्ने साबित गर्न खोजेको आरोप लगाए।

सांसद श्रेष्ठले भने, ‘कानूनी प्रावधान अनुसार महाअभियोगको प्रक्रिया अघि बढ्छ। प्रक्रिया अघि बढाउने तर्फ नै गएका छौँ । पास गर्ने गरेर ल्याएको महाअभियोग हो। यो सारा जनताले उठाएका विषय हुन्। न्याय क्षेत्रमा जुन खालको समस्या उत्पन्न भयो, न्याय क्षेत्र जुन ढंगबाट जनताको आस्था मर्ने गरी काम भयो, न्याय क्षेत्र बदनाम भयो, न्याय निरुपण गर्ने कुराहरु असक्षम भयो, न्याय क्षेत्रको सुधारका लागि नै न्याय क्षेत्र जनताको आस्थाको केन्द्र बनाउनको लागि नै महाअभियोगको प्रश्ताव ल्याएका हौँ। भ्रष्ट, नैतिकहीन, गैर जिम्मेवार र संविधानले दिएको जुन जिम्मेवारी पूरा गर्न नसक्ने, अयोग्य मान्छेलाई कुनै पनि राजनीतिक दलले समर्थन गर्छ भन्ने बिल्कुलै लाग्दैन। संसदमा सर्वसम्मतले पारित हुने स्थिति हुन्छ। नेकपा एमालेले संसद अवरोध गर्नुको कुनै तुक छैन, यो एकदम असंवैधानिक र अलोकतान्त्रिक छ। नेकपा एमाले र केपी शर्मा ओली नेपाली जनताको बीचमा के कुरा देखाउन खोजिरहेका छन् भने यो संसद दुई पटक असंवैधानिक ढंगबाट विघटन गरेको संसद भएकोले यसलाई चल्न नदिने, जनताको आवाज राख्न नदिने, आफूले गरेको काम ठिक छ भनेर देखाउने कोशिसमा लाग्नु भएको छ। संविधानको सर्वोच्चताको नारा लगाउनु हुन्छ तर संविधान विपरित काम गरिरहनु भएको छ।’

सांसद श्रेष्ठले नेकपा एमालेले संविधानको सर्वोच्चताको नारा लगाइरहे पनि संविधान विपरित काम गरिरहेको आरोप लगाए। 

प्रकाशित: १८ फाल्गुन २०७८ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App