८ वैशाख २०८१ शनिबार
राजनीति

एमसिसीबारे पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्ति विवादित

चीनका लागि नेपालका पूर्वराजदूत तथा पूर्व मुख्यसचिव लिलामणि पौड्यालले एमसिसीको विषयलाई लिएर दिएका अभिव्यक्ति विवादमा तानिएका छन्। पौड्यालले शुक्रबार कमलादीमा आयोजना गरेको एक कार्यक्रममा एमसिसी सम्झौता कार्यान्वयन भए अर्थ सचिवको सरुवा गर्न पनि एमसिसीको स्वीकृत लिनुपर्ने र पैसा खाएर एमसिसीको पक्षमा वकालत गरेको बताएका थिए।

‘एमसिसी सम्झौता भयो भने अब अर्थ मन्त्रालयको सचिव नेपाल सरकारले सरुवा गर्दैन,’ नेपाल सरकारका पूर्व मुख्यसचिवसमेत रहेका पौड्यालले भनेका थिए, ‘एमसिसीले स्वीकृत दिएको मान्छे मात्र अर्थ मन्त्रालयको सचिव हुन्छ। ‘एमसिसी अर्थ मन्त्रालयभन्दा माथि हुन्छ।’

अर्थ मन्त्रालयका अधिकारीले पौड्यालको यो अभिव्यक्तिलाई तुच्छ विचार भनेर टिप्पणी गरेका छन्। एमसिसी सम्झौतामा नेपाल सरकारप्रति उत्तरदायी स्वायत्त विकास समिति ‘एमसीए–नेपाल’ छ। त्यसको पदेन अध्यक्ष अर्थ मन्त्रालयको सचिव हुने व्यवस्था छ। सरकारले अर्थसचिवमा जसलाई खटायो त्यही व्यक्ति एमसिए बोर्डको अध्यक्ष हुन्छ।

यही विषयलाई लिएर अर्थसचिवको सरुवा गर्न पनि एमसिसी स्वीकृति लिनुपर्छ भन्ने पौडेलले अभिव्यक्ति दिएका हुन्। एमसिए बोर्ड विकास समिति ऐन,२०१३ अन्तर्गत गठन भएको समिति हो। पूर्व मुख्यसचिव पौड्यालको अभिव्यक्तिले अर्थमन्त्रालयका अधिकारी पनि आश्चार्यमा परेका छन्। ‘लिलामणि सरले किन यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, हामी पनि आश्चार्यमा परेका छौं,’ अर्थका ती उच्च अधिकारीले भने, ‘उहाँले भनेजस्तो होइन। जो अर्थसचिव हुन्छ, त्यही व्यक्तिले एमसिए बोर्डको अध्यक्षता गर्छ।’

एक पूर्व मुख्यसचिवले लिलामणिको टिप्पणी हावादारी भएको बताए। ‘उहाँ (लिलामणि) माओवादीको विदेश विभागमा बसेर काम गर्न थालेपछि आफ्नो पदीय गरिमा बिर्सेर उग्र राजनीतिज्ञ जस्तो हुनुभएन,’ ती पूर्वमुख्य सचिवले भने, ‘उहाँले आफ्नो विगतको पदीय जिम्मेवारी भुल्नुभयो।’

एमसिए नेपाल अर्थ मन्त्रालय अन्तर्गतको विकास समिति भएकाले सरुवामा एमसिसीको हस्तक्षेप नहुने पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए। ‘म पनि एमसिए बोर्डको अध्यक्ष भएर काम गरेँ,’ ढुंगानाले भने, ‘अर्थसचिव पदेन अध्यक्ष हुने व्यवस्था मात्र हो।’ अर्थसचिवको सरुवामा एमसिसीको कुनै भूमिका हुने पूर्व अर्थसचिव ढुंगानाले प्रष्ट पारे। पौड्यालको अभिव्यक्तिले पूर्व अर्थसचिव ढुंगाना पनि अचम्म परेका छन्।

पैसा खाएर एमसिसीको वकालत गरेको र अर्थ सचिवको सरुवा गर्दा एमसिसीको अनुमति लिनुपर्ने पौड्यालको अभिव्यक्तिलाई पूर्वप्रशासकले सांकेतिक रूपमा व्यंग हानेका छन्। पूर्व सचिव कृष्ण ज्ञवालीले पौड्यालले बोलेको भिडिओ ट्विटरमा सेयर गर्दै लेखेका छन्, ‘आवाजै सुनेपछि त पत्याउनै पर्‍यो। के भन्या होला र किन भन्या होला यस्तो, उहाँजत्तिको मान्छेले?’

सोही कार्यक्रममा पौड्यालले एमसिसीको पक्षमा बोल्नेले पैसा खाएर वकालत गरेको भन्दै टिप्पणी गरेका थिए। पैसा खाएर बोलेको भन्ने विषयमा पौड्यालले माफी माग्दै विज्ञप्ति प्रकाशित गरे पनि अर्थ सचिवको विषयमा केही बोलेका छैनन्। पैसा खाएको भन्ने विषयमा आफूले गलत बोलेको भन्दै मौनब्रत बस्नेसमेत घोषणा गरेका छन्।

पौड्यालले विज्ञप्तिमा लेखेका छन्–‘एमसिसिको वकालत गर्न पैसा बाँडिएको भन्ने अभिव्यक्तिप्रति क्षमा याचना गर्दछु।’ आफ्नो प्रस्तुतिमा असावधानी भएकोे महसुस गरेको बताएका छन्। ‘राष्ट्रिय महत्त्वका विषयमा खुला बहस हुनुपर्छ,’ पौड्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ , ‘फरक विचार राख्नेप्रति सम्मान गर्र्नुपर्छ, अशोभनीय व्यक्तिगत लान्छना होइन।

प्रस्तुतिगत असावधानी भएको महसुस गरेको छु,’ पौड्यालले भने। उनले माफी माग्दै बौद्धिक बहसमा आउनुहुने सबैमा पुर्‍याएको चोटको प्रायश्चित गर्दै शनिबार साँझ ६ बजेदेखि आइतवार दिउँसो १२ बजेसम्म मौनब्रत वस्ने र सोमबर साँझ ६ बजेसम्म एमसिसीको बारेमा कुनै अभिव्यक्ति नदिने अठोट गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

पौड्यालले एमसिसीको पैसा आएको अभिव्यक्ति दिँदा उनका आलोचकले भने पौड्याल पनि चीनबाट परिचालित भएर एमसिसीको विपक्षमा उभिएको आरोप लगाउँदै आएका छन्। पौड्याल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा चीनका लागि नेपालका राजदूत भएका थिए। सरकारले पौड्यालको कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएको थियो। पौड्याल नेकपा माओवादी केन्द्रको विदेश विभागमा बसेर काम गर्न पनि थालेका छन्। माओवादीले एमसीसीको विपक्षमा उभिएर विरोध गर्दै आएको छ।

पूर्व चिनियाँ राजदूत पौडेलले विगतमा पनि चीनको पक्षमा वकालत गर्दै आएको आरोप लाग्दै आएको छ। एमसिसी सम्झौता नेपालले नगरोस् भनेर चीनले राजनीतिक नेतृत्वलाई घुमाउरो ढंगले दबाब दिँदै आएको छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App