१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसीसीको विपक्षमा मतदान गर्ने समाजवादीकाे निर्णय

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ। सोमवार काठमाडौंमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरुलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताए। उनले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताए।

प्रवक्ता खतिवडाले भने, ‘हाम्रो सचिवालयको बैठक जारी छ। आज छलफलको लागि समय पुगेन। हामी एमसीसीको यो प्रश्तावको संसदमा दर्ता भएको प्रश्तावको विपक्षमा उभिनेछौँ। विपक्षमा उभिनका निम्ति सबैलाई भन्नेछौँ र वातावरण तयार गर्नेछौँ। यो विषय संवदेनशील भएकोले त्यहीँ छलफल होला। हामी आफ्नो पार्टीको पोजिशन स्पष्ट गर्न चाहन्छौँ। हिजो दर्ता गरिएको एमसीसीको प्रश्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौँ। सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यक्ता थियो। सरकारमा बस्ने र निस्किने कुरा समयले निर्धारण गर्छ।’

प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यक्ता भएको पनि बताए। 

प्रकाशित: ९ फाल्गुन २०७८ १२:४४ सोमबार