८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा विवादः शीर्ष नेताको बैठकले पनि निकालेन निष्कर्ष

जनता समाजवादी पार्टीको विवाद टुंग्याउन आइतबार राति बसेको जसपाका पाँच शीर्ष नेताहरूको बैठकले पनि निष्कर्ष निकाल्न सकेन।  

आइतबार जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव तथा नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ र महेन्द्र यादवबीच बैठक बसेको थियो। जसपामा यी पाँच नेतालाई शीर्ष नेता भन्ने गरिएको छ।

जसपा स्रोतका अनुसार उक्त बैठकमा कार्यकारिणी समितिका अध्ययक्ष यादवमाथि भट्टराई र भट्टराईनिकट नेताहरूले अहिलेको विकसित राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको विवादको सामधान गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन दबाब दिएका थिए।

उक्त छलफलपछि बैठक बोलाउन अध्यक्ष यादव तयार भएको तर कहिले बैठक बोलाउने भन्ने तय नभएको भट्टराईनिकट कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठले बताए। उनले भने, ‘अहिलेको विकसित राजनीतिक घटनाबारेमा साझा धारणा बनाउन र पार्टीका अन्य विषयमा निर्णय गर्न तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन आवश्यक छ ।’ पछिल्लो एक महिनादेखि भट्टराई पक्षीय नेताहरूले तत्काल बैठक बोलाउन अध्यक्ष यादवलाई दबाब दिइरहेका छन्। यादवले भने बैठक बोलाउन आनाकानी गरिरहेको भट्टराई पक्षीय नेताहरूको भनाइ छ।

भट्टराई पक्षीय नेताहरूले तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नै नभएको बताउँदै आएका छन्। भट्टराई पक्षधर नेताहरूले भट्टराईलाई कार्यकारी अधिकारसहित कार्यकारिणी समितिको अध्यक्ष तथा अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउन माग गरेका छन्।

भट्टराई पक्षधर नेताहरूले भन्ने गरेको समावेशी नेतृत्व प्रणालीको अवधारणामा भट्टराईलाई कार्यकारिणी समितिको पहिलो अध्यक्ष, कार्यकारिणी समितिको दोस्रो अध्यक्षमा उपेन्द्र यादव तथा संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई मनोयन गर्नुपर्छ भन्ने माग हो। महन्थ ठाकुरले पार्टी छाडेपछि उनले ओगटेको कार्यकारिणी समितिको पहिलो अध्यक्ष पद हाल खाली छ।

त्यस पदमा भट्टराईलाई ल्याउनुपर्छ भन्ने भट्टराई पक्षधर नेताहरूको भनाइ छ। जसपाको विधानमा पनि कार्यकारिणी समितिमा दुईजना अध्यक्षको व्यवस्था गरिएको छ।

तर यादव पक्षीय नेताहरू ठाकुरले पार्टी छाडेपछि जसपामा दुईजना अध्यक्ष हुन नसक्ने बताउँदै आएका छन्। दुई अध्यक्ष प्रणाली जसपा मात्र नभई अरू पार्टीमा पनि पूर्णरूपमा असफल भएको उनीहरूको तर्क छ।

पार्टी अध्यक्ष यादवसँग निकट तथा कार्यकारिणी समितिका सदस्य मिगेन्द्रसिंह यादवले अहिले पाटीका शीर्ष नेताहरूवीच केही विषयमा टयुनिङ नमिलेको जस्तो देखिएको बताए। उनले भने, ‘तर, बैठक पछि सबै विवाद मिल्छ।’

भट्टराइलाई अहिले महेन्द्र यादव, इस्तियाक राइ, प्रदीप यादव, लगायतका नेताहरूले पनि साथ दिएका छन्। यसअघि यी नेताहरू यादवसँग नजिक थिए। यादव पक्षकै केही नेताहरूलाई भट्टराइलाई साथ दिएपछि जसपाको कार्यकारिणी समितिमा अहिले भट्टराई पक्ष बहुमतमा रहेको भट्टराई पक्षधर नेताहरूको दावी छ।

भट्टराई पक्षधर नेताहरू भने उनलाई ‘सेरोमोनियल’ अध्यक्षका रूपमा संघीय परिषद्को नेतृत्व दिइएकोमा सन्तुष्ट छैनन्। सबै कार्यकारी अधिकार यादवसँग रहेकोमा भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन्। भट्टराई र यादव पक्षबीच अहिले कार्यकारिणी अधिकार प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

अध्यक्ष यादवले पछिल्लो पटक कार्यकारिणी समितिको बैठक मंसिर तेस्रो साता बोलाएका थिए। उक्त बैठक राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित भएको थियो। अध्यक्ष यादव पक्षका नेताहरूले भने विधानअनुसार नै अध्यक्षले पार्टीलाई अघि बढाएको र आवश्यकता अनुसार बैठक पनि भइरहेको बताउँदै आएका छन्।

प्रकाशित: ३ फाल्गुन २०७८ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App