२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा दोहोरिन्छु: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताएका छन्।

बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्। उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताए। मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए।

मेयर शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, संवद्र्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए। उनले महानगरको नीति अनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने बताए।

मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिका ऐतिहासिक, सांस्कृतिक शहर हो। जत हेर्दा पनि मन्दिर नै मन्दिर छन्। पार्टी पौवाहरु प्रशस्त छन्। त्यो बेला जसले बनाए पनि अहिले हाम्रो लागि सम्पदा बनेका छन्। सम्पदालाई संरक्षण गर्नु, प्रवद्र्धन र पर्यटनसँग जोड्नु महानगरको नीति नै रहेको छ। त्यहीअनुसार हामीले सुरुदेखि नै भनिरहेका छौँ। यहाँका जति पनि सम्पदा, मठ मन्दिर छन्, आफ्नो महत्व बोकेका छन्। हामीले सबै पुनर्निर्माण गरिदिन्छौँ भनेका थियौँ। त्यहीअनुसार पुनर्निर्माणलाई निरन्तरता दिइरहेका छौँ।’

मेयर शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौंको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत जनाए। उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गर्ने पनि बताए।

प्रकाशित: २७ माघ २०७८ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App