‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ का आयोजकहरूले दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्ये एकको आगामी संस्करणको औपचारिक घोषणा गरेका छन्। यस महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदा लेखकहरूको सहभागिता रहनेछ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पुर्याउनुभएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ।
मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादका विषयमा केन्द्रित रहनेछ। सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन, सांस्कृतिक भ्रमण तथा साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि केन्द्रित अन्तरविषयक छलफलहरू समावेश गरिएका छन्।
यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मुल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन, विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा, आयरिस साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन ‘पोएट लाउरिएट’ टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका तथा अन्य देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ।
महोत्सवको उद्घाटन हिमालय तथा विश्व साहित्यिक परम्पराको संगमलाई उत्सवका रूपमा मनाउने विशेष समारोहद्वारा गरिनेछ। महोत्सवभर कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्यजस्ता विविध विषयमा सत्र सञ्चालन गरिनेछ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स २०२६ का आयोजक युयुत्सु शर्माले भने, “साहित्य विलासिता होइन। यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो। यो महोत्सव हिमाली राष्ट्र नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव हो। यसले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्छ।”
यस सहकार्यमार्फत एनसेल फाउन्डेसनले नेपालको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउँदै संवाद, सिर्जनशीलता र विश्वव्यापी सांस्कृतिक आदानप्रदानका लागि अर्थपूर्ण मञ्च निर्माण गर्न सहयोग गरिरहेको जनाएको छ।
महोत्सवको प्रमुख उद्देश्य उदाउँदा साहित्यिक आवाजहरूको प्रवर्द्धन गर्नु पनि रहेको छ। युवा कविता मञ्चन, मार्गदर्शन कार्यक्रम, कार्यशाला तथा अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गरिनेछ। शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेर्पा, लक्ष्मी माली लगायत नेपाली तथा अंग्रेजी भाषामा लेख्ने नेपाली कवि तथा लेखकहरू पनि अन्तर्राष्ट्रिय साहित्यिक अतिथिहरूसँग विशेष रूपमा प्रस्तुत हुनेछन्।
महोत्सवअन्तर्गत कवितामा आधारित आयरिस, अस्ट्रियन तथा पोलिस चलचित्रहरूको प्रदर्शन गरिनुका साथै काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बुढानीलकण्ठ तथा नगरकोटजस्ता सांस्कृतिक तथा प्राकृतिक सम्पदा स्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ। यसले सहभागीहरूलाई नेपालको कलात्मक, आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोड्ने विश्वास गरिएको छ।
संवाद, सिर्जनशीलता तथा अन्तरसांस्कृतिक समझदारीको साझा मञ्चका रूपमा स्थापित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्य तथा विविध कलात्मक आवाजहरूको महत्वपूर्ण केन्द्रका रूपमा अझ सुदृढ बनाउँदै आएको छ।
पत्रकार सम्मेलनका क्रममा कवितामा आधारित दुई चलचित्रका ट्रेलर पनि प्रदर्शन गरिएको थियो। यसमा आयरिस कवि तथा चिन्तक डोरेन नी ग्रिफाको जीवनमा आधारित ‘क्लाउडेड रिभर’ र अस्ट्रियन कवि बोडो हेलबारे कारोल मायेरले निर्देशन गरेको ‘वाइड अवेक’ समावेश थिए। त्यसैगरी, स्टिफन बुकासले निर्माण गरेको सन् २०१५ को नेपाल भूकम्पमा आधारित युयुत्सु शर्माको कवितामा आधारित चलचित्र ‘आई सी माइ वर्ल्ड सिकिङ’ पनि प्रदर्शन गरिएको थियो।
प्रकाशित: ११ जेष्ठ २०८३ १९:३२ सोमबार





