अमेरिका, इजरायल र इरानबीच जारी तनाव अन्त्य हुने सम्भावना बढेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। सम्भावित शान्ति सम्झौताले विश्व ऊर्जा बजारमा सकारात्मक संकेत देखिएपछि तेलको मूल्य ओरालो लागेको हो।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा संलग्न पक्षहरूबीच “मजबुत प्रस्ताव” तयार भएको बताएका छन्। उनले सोमबारसम्ममा द्वन्द्व अन्त्य गर्ने दिशामा सहमति हुन सक्ने संकेत दिएका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्तालाई हतारमा निष्कर्षमा पुर्याउन नहुने बताएका छन्।
सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ५.५ प्रतिशतले घटेर प्रतिब्यारेल ९७.९० अमेरिकी डलरमा पुगेको थियो। त्यसपछि पनि मूल्य करिब ९७.७० डलरको आसपास कायम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
संभावित सम्झौतामा विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषय पनि समावेश गरिएको जनाइएको छ। यो समुद्री मार्गबाट विश्वको करिब एक–पाँचौं तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी हुँदै आएको छ। गत फेब्रुअरीदेखि सुरु भएको द्वन्द्वका कारण उक्त मार्ग प्रभावकारी रूपमा बन्द भएको थियो।
इरानले वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्काल सम्झौता हुने अवस्था नरहेको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ताले छलफलका धेरै विषयमा सहमति भए पनि सम्झौता छिट्टै हुने निश्चित नभएको बताएका छन्।
विशेषज्ञहरूका अनुसार सम्भावित शान्ति सम्झौताले तत्कालका लागि तेल बजारलाई राहत दिन सक्ने भए पनि आपूर्ति प्रणाली पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्नेछ। युद्धका कारण प्रभावित ऊर्जा संरचना र आपूर्ति श्रृंखला पुनःस्थापना हुन महिनौँ लाग्न सक्ने अनुमान गरिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १९:२१ सोमबार





